Monday, August 15

प्रहरीसँग जोगिनुपर्थ्यो, भिडन्तमा बच्चा मारिने पीरले सताउँथ्यो

July 31, 2022

काठमाडौँ

अभाव के हो, जयपुरी घर्तीले सानैमा बुझेकी थिइन्, देखेकी थिइन्। उनका आमाबुबालाई आफ्ना छोराछोरीलाई भरपेट खान दिनै समस्या थियो।

छोराछोरीलाई एकसरो लुगा दिन नसकेर गाउँका अभिभावकले काढेको सुस्केरा उनले सुनेकी थिइन्। तसर्थ उनको बाल्यकाल पनि सुखद थिएन। १० सन्तानको रेखदेख र लालनपालन गर्न उनका बुबाआमालाई सजिलो पक्कै थिएन।

रोल्पामा जयपुरीको बाल्यकाल ससाना कुरामा रमाउँदै बित्यो। ठूलो परिवार, बुबाआमा आफ्नै काममा व्यस्त। आफ्नै सुरमा खेल्यो, घरमा पाकेको, भाग पुगेको खायो, खुसी मान्यो।

‘त्यो समय नै अर्कै थियो,’ जयपुरी पुराना दिन सम्झिन्छिन्, ‘न छोरीले पढ्नु पर्छ भन्ने थियो, न छोरीहरुले पनि राजनीति गर्न सक्छन् भन्ने थियो।’

उनले त्यो समयका छोरीहरुले दोस्रो दर्जाको नागरिक भएर बाँचेको देखिन्। छोरीलाई स्कुल पठाए बिग्रन्छन् भन्ने मान्यता थियो। सोही कारण गाउँका छोरीहरुले स्कुलको मुख देख्न पाएनन्। पहिलो पटक उनकी दिदी स्कुल गइन्।

उनकी दिदी गाउँकै पहिलो छात्रा थिइन्। दिदीलाई स्कुलले बिगारेन। त्यसको दोस्रो चरणमा जयपुरी पनि स्कुल गइन्। छोरीहरुलाई स्कुल पठाएकोमा बुबाले थुप्रैको बचन सहनुपर्यो।

गाउँलेहरु उनका बुबातिर फर्किन्थे र भन्थे, ‘तेरी छोरी बिग्रने भई।’ उनकी आमा भने छोरीलाई आँखा देखाउनु पर्छ भन्थिन्। उनकी आमाले ज्यालामजदुरी गरेर पनि छोरीलाई स्कुल पठाइन्। गाउँलेका कुराले उनलाई छुँदै छोएन। ६/७ कक्षामा पढ्ने भएपछि त जयपुरी पनि आमासँगै ज्याला मजदुरीमा जान्थिन् र स्कुल खर्च कमाउँथिन्।

सानैदेखि विभेद हेर्दै, भोग्दै हुर्किएकाले होला, जयपुरीले स्कुलबाटै राजनीति सुरु गरिन्। संगठनमा लागिन्। १० कक्षा पढ्दै गर्दा उनीमाथि सार्वजनिक मुद्दा लगाइयो। त्यसपछि सुरु भयो, उनको भूमिगत जीवन। सँगै उनको पढाइमा विराम लाग्यो।

भूमिगत अवस्थामै विवाह

जयपुरी भूमिगत अवस्थामै हुर्किइन्। जनयुद्धका क्रममा रुकुमका विवेकसँग उनको भेट भयो। विवेकको कार्यक्षेत्र दाङ थियो। उनीहरुबीच प्रेम झाँगिएपछि दाङको जिल्ला पार्टी र रोल्पाको जिल्ला पार्टीले जयपुरी र विवेकको विवाह गरिदियो।

दुवै जना युद्धमा, दुवैको सपना थियो समाज परिवर्तन गर्नु, युद्धमा जित हात पार्नु। खुलेर हिँड्ने अवस्था थिएन। सेना, प्रहरीसँग जोगिनुपर्थ्यो। पतिपत्नी कहिलेकाहीँ मात्र भेटिन्थे। भेटमा एकले अर्कालाई सकेको सहयोग, ढाडस दिने गर्थे। उनीहरुको व्यक्तिगत जीवन सीमित थियो, व्यक्तिगत सपना थिएनन्।

युद्धमै जयपुरी गर्भवती भइन्। हुन त उनीहरुले युद्ध एउटा निष्कर्षमा पुगेर सुरक्षित नहुँदासम्म बच्चा नजन्माउने योजना बनाएका थिए। तर, सोचेको जस्तो भएन। गर्भवती भएपछि उनले आमा बन्ने निर्णय गरिन्।

विवाह गरेको छोटो समयमा नै गर्भवती भएकी जयपुरीले गर्भावस्थाको समय श्रीमानसँग गुजार्न पाइनन्। श्रीमान–श्रीमतीको भेटै हुँदैनथ्यो। गर्भावस्थाको समय जयपुरीको न बस्ने बासको ठेगान थियो, न खाने गाँसको।

हिँड्दै​ जाँदा जहाँ रात पर्छ त्यहीँ सुत्यो, जनताको घरमा जे पाकेको हुन्थ्यो, त्यही खायो। खाएको पनि पेटमा अडिँदैनथ्यो। बान्ता हुने क्रम आठ महिनासम्म रोकिएन। उनलाई त्यो समय पोलेको मासु खान मन लाग्थ्यो। तर, कहाँ पाउनु! गर्भावस्थामा मोटाउनु पर्ने उनको शरीर दुब्लाएको थियो।

गर्भमा हुर्कंदै गएको बच्चा, मन र शरीर दुवै कमजोर भएको बेला श्रीमानको अभाव बारम्बार महसुस हुन्थ्यो। कहाँ, कतिबेला, कसलाई के हुने हो, कुनै टुंगो थिएन। युद्धमा आफैँ मरिन्छ कि आफन्तहरु मारिन्छन् कि भन्ने त्रास थियो। त्यसैले गर्भावस्थाका धेरै कुरा उनले महसुस गर्नै पाइनन्। भारी जिउ बोकेर थुप्रै भिडन्तको सामना गरिन्।

सुत्केरी हुन काठमाडौँ

गर्भावस्थाको समय मुस्किलले एक पटक जाँच गराएकी जयपुरीलाई डाक्टरले बच्चा जन्माउन कठिन हुने बताएका थिए। दाङतिर सबैले चिन्ने भएकाले उनलाई खतरा थियो। त्यसैले उनी बच्चा जन्माउन काठमाडौं आइन्। यहाँ उनलाई चिन्ने कोही थिएन।

तर यहाँ पनि सोचेको जस्तो सजिलो भएन। मानिसहरुले उनको पिछा गरे। दुई महिनामा तीन ठाउँ डेरा सरिन्। अन्तत थापाथली अस्पतालमा उनले छोरीलाई जन्म दिइन। थापाथली अस्पतालमा जयपुरी भर्ना हुँदा अरु थुप्रै महिला पनि आमा हुने तयारीमा थिए।

प्रसव व्यथाले च्याप्दा महिलाहरु कोही आमा पुकार्थे, कोही बुबा पुकार्थे त कोही भगवान पुकार्थे। उनलाई अस्पतालको त्यो पुकार सुनेर लाग्यो ‘बा–आमा र भगवानभन्दा माथि त कोही रहेनछ।’

उनको भने सम्झिएर बोलाउने कोही थिएन। लुक्दैछिप्दै उनी अस्पताल आइपुगेकी थिइन्। उनको आफूबाहेक कोही सहारा थिएन। त्यसैले पनि हरेक मुस्किलको सामना उनले दाह्रा किटेर गरिन्।

अस्पतालमा छोरी जन्माउन उनले कयौँ पटक मर्दै बौरिँदै गर्नु पर्यो। उनको मनले कहिले आमा सम्झियो, कहिले श्रीमान्। तैपनि युद्ध लड्न हिँडेकी योद्धा मन बलियो बनाउँथिन् र अरुभन्दा सहनशील हुन खोज्थिन्। छोरी जन्मिएपछि भने उनी सबै पीडा बिर्सिएर मुस्कुराइन्।

दुई दिनको अस्पताल बसाइपछि घर फर्किएकी जयपुरीले श्रीमानसँग भेट्न एक महिना कुर्नु पर्यो। एक महिनापछि छोरी भेट्न विवेक काठमाडौँ आएका थिए। छोरी तीन महिनाकी भएपछि जयपुरी पनि छोरी बोकेरै युद्धमा निस्किइन्।

उनले सानी छोरी छातीमा बाँधेर थुप्रै युद्धमोर्चा सम्हालेकी छन्। दूधे छोरी च्यापेर उनी रातभरि जनमुक्ति सेनाको लाममा हिँड्थिन्। कति ठाउँमा भिडन्त हुन्थ्यो। एक्लै हुँदाजस्तो सहज हुँदैनथ्यो लडाइँमा बच्चासँग हिँड्न।

‘भिडन्तमा आफू मरिन्छ कि भन्दा पनि बच्चा मारिन्छ कि भन्ने पीर हुन्थ्यो,’ उनले सुनाइन्।​

पतिवियोग र छोरीसँगको दुरी

उनकी छोरी जनताकै घरमा हुर्किएकी हुन्। छोरी दुई वर्षकी भएपछि त पुरै अरुकै घरमा छाडेर जयपुरी युद्धमा हिँडिन्। मुक्तिको सपना बोकेर हिँडेकी उनको छाती छोरीको यादले बेलाबेला गाँठो पर्थ्यो। तर, सन्तानको मायामा अल्झिने छुट थिएन उनलाई।

उनको जिम्मेवारी त्योभन्दा ठूलो थियो, क्रान्ति सफल पार्नु थियो। मौका पारेर उनी छोरी भेट्न पुग्थिन्। तर, छोरी उनको काखमा आउन मान्दैनथिन्। खानेकुरा दिएर फकाएर एकछिन समाउँथिन्। खाइसकेपछि छोरी काख छोडेर जान्थिन्।

जयपुरीको मन पनि छोरीसँगै जान्थ्यो। मनबिनाको शरीर बोकेर उनी लडाइँमा फर्किन्थिन्। छोरी पाँच वर्ष पुग्नै लाग्दा २०६० सालमा युद्धकै मोर्चामा उनका श्रीमानले सहादत प्राप्त गरे।

श्रीमान् मोर्चामा ढल्दा जयपुरी भारतको अस्पतालमा उपचार गराइरहेकी थिइन्। उनको फोक्सोको शल्यक्रिया गरिएको थियो। उनले श्रीमानको मृत अनुहार पनि हेर्न पाइनन्।

त्यतिबेला मनमा चलेको आँधी, टुहुरी छोरीको यादमा परेको ऐँठन सम्झिँदा बेला–बेला जयपुरी भावुक हुन्छिन्, उनका आँखा रसाउँछन्। तीन महिनापछि छोरीलाई भारतमै झिकाएर भेटिन्।

उनका श्रीमान बितेको तीन वर्षपछि देशमा शान्ति सम्झौता भयो। जयपुरीले छोरीलाई खुलेर भेट्न पाइन्। शान्ति सम्झौतापछि उनले श्रीमानको नाउँमा रुकुममै पँधेरो निर्माण गरिन्। देश शान्ति प्रक्रियामा आएपछि जयपुरीको दैनिकी झन् धेरै व्यस्त भयो।

छोरीलाई राम्रोसँग समय दिन पाइनन्। त्यतिबेला त छोरीले गुनासो पनि गरिनन्। कोरोना कालमा भने उनले छोरीसँग लामो समय गुजारिन्। आमाछोरी मात्रै बसेर कुराकानी गरे। त्यसपछि बल्ल उनले छोरीका रहर, रोजाइका बारेमा बुझ्ने मौका पाइन्।

आमाले समय नदिएको गुनासो छोरीले पनि त्यही बेला पोखिन। छोरीले आमासँगै हिँड्न चाहेको र नपाएको गुनासो बल्ल गरिन्। जयपुरीको मन भारी भयो।

अब त उनकी छोरी हुर्किसकिन्। छोरीको जिन्दगीको लय आफ्नै छ। आमा–छोरीका सपनाका खाका फरक छन्। बीए पढिरहेकी छोरीलाई जयपुरी सिकाइरहन्छिन्, ‘आफ्नो लागि आफैँ बाँच्नुपर्छ। आफूलाई कहिल्यै कमजोर ठान्नु हुँदैन। हरेक समस्यासँग डटेर जुध्नुपर्छ। आत्मबल बलियो बनाएर हिँड्नुपर्छ।’

छोरीको स्वभाव निडर छ। छोरी देखेर जयपुरी मुस्कुराउँछिन्। उनकी छोरी धेरै कुरा मुखले भन्दिनन्। तर, उनले महसुस गरेको कुरा आमाको मनले थाहा पाइहाल्छ। उनकी छोरी भित्रभित्रै बुबाको अभाव महसुस गर्छिन्।

जयपुरी छोरीलाई छेउमा राखेर सुनाउँछिन्, ‘युद्धमा यति धेरै मान्छे मारिए। तिमीजस्तै धेरैले बुबाआमा गुमाएका छन्। धेरै मान्छे मारिएको ठाउँमा तिम्रो बुबा पनि मारिएका हुन्, परिवर्तनका लागि।’राधिका अधिकारी/ नेपाल खबर

Comment