बुधबार १९ आश्विन २०७९

पर्यटनमन्त्री जीवनराम श्रेष्ठको गुनासोपछि पक्राउ परेका छायाँ सेन्टरका सुरक्षागार्ड र रवि लामिछानेबीच भएको भेटघाटलाई लिएर छानबिन समिति गठन भएको छ ।काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख रविन्द्रबहादुर धानुकले एसपी दिनेश मैनालीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको बताए ।

‘प्रहरी हिरासतमा रहेको व्यक्तिलाई बाहिर ल्याएर भेटेको देखेपछि के कसो भएको को भन्ने बुझ्न समिति गठन गरिएको हो’, एआईजी धानुकले भने । राष्ट्रिय स्वतन्त्र पार्टीका स‌ंयोजकसमेत रहेका लामिछानेले सोमबार दरबारमार्ग प्रहरी वृत्तमा पुगेर सुरक्षागार्ड शेरजंग गुरुङलाई भेटेका थिए ।

गुरुङसँग भएको भेटघाटको तस्बिर र उनीसँग भएको कुराकानीबारे रविले सामाजिक सञ्जालमा उल्लेख गरेका थिए ।हिरासतमा रहेको व्यक्तिलाई बाहिर ल्याएर बोलेको सामाजिक सन्जालमा छ्यापछ्याप्ती देखिएपछि आन्तरिक छानबिन अगाडि बढाउनु परेको एआईजी धानुकको भनाइ छ ।

गुरुङ अभद्र व्यवहार कसुरमा आइतबारदेखि प्रहरी हिरासतमा छन् । प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाएको थियो ।भिसाको कामले छाया सेन्टरमा पत्निसहित पुगेका पर्यटनमन्त्री श्रेष्ठलाई लाइनमा बस्नुस् भन्दा आफूलाई उल्टै थुनेको आरोप सुरक्षागार्ड गुरुङको छ ।

यता गृहमन्त्री बालकृष्ण खाँणले प्रहरी हिरासतमा रहेका गरूड सेक्युरिटीजका सुरक्षागार्ड शेरजंग गुरूङलाई रिहाइ गर्न निर्देशन दिएका छन् । गृहमन्त्री खाँणले सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्‍याएर सुरक्षागार्ड गुरूङलाई रिहा गर्न निर्देशन दिएका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोपमा ठमेलस्थित छाया सेन्टरमा रहेको भीएफएसका सुरक्षा गार्ड गुरूङलाई प्रहरीले आइतबारबाट हिरासतमा राखेको थियो । भीएफएसमा बायोमेट्रिक्सका लागि पुगेका मन्त्री श्रेष्ठलाई गुरूङले लाइनमा बस्न भनेपछि विवाद भएको थियो ।


Last Updated on: September 5th, 2022 at 5:04 pm

तपाईको प्रतिक्रिया