Monday, August 15

५ वर्ष अगाडी खाएको स्यान्डविचले अझै पाद आएको भन्दै मुद्दा दर्ता

July 31, 2022

एजेन्सी

बेलायतका एक व्यक्ति सन् २०१७ को डिसेम्बरमा क्रिसमसको अवसर पारेर परिवार भेट्न गएका थिए । त्यतिबेला उनले क्रिसमस मार्केटमा फेस्टिभ ह्याम स्यान्डविच खाएका थिए तर पाँच वर्षअघि खाएको स्यान्डविचले उनलाई अहिलेसम्म पनि दुःख दिइरहेको छ ।

ती व्यक्तिले त्यतिबेला खाएको स्यान्डविचले अहिलेसम्म पनि अनियन्त्रित पाद आइरहेको दाबी गरेका छन् ।टाइरोन प्रेड्स पछिल्लो पाँच वर्षदेखि पीडादायी जीवन व्यतित गरिरहेका छन् ।

यसका लागि बर्मिङ्घमको एक क्रिसमस मार्केटमा खाएको फेस्टिभ रोल जिम्मेवार रहेको उनी दाबी गर्छन् । स्यान्डविच खाएको केही घण्टापछि नै टाइरोनलाई असाध्यै पेट दुख्यो त्यसपछि उनलाई ज्वरो आयो, झाडा लाग्यो, बान्ता भयो ।

उनी पाँच हप्तासम्म बेडमा परे । यो नै भयानक अनुभव हो जस्तो लाग्छ तर यो त समस्याका सुरुवात मात्रै थिए । त्यस दिनदेखि ४६ वर्षका ती व्यक्तिलाई नियमित र अनियन्त्रित पाद आइरहने समस्या देखिएको छ ।

यस्तै, उनको पेट यति धेरै कराउँछ कि उनी थुप्रै पटक मध्य रातमा ब्युझिँनेसमेत गर्छन् ।तर स्यान्डविच खाएको पाँच वर्षपछि प्रेड्सले उक्त फुड स्टलका मालिकलाई २ लाख पाउन्डको मुद्दा हालेका छन् ।

उनका वकिलले हालै अदालतलाई दिएको बयान अनुसार उनको सुरुवाती समस्या कम भएपनि उनको निकै अचम्मले कराउने पेटको समस्याका साथै अत्यधिक र अनियन्त्रित रुपमा आउने पाद भने कहिल्यै पनि नियन्त्रणमा नआएको बताए ।

‘लक्षणहरु मुख्यतया थकान, पेट बाउँडिने र अत्यधिक पाद आउनेलगायत छन्,’ वकिलले भने । ‘दाबीकर्ताका अनुसार उनको पेट यति धेरै कराउँछ कि उनको निद्रा नै डिस्टर्ब हुन्छ ।’

टाइरोनका वकिलले थपे, ‘उनको लक्षण जीवन परिवर्तन गर्ने किसिमको छ । अत्यधिक र अनियन्त्रित रुपमा पाद आउने समस्याले उनलाई सार्वजनिक रुपमा बाहिर जान लज्जित बनायो ।’

पाँच वर्षअघि उनले खाएको स्यान्डविचमा साल्मोनेला रहेको विश्वास गरिन्छ । आरोप खेपेको फ्रान्कफर्ट क्रिसमस मार्केट लिमिटेडले भने चक्कुमा इकोली मात्र भेटिएको दाबी गरेको छ ।

पीडित भनिएका व्यक्तिमा इकोलीको कुनै संक्रमण नदेखिएपछि साल्मोनेला भेटिएको भन्ने आरोपलाई भने पुष्टि नै गर्नुपर्ने कम्पनीले बताएको छ ।

Comment