आइतबार १६ आश्विन २०७९

काठमाडौं । आइतबार बिहान पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा ल्याउन खोज्दा पक्राउ पर्नुभएका सुरक्षागार्ड शेरजंग गुरुङलाई तारिफ भइरहेको छ ।यसबीच पूर्वसञ्चारकर्मी समेत रहनु भएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पनि गुरुङलाई भेट्नु भएको छ ।

प्रहरी हिरासतमा रहनु भएका शेरजंग गुरुङ सँग भेटेको कुरा लामिछाने सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभयो । भेटमा आफूले धन्यवाद दिएर आएको पनि उहाँले बताउनुभयो ।लामिछानेले लेख्नु भएको छ, ‘प्रहरी हिरासतमा रहेका शेरजंग गुरुङ सँग भेटेर उहाँलाई धन्यवाद दिएर आएको छु ।

कानुन सबैलाई बराबर हुन्छ। शेरजंग जी भन्नु हुन्छ “गुरुङको छोरो आवाज अलि ठूलो भयो होला तर मैले कुनै दुव्र्यवहार गरेको छैन। मन्त्री भन्ने मलाई थाहा पनि भएन थाहा भए पनि डिउटी त गर्नै पर्यो।” यदि उहाँको भनाइ सत्य हो भने उहाँलाई थुनामा राख्ने होइन ससम्मान रिहा गरियोस्। दण्डित होइन पुरस्कृत गरियोस्।

नियम मिचेर लाइन नबस्ने मन्त्री लाई चाहिँ कानुन नमानेको अभियोगमा अनुसन्धान गरियोस्।’ यता पर्यटनमन्त्री जीवनराम श्रेष्ठको गुनासोपछि पक्राउ परेका छायाँ सेन्टरका सुरक्षागार्ड र रवि लामिछानेबीच भएको भेटघाटलाई लिएर छानबिन समिति गठन भएको छ ।काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख रविन्द्रबहादुर धानुकले एसपी दिनेश मैनालीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको बताए ।

‘प्रहरी हिरासतमा रहेको व्यक्तिलाई बाहिर ल्याएर भेटेको देखेपछि के कसो भएको को भन्ने बुझ्न समिति गठन गरिएको हो’, एआईजी धानुकले भने । राष्ट्रिय स्वतन्त्र पार्टीका स‌ंयोजकसमेत रहेका लामिछानेले सोमबार दरबारमार्ग प्रहरी वृत्तमा पुगेर सुरक्षागार्ड शेरजंग गुरुङलाई भेटेका थिए ।

गुरुङसँग भएको भेटघाटको तस्बिर र उनीसँग भएको कुराकानीबारे रविले सामाजिक सञ्जालमा उल्लेख गरेका थिए ।हिरासतमा रहेको व्यक्तिलाई बाहिर ल्याएर बोलेको सामाजिक सन्जालमा छ्यापछ्याप्ती देखिएपछि आन्तरिक छानबिन अगाडि बढाउनु परेको एआईजी धानुकको भनाइ छ ।

गुरुङ अभद्र व्यवहार कसुरमा आइतबारदेखि प्रहरी हिरासतमा छन् । प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाएको थियो ।भिसाको कामले छाया सेन्टरमा पत्निसहित पुगेका पर्यटनमन्त्री श्रेष्ठलाई लाइनमा बस्नुस् भन्दा आफूलाई उल्टै थुनेको आरोप सुरक्षागार्ड गुरुङको छ ।

यता गृहमन्त्री बालकृष्ण खाँणले प्रहरी हिरासतमा रहेका गरूड सेक्युरिटीजका सुरक्षागार्ड शेरजंग गुरूङलाई रिहाइ गर्न निर्देशन दिएका छन् । गृहमन्त्री खाँणले सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्‍याएर सुरक्षागार्ड गुरूङलाई रिहा गर्न निर्देशन दिएका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोपमा ठमेलस्थित छाया सेन्टरमा रहेको भीएफएसका सुरक्षा गार्ड गुरूङलाई प्रहरीले आइतबारबाट हिरासतमा राखेको थियो । भीएफएसमा बायोमेट्रिक्सका लागि पुगेका मन्त्री श्रेष्ठलाई गुरूङले लाइनमा बस्न भनेपछि विवाद भएको थियो ।


Last Updated on: September 5th, 2022 at 5:11 pm

तपाईको प्रतिक्रिया