मंगलबार १८ आश्विन २०७९

काठमाडौं । उच्च अदालतको आदेशलाई देखाउँदै काठमाडौंको त्रिपुरेश्वरमा रहेको वर्ल्ड ट्रेड सेन्टरको डिजिटल होर्डिङ बोर्ड चल्न सुरु भएको छ । काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत सञ्चालनमा रहेको भन्दै गत बिहीबार उक्त डिजिटल होर्डिङ बोर्ड बन्द गराएको थियो ।

एसटीआर एडभरटिजमेन्ट प्रालिका सन्दीप हिराचनले १७ भदौमा उच्च अदालत पाटनमा महानगरको उक्त कदमविरुद्ध रिट हालेका थिए । आइतबार अदालतले महानगरको नाममा कारण देखाउ आदेश जारी गर्दै २२ भदौमा दुवै पक्षलाई छलफलका लागि आउन भनेको छ ।

अदालतको सोही कारण देखाउ आदेशलाई आधार मान्दै एसटीआर एडभरटिजमेन्टले डिजिटल बोर्ड सञ्चालनमा ल्याएको हो । यता संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले विश्वसम्पदा सूचीमा सूचीकृत दुई सम्पदा हनुमानढोका दरबार स्क्वायर र स्वयम्भूबीच निर्माण हुने सम्पदामार्ग विश्व पर्यटनकै नमुना बन्ने बताएका छन् ।

काठमाडौंमा हनुमानढोका–स्वयम्भू सम्पदा मार्ग लक्षित गरी पहिलोपटक आयोजना गरिएको स्थानीय पथप्रदर्शक तालिम समापन कार्यक्रममा मन्त्री श्रेष्ठले हनुमानढोका–स्वयम्भू जोड्ने ‘सम्पदा पदमार्ग’ आन्तरिक तथा बाह्य पर्यटन आकर्षित गर्ने नमुना गन्तव्यस्थल बन्ने बताए । विश्वसम्पदा सूचीमा सूचीकृत दुई सम्पदा जोड्ने गरी पदमार्ग बन्नु विश्व पर्यटनमै दुर्लभ संयोग रहेको मन्त्री श्रेष्ठको भनाइ थियो ।

नेपाल पर्यटन तथा होटल व्यास्थापन प्रतिष्ठानले स्थानीय कला, शिल्प र काठमाडौं महानगरका सम्पदाबारे आन्तरिक तथा बाह्य पर्यटकलाई जानकारी प्रदान गर्न स्थानीय पथप्रदर्शक (लोकल गाइड) तालिम सञ्चालन गरेको हो ।

पहिलो चरणमा विश्वसम्पदा सूचीमा सूचीकृत दुई सम्पदा हनुमानढोका दरबार स्क्वायर र स्वयम्भू सम्पदामार्ग क्षेत्रका ३० जना स्थानीय युवाहरूलाई तालिममा सहभागी गराइएको थियो । स्थानीय पथप्रदर्शक (लोकल गाइड) तालिममा स्थानीय महत्त्वका विविन्न संरचना र दुलर्भ वास्तुकलाका साथै पदमार्गमा पर्ने मठमन्दिर, पाटी, सत्तल, ढुंगेधारा, पार्क, नदी, पोखरीहरुबारे जानकारी प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।

पदमार्गअन्तर्गत रहेका सम्पदाको मर्मत तथा पुनर्निर्माण कार्यसमेत अघि बढिसकेको छ । उक्त क्षेत्रमा रहेका परम्परागत नेवाः शैलीका भवन, बौद्ध एवं हिन्दू धार्मिक तथा सांस्कृतिक महत्त्वका सम्पदाहरूको संरक्षण गरी काठमाडौंको वैभव देखिने गरी नमुना सम्पदा मार्ग निर्माण गरिनेछ ।

विश्वसम्पदा सूचीमा सूचीकृत दुई सम्पदाबीचको दुरी २.२ किलोमिटर रहेको छ । पदमार्गमार्फत पर्यटन तथा सम्पदा संरक्षण गर्ने लक्ष्य राखिएको छ । मन्त्री श्रेष्ठले आफ्नो ७३ बुँदे कार्ययोजनामा समेत स्थानीय पथप्रदर्शक (लोकल गाइड) तालिम सञ्चालनको विषय समेटेका थिए ।


Last Updated on: September 5th, 2022 at 9:02 pm

तपाईको प्रतिक्रिया