शुक्रबार १४ आश्विन २०७९

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाइएको छ ।सभामुख अग्नि सापकोटाको सचिवालयका अनुसार सभामुखले प्रमाणित गरेर विधेयक राष्ट्रपति कार्यालयमा पठाइएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैबाट हुबहु पारित भएपछि सभामुख सापकोटाले प्रमाणित गरी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएका हुन् ।

राष्ट्रपति भण्डारीले २९ साउनमा नागरिकता विधेयक फिर्ता गरेकी थिइन् । त्यसको दुई दिनपछि नै सत्तारुढ गठबन्धनले नागरिकता विधेयक हुबहु पास गर्ने निर्णय गर्‍यो । २ भदौमा एकदिन छलफल गरेर सत्तारुढ दलहरुको बहुमत प्रतिनिधिसभाले विधेयक पास गर्‍यो भने राष्ट्रियसभाले विधायन समितिमा पठाउने औपचारिकता पूरा गरे पनि कुनै संशोधन भएन ।

राष्ट्रपतिबाट फिर्ता भएको विधेयक संघीय संसदबाट प्रस्तुत रूपमा (जस्ताको तस्तै) वा संशोधन सहित पारित गर्नसक्छ । पुनर्विचार गर्नैपर्छ भन्ने बाध्यकारी छैन ।संविधानको धारा ११३ उपधारा (४) मा भनिएको छ, ‘राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तो विधेयक प्रस्तुत रूपमा वा संशोधनसहित पारित गरी पुनः पेश गरेमा त्यसरी पेश भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नेछ ।’

जस अनुसार यो विधेयकलाई राष्ट्रपति भण्डारीले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्नेछ ।त्यस्तै नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्याक्ष जनरल मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी छन्।

राष्ट्रपति भवन शितलनिवासमा सोमबार आयोजित विशेष अलंकारण समारोहमा राष्ट्रपति भण्डारीले पाण्डेलाई मानार्थ महारथी दर्जाका साथै खड्ग प्रदान गरेकी छन्। प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय भ्रमणका लागि सेनाध्यक्ष पाण्डे आइतबार नेपाल आएका हुन्।

नेपाल र भारतबीच सन् १९५१ देखि एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन छ। वि.सं २००७ मा भारतीय सेनाका फिल्ड मार्शल केएम करिअप्पालाई पहिलोपटक नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको सम्मान प्रदान गरिएको थियो।

वि.सं २०२६ मा तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहले पहिलोपटक भारतीय सेनाको मानार्थ सेना प्रमुखको सम्मान प्राप्त गरेका थिए। सोही प्रचलनको निरन्तरतास्वरुप राष्ट्रपति भण्डारीले भारतीय सेनाध्यक्ष पाण्डेलाई आज मानार्थ महारथी दर्जा प्रदान गरेकी हुन्।


Last Updated on: September 5th, 2022 at 10:20 pm

तपाईको प्रतिक्रिया