बुधबार १९ आश्विन २०७९

अनुसा थापा- सर्वसाधारणको जहिलेपनि भीड हुने मालपोत कार्यालय पछिल्लो समय किन चनमन्न बन्यो त ? एक वर्षअघि घरजग्गा नामसारी गर्नेहरुले मालपोत भरिएको हुन्थ्यो । तर, अहिले यो कामका लागि मालपोत पुग्ने शुन्यझैं बनेको छ । अहिले मालपोतमा घरजग्गा बेच्नेहरु यत्तिकै भेटिन्छन् तर किनिदिने कोही छैनन् ।

आकलभुक्कुल एकदुई वटा घरजग्गा नामसारीचाहि भइरहेको छ । गत वर्षसम्म आनाकै ४० लाखमा बिक्री हुने जग्गाको मूल्य पनि स्वाटै घटेको छ । पैसाको अत्यन्तै खाँचो परेर आनाको १० लाखमा बेच्न खोज्दा पनि किन्ने भेटिदैनन् । घरजग्गाको मूल्य एकैचोटि ओरालो लाग्नुको मुख्य कारण बैंकफाइनेन्सले कर्जा ठप्प पारिदिनु हो ।

बैंकमा कर्जा लगानी गर्ने पैसा छैन् । एकातिर जनताको डिपोजिट फिर्ता दिन सकेको छैन् भने कर्जा कहाँबाट ल्याएर दिइओस् । बैंक आफैं त पल्टेको छ । सरकारी रेट आनाको एक लाख रुपैंया तोकिएको जग्गामा बैंकको ३० लाखसम्म कर्जा लगानी छ । सोही जग्गा धितो राखेर बैंकले छिटो नाफा कमाउने उदेश्यले धमाधम कर्जा दियो ।

बैंकले ३० लगानी गर्यो, दलालीले ४० मा बेच्यो । दलाली र बैंकको मिलोमतोमा यस्तो काम भयो । जग्गाको मूल्य बढाउनुमा सरकारको हात छैन् । रातारात जग्गाको मूल्य आकाशिनुमा बैंक र दलालीको ठूलो हात छ । मनलाग्दी मूल्यमा जग्गा बेच्ने काम भयो तर सरकारले त सरकारी रेटअनुसार नै राजस्व पाएको छ ।

आँखा चिम्लिएर बैंकफाइनेन्सले घरजग्गा, गाडी र सेयरमा लगानी गर्यो । तर, ती तीनै क्षेत्रको मूल्य निरन्तर ओरालो लागिरहेको छ । एक कित्ताको तीन हजारमा किनेको सेयर अहिले एक सय रुपैंयामा बिक्री हुन मुश्किल छ । सेयरमा बैंकको अर्बौ रुपैंया लगानी छ । बैंक डुब्ने बाटोमा हिडँ्दा पैसा निकाल्नेको भीड लागेको छ ।

आफ्नोबचत रकम निकाल्न बैंकफाइनेन्स र सहकारीमा चर्को चाप छ । हालै मात्र एक समारोहमा अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र विस्तारै सुधिदैं गएको दाबी गरे । तर, सोही समारोहमा उपस्थित नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले उनको भाषणको खण्डन गरिहाले । गर्भनर महाप्रसाद अधिकारी अर्थतन्त्र अझैपनि ट्रयाकमा आइनसकेको बताए ।

उनले अझैपनि अर्थतन्त्र जोखिममा रहेको र आयातमा प्रतिबन्ध लगाएको वस्तुहरु खोल्नुले थप चाप पर्न सक्ने सुनाए । अर्थमन्त्री शर्माले आफ्नो राजनीतिक भाषा बोलेपनि गर्भनर अधिकारीले भने मुलुकमा देखिइरहेको अवस्थाबारे सत्यतथ्य बिफ्रिङ गरे । अर्थतन्त्रको विषयमा अर्थमन्त्रीलाई भन्दा पनि गर्भनरलाई बढी ज्ञान छ ।

किन कि सोही विषयमा ज्ञान नभएकाले बोल्नु र ज्ञान भएकाले बोल्नुमा आकाशपातालको भिन्नता छ । यता, अर्थविद्हरुले समेत सो कुरालाई पुष्टि गरिसकेका छन् । अर्थविद्हरुले नेपालको अर्थतन्त्र अझैपनि श्रीलंकाकै बाटोमा भएको बताएका थिए । प्रतिबन्ध लगाएका वस्तुहरुको आयात खोल्नु भनेको बेवकुफी भएको उनीहरु बताउछन् ।

अर्थतन्त्रमा देखिएको समस्या यति छिटो नटर्ने उनीहरुको भनाइ छ ।बैंकफाइनेन्सले डिपोजिट रकम फिर्ता गर्न सकेको छैन् । यता, कर्जा पनि लगानी गर्न वित्तिय संस्थाहरु असमर्थ छ । बैंकले पहिलेजस्तो लगानी गर्न नसक्दा घरजग्गा किनबेचमा पुरै मन्दी आयो । आकाशिएको भाउमा पनि गिरावट देखियो ।

सहकारीले धितो राखेर दिएको ५० लाख । तर, अहिले धितो बेच्दा २० लाख पनि आउदैंन् । अनि सहकारी नडुबेर के डुब्छ ? पहिले किन्ने भेटिदैनन्, भेटिएपनि कर्जा उठ्नेजति पैसा आउदैन् । सहकारी विभागले पहिल्यै सहकारीमाथि नियमन गरेको भए आज यस्तो अवस्था आँउदैन्थ्यो । कस्तो क्षेत्रमा लगानी गर्ने हो ? भन्ने नै सहकारीहरुले बिर्सिए ।

बढी नाफा र छिटो धनी हुने लोभमा परेका सहकारी सञ्चालकहरु आफू पनि डुबे, जनतालाई पनि डुबाए ।सहकारी विभागलाई अझै पनि जनताको पैसा डुब्छ भन्ने चिन्ता छैन् । सहकारी कतिखेर भाग्ने हो ? कतिबेला जनताको उठीबास लाग्ने हो ? विभागलाई चासो छैन् । जसरी हुन्छ ठग सहकारीलाई जोगाउनतिर सरकार नै जुटेको छ ।

सहकारीमा देखिएको समस्याबारे अहिले त हरेक व्यक्ति जानकार छन् । सहकारी विभागमा दैनिक सयौं जनता आफू डुबेको उजुरी लिएर पुग्छन् । तर, विभागले अनुगमन गर्दैन् । कारण के, सहकारीले विभागका हाकिमहरुलाई पोसिरहेको छ । सहकारीहरु धमाधम जनताको पैसा कुम्ल्याएर भागेको र जनता सडकको बास काट्न बाध्य बनाएको त विभागले पनि देखेको छ ।

तर, विभाग किन एक्सनमा उत्रिदैंन् ? पैसा पाएपछि केको जनता भनेजस्तै छ ।दशैं ढोकैमा आइसक्दा सहकारीमा बचत भएकाहरुमा तनाव थपिएको छ । घर जानका लागि पैसा नपाएर उनीहरु शिथिल भएका छन् । सहकारीले यसरी रुवाउदा पनि सरकार मौन छ ।

अझ पनि जनतालाई सचेत बनाउने काम सरकारद्धारा भएको छैन् । सहकारीमा पैसा नराख्नुस्, आफ्नो बचत भएको सहकारीको जाँचबुझ गर्नुस् भनेर सहकारी विभागले एउटा सूचनासमेत निकालेको छैन् । निजी बैंकको हाल पनि त्यस्तै छ । सरकारी बैंकमा बचत हुनेलाई त केही फरक परेको छैन् ।

तर, निजी बैंकको हालतचाहि समस्याग्रस्त छ । बैंक र सहकारीमा यत्रो पैसा निकाल्नका लागि भीड लाग्नुको कारण जनताको चिन्ता बढ्नु हो ।विस्तारै जनताले बैंक र सहकारीले कर्जा लगानी गरेको क्षेत्रबारे थाहा पाए । यसअघि जनताहरु त मग्नमस्त भएका बसेका थिए । तर, घरजग्गा, सेयर र गाडीमा मन्दी आएसंगै वित्तिय संस्थामा जनताको भीड लाग्यो ।

अधिकांश जनताको घरजग्गा, गाडी र सेयर बैंकको नाममा छ । राष्ट्र बैंक, अर्थ मन्त्रालय र सहकारी विभाग पहिल्यै जिम्मेवार बनिदिएको भए आज यस्तो दुर्दशा आउदैन्थ्यो । बैंकलाई धमाधम लाइसेन्स बाँडियो तर नियमन कहिले भएन् । सहकारी विभागले पनि भकाभक दर्ता गर्न इजाजत दियो ।

आज त्यसकै प्रतिफल पुरै मुलुकले भोग्नुपरेको छ । हिजो नाफा कमाउञ्जेल कर्मचारीहरुले टन्न बोनस खाए । सञ्चालकले पनि घुस पाए । तर, जनताले के पाए ? बरु पैसा डुब्ने अवस्थामा पुग्यो ।सेयरमा लगानी गर्नेहरुलाई अहिले रुनु न हाँस्नु भएको छ । कतिपय त भागिसकेका छन् ।

सेयरमा बैंकको लगानी पाँच लाख भएपनि बेच्दा जम्मा एक लाख रुपैंया आँउछ । १० लाखको सेयर धितो राखेर पाँच लाख कर्जा दिए । पाँच लाख कर्जाको व्याज तिर्न नसकेर ६ लाख पुग्यो । तर, सेयरको मूल्य घटेर दुई लाखमा आयो । मूल्य बढेको भए बैंकलाई यसबाट नाफैनाफा थियो ।

मूल्य घट्यो बैंक डुब्यो । बैंकफाइनेन्सका सञ्चालकले आफू डुबेको थाहा पाइसकेका छन् । जति गरेपनि कर्जा उठाउन नसक्ने उनीहरुले देखिसकेका छन् । जसले गर्दा सबैजना एउटाएउटा दुलो छिर्ने दाउ रचेर बसेका छन् ।कुन क्षेत्रमा कति लगानी छ ? भन्ने डाटा वित्तिय संस्थाले देखाउदैंनन् ।सरकारी पक्षलाई त देखाउदैनन् भने जनतालाई के दिन्थे ।

सरकारले बेलाबखत विवरण नहेर्दा पनि यस्तो भएको हो । आज जनता डुब्नुमा सरकार पनि उत्तिकै जिम्मेवार छ । वित्तिय संस्थालाई आफ्नो मनोमानी चलाउन दिदाँ लाखौं जनता विस्थापित हुने भए । सरकारको अण्डरमा चल्नुपर्ने वित्तिय संस्थाहरुले नै सरकार चलाए । जति नै कानून मान्न अटेर गरेपनि सरकारले छाडा छोडिदियो ।

अर्थमन्त्री जनार्दन शर्माले अहिले पनि जनता डुबाउने र झुक्याउने काम गरिरहेका छन् । बैंकले डिपोजिट रकम फिर्ता गर्न सकिरहेको छ अनि कहाँनेर अर्थतन्त्र सुधार भयो ? कर्जा लगानी अझै पनि सुचारु हुन सकेको छ । अर्थमन्त्रीजस्तो पदमा बसेर खुलेआम झुठ् बोल्दै हिड्ने ।

बैंकले पाँच लाख रुपैंया फिर्ता गर्न सक्दैनन् भने सहकारीले एक लाख । आफ्नो अर्थमन्त्री पद जोगाउनका लागि जनता ढाँट्न पाइन्छ ? राष्ट्र बैंकका गर्भनर पनि अर्थमन्त्रीको सामु डराए । उनले नहिचकचाइकन अर्थतन्त्रको विस्तृत विश्लेषण गर्न सकेनन् । अर्थमन्त्रीको अगाडि गर्भनर ओझेलमा परे ।

जहाँतही सहकारी र बैंककै चर्चा चुलिएको छ । सहकारीले दुःखसुःख गरे जोडेको बचत लिएर भागेको भनेर दुःखेसो पोख्नेहरु चोकचोकमा भेटिन्छन् । भाग्ने त भागिहाले तर हुनेले समेत जनतालाई निकै सास्ती दिएका छन् । बिहानदेखि बेलुकासम्म सहकारीमा लाइन बसेर बेलुका रित्तो हात फर्किनुपर्ने बाध्यता छ ।

अहिले सहकारीले कोटा सिस्टम लागू गरेको छ । मासिक पाँच हजार दिने भनिएको छ । पाँच हजारको दरले सावा र व्याज कहिले पाउने ? त्योपनि कति पनि गुम्ने हो अत्तोपत्तो छैन् ।


Last Updated on: September 6th, 2022 at 4:29 pm

तपाईको प्रतिक्रिया