
सिंजा गाउँपालिकास्थित जोडुका सुवास बुढा नेपाली सेना बन्नका लागि भर्ना हुन एक महिनाअघि सदरमुकाम खलंगा आइपुगे । उनी अहिले पनि बिहान–बेलुका खलंगा बजार आसपासमा दौडिरहेका भेटिन्छन् ।
‘सेनामा जागिर खाएर देशको सेवा गर्ने लक्ष्य छ,’ १९ वर्षीय बुढाले भने, ‘पहिले सेनाको जागिर खान सुर्खेत र नेपालगन्ज जानुपर्ने बाध्यता थियो, अहिले जुम्लामै भर्ती खुलेपछि जसरी पनि जागिर खान्छु भन्ने उत्साह छ ।’तातोपानी गाउँपालिकाका १९ वर्षीय सिसन न्यौपाने पनि सेनाको भर्नाका लागि प्रयासरत छन् ।
‘परिवारको जीविकोपार्जनमा पनि सहयोग पुग्ने,’ उनले भने, ‘देशको सेवा गर्न पनि पाइने, जुम्लामै भर्ना खुल्दा घरकै ढिडो(–सिस्नो खाएर प्रतिस्पर्धामा सहभागी हुन पाइएको छ ।’ अहिले कर्णालीको जुम्ला, हुम्ला र मुगुमा नेपाली सेनाले भर्ना छनोट थालेको छ ।
जिल्लामै शारीरिक अभ्यासदेखि लिखित र मौखिक परीक्षा हुन थालेपछि स्थानीय युवा उत्साही छन् । जुम्लामा २०६२ सालदेखि सेनाको भर्ना छनोट सुरु भएको हो । अहिलेसम्म जुम्लाबाट मात्रै झन्डै २ हजार युवा सेनामा भर्ती भइसकेको जुम्लास्थित नन्दाबक्स गणको तथ्यांक छ । त्यसमध्ये गणमा मात्रै जुम्लाका ५५ जना कार्यरत छन् ।
यसपटक जुम्लामा १ सय २० जनाका लागि दरखास्त आह्वान गरिएको छ, जसका लागि २ हजार ९६ जनाले दरखास्त दिएका छन् । ‘जुन जिल्लामा भर्ना छनोट खुलेको छ, त्यही जिल्लाका लागि प्राथमिकतामा राख्छौं तर आवेदन भने देशभरकै युवाले जहाँबाट पनि दिन सक्छन्,’ नन्दाबक्स गणका गणपति रविन थापाले भने, ‘बाहिर जिल्लाबाट आउनेहरू पनि क्षमता र दक्षताका आधारमा छनोट हुन्छन ।’
मुगुमा ५० जनाका लागि दरखास्त खुलेको छ । जसमा २ सय ९७ जनाको दरखास्त परेको छ । ५१ महिलाको दरखास्त परेकोमा १७ जना बेयरिङ र शारीरिक परीक्षणमा उत्तीर्ण भइसकेका छन् । उनीहरू अहिले लिखित परीक्षाको तयारीमा छन् । जहाँ गणपति थापा नै खटिएका छन् ।
‘महिलाका लागि मात्र ५ कोटा खोलिएको छ, महिलाको स्वास्थ्य र शारीरिक परीक्षणको काम सकिएको छ,’ उनले भने, ‘पुरुषहरूको बेयरिङ र शारीरिक परीक्षण परीक्षा भइरहेको छ ।’हुम्लामा ५० जनाका लागि दरखास्त खुलेको छ । जसमा १ सय ९० जना सहभागी छन् ।
कर्णालीका हुम्ला, जुम्ला र मुगुमा खुलेको सैनिक भर्ना छनोटमा बाजुरा, बर्दिया, दैलेख, सुर्खेतलगायत जिल्लाबाट पनि युवाहरू सहभागी भएको गणपति थापाले बताए । सेनाको भर्ना छनोटले नेपाली सेनाको काम, कर्तव्य, महत्त्व र आवश्यकताबारे नागरिकस्तरमा सकारात्मक सन्देश प्रवाह भएको २४ नम्बर बाहिनीका बाहिनीपति रामचन्द्र केसीले बताए ।
‘अहिले कर्णालीका सबै सेनाका ब्यारेक नागरिकमैत्री छन्, जनताको सुख दुःखमा सेनाको प्रत्यक्ष सहभागिता रहन्छ,’ उनले भने, ‘जिल्लामै भर्ती खुल्दा सेना र नागरिकको सम्बन्ध पनि प्रगाढ बनिरहेको छ ।’ कान्तिपुर