आइतबार १६ आश्विन २०७९

टोकियो । जापानको मिएई प्रिफेक्चरमा बस्ने एक जना नेपालीको खातामा १ करोड येन आएको छ । गोर्खा घर भइ अहिले मिएईमा बस्दै आएका २९ वर्षिय कृष्ण रेग्मीको खातामा रकम जम्मा भएको भन्दै सोमवार बिहान मोबाइलमा अलर्ट आयो । मेल खोलेर हेर्दा खातामा पैसा जम्मा भएको सन्देश थियो ।

सन्देशमा कारोबारबारे सबै जानकारी थिएनन् । त्यसपछि उनले मोबाइलबाटै बैंक खाता हेरे । खाता चेक गर्दा सन्देशमा भने झैं १ करोड येन जम्मा भएको थियो । उनलाई सो रकम एउटा विद्यालयको खाताबाट आएको थियो । बैंक खुल्ने बित्तिकै उनले यसबारे बैंकलाई जानकारी गराए ।

अहिले उनको खातामा जम्मा भएको रकम फिर्ता गर्ने प्रक्रिया चलिरहेको छ । बैंकले रकम फिर्ताका लागि मागेका सबै कागजपत्रहरु तयार पारेर रेग्मीले पठाइसकेका छन् । केही दिनमै जुन खाताबाट पैसा आएको हो सोही खातामा फिर्ता जान्छ । यसरी झुक्किएर आएको पैसा जानी जानी खर्चदा विविध कानूनी झमेला भोग्नु पर्छ ।

कहिले रोजगार दाताले एक महिनाको तलब दिनु पर्ने ठाउँमा २४/२५ वर्षको तलब एकै पटकमा पठाएको त कतै ७० डलर फिर्ता गर्न खोज्दा रकमको स्थानमा खाता नम्बर राख्दा ७ करोड डलर गएको खबरहरु पनि केही समय अघि सार्वजनिक भएका थिए ।

जापानको एउटा शहरले शहरभरका न्यून आए भएका घरपरिवारलाई दिन ठिक पारेको रकम एउटै व्यक्तिको खातामा जाँदा सो रकम फिर्ता गराउन नगर सरकारलाई ठूलै सकस भएको थियो भने मुद्दा मामिला समेत गर्नु परेको खबर त तपाईंले भुल्नु भएको छैन नि ?


Last Updated on: September 6th, 2022 at 8:33 pm

तपाईको प्रतिक्रिया