Wednesday, August 10

यसकारण इच्छाराजका छोरीहरु बाबुमाथि “खनिए”

July 31, 2022

काठमाडौँ

सिभिल सेभिङ तथा क्रेडिट सहकारी संस्थाका १५ सय बढी बचतकर्ताको साढे आठ अर्ब बढी निक्षेप डुबाएको र संगठित अपराध गरेको आरोपमा बैंकर तथा एमाले संविधान सभा सदस्य इच्छाराज तामाङविरुध्द छोरीहरुले मुद्दा हालेका छन् ।

गत असोजमा उक्त रकम डुबाएको आरोपमा समातिएका १२ जनामध्ये तामाङ र जेठान नाताका केशवलाल श्रेष्ठ जेलमा छन् । तामाङ्गकी श्रीमती सिर्जना शाक्य पनि हालै जेल चलान भएकी छन् ।

प्रहरीले काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दामा तामाङका छोरीहरुलाई समेत प्रतिवादी बनाइएको छ । तर अहिले उनै छोरीहरुले बाबुविरुध्द अर्को मुद्दा दायर गरेका हुन् । २८ वर्षकी जेठी छोरी प्रतिक्षा र २५ वर्षकी प्रतिस्ठाले बाबुविरुध्द अंश दपोटको (सम्पत्ति लुकाएको) मुद्दा हालेका हुन् ।

यस्तो किन गरेका होलान् ? भनेर जनआस्थाले सहकारीमा रकम डुबाएका एक जना पीडितलाई सोध्दा उनले भने,‘२०७४ सालमा दिएको अंशमाथि अरुले हकदाबी गर्न नपाउन् र केही सम्पत्ति भए पनि जोगियोस् भन्ने चाहनाले काम गरेको हुनसक्छ ।’

कर छल्ने, सम्पत्ति लुकाउने उद्देश्यले तामाङले २०७४ सालामा श्रीमती सिर्जना शाक्य तामाङसहित छोरीहरु प्रतिष्ठा र प्रतिक्षालाई घर,जग्गा र केही सेयर भागबण्डा गरेर दिएका थिए ।अहिले ती सम्पत्ति जोगाउन उनीहरुले बाबुविरुध्द मुद्दा हालेको अनुमान गरिएको छ ।

इच्छाराजसहितको गिरोहले आठ अर्ब ५७ करोड ३८ लाखभन्दा बढी सहकारीको निक्षेप रुपैयाँ निजी कम्पनीमा बिना धितो लगानी गरेका थिए । उनीहरुले सहकारीका अर्बौ पर्ने अचल सम्पत्ति बैंकमा धितो राखी उक्त रकमसमेत बेपत्ता बनाएकाले गत वर्ष १२ जना समातिएका हुन् । नौ जना धरौटीपछि तारेखमा छुटेका छन् ।

अहिले बाबुले आफूहरुलाई दिएको अंश अन्यथा गर्न नपाउन् भनेर जिल्ला अदालत काठमाडौंमा छोरीहरुको तर्फबाट अंश दपोटको (सम्पत्ति लुकाइएको) मुद्दा दायर गरेको प्रष्ट हुन आएको बताइन्छ ।जन आस्था

Comment