बुधबार १९ आश्विन २०७९

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको नाबालिका क’रणी आरोपका विषयमा नेपाल क्रिकेट सङ्घ (क्यान)ले तत्काल केही छानबिन नगर्ने बताएको छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई आरोप मात्र लागेको र अनुसन्धानकै क्रममा रहेकाले यस विषयमा क्यानले तत्काल केही नगर्ने जानकारी दिए।

‘सन्दीपको बारेमा अहिले पुष्टि भइसकेको छैन, यो सुनियोजित पनि त हुन सक्छ, यदि सन्दीपले अनुशासन नै तोडेको हो भने त कानुनी कारबाही हुनुपर्छ,’ क्यान अध्यक्ष चन्दले भने। उनले कानुनीरुपमा पुष्टि नभइञ्जेल सन्दीपलाई निलम्बन वा कुनै पनि किसिमको कारबाही नगर्ने बताए।

महानगरीय प्रहरी वृत्त गौशालामा परेको जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने सन्दीपले बालिकालाई यही भदौ ५ गते काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौँको एक होटलमा ल्याएर जबर्जस्ती क’रणी गरेको आरोप छ।

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट खेल्नका लागि अहिले वेस्ट इण्डिजको जमैकामा छन्। त्यसअघि सन्दीपसहितको नेपाली राष्ट्रिय क्रिकेट टोली केन्यासँग तीन एक दिवसीय र पाँच टि–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने यही भदौ ६ गते केन्या गएका थिए।

उता नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान सन्दीप लामिछानेमाथि एक १७ वर्षीया किशोरीले जबरजस्ती क’रणीमा जाहेरी दिएको समाचार मंगलबार बेलुकीबाट भाइरल भयो । तर, यसबारे बेखबर उनका बुवाआमा भने नियमित समयमा सुतिसकेका थिए ।

आज बिहानमात्रै उनीहरुले छोराको खबर थाहा पाए । सन्दीपका बुवा चन्द्रनारायण टेलिभिजनमा समाचार हेरेर छोराको खबर थाहा पाएको बताउँछन् । यो समाचार उनीहरुको जीवनमा कुनै ठूलो पहिरोभन्दा कम थिएन ।‘हामीले आज बिहानमात्र टीभीमा समाचार हेर्‍यौं । छाँगाबाट खसेजस्तै भएका छौं’, चन्द्रनारायणले स्तब्ध आवाजमा भने ।

सन्दीपको चालचलनबारे यसअघिसम्म कहिल्यै नराम्रो कुरा नसुनेको र नदेखेको उनी बताउँछन् ।उनको भनाइमा एउटा छोराको रुपमा सबै कर्तव्य र जिम्मेवारी सन्दीपले निर्वाह गरिरहेका छन् । त्यसो त केही वर्षदेखि सन्दीप क्रिकेट खेल्न प्रायः देश बाहिरै हुने भएकाले छोरासँग बस्ने मौका उनीहरुले कमै पाए ।

‘हामी काठमाडौंमा बस्न नसकेर चितवन फर्कियौं । ऊ नेपालमा भएका वेला भेट हुन्थ्यो । कहिले हामी जान्थ्यौं, कहिले छोरा आउँथ्यो । उसको नराम्रो कुरा केही सुनेनौं, सधैं राम्रोमात्रै सुन्यौं’, चन्द्रनारायणले भने ।अहिलेको घटनाका विषयमा सन्दीपले केही पनि सेयर नगरेको उनको भनाइ छ ।

‘यस्तो कुरा बुवाआमालाई सुनाउने पनि भएन, अहिलेसम्म हामीलाई यो विषयमा केही पनि थाहा थिएन’, उनले भने ।त्यसो त बाहिर आएको घटनामा उनलाई विश्वास लागिरहेको छैन । छोरालाई फसाउन षड्यन्त्र गरिएको हो कि भन्ने उनको आशंका छ ।

चन्द्रनारायण भन्छन्, ‘हुन त आफ्नो छोरा सबैलाई राम्रो लाग्छ । तर, बन्द प्रशिक्षणमा भएको वेला यो घटना भएको भनिएकाले पत्याउन सकिरहेको छैन । बन्द प्रशिक्षणमा भएको मान्छेले कसरी त्यस्तो गर्‍या होला ?’सन्दीप सन् २०१३ बाट काठमाडौंमा एक्लै बस्न थालेका हुन् ।

उनले काठमाडौंमा घर किनेपछि केही समय बुवाआमालाई सँगै राखेका थिए । तर, आफू बिरामी परेपछि काठमाडौं बस्न नसकेको चन्द्रनारायणले बताए । बुवाआमा चितवन फर्किएपछि सन्दीपले आफ्नो बुढानिलकण्ठमा रहेको घर बेचेर हात्तीवनमा फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए ।

सन्दीपको समाचार सार्वजनिक भएपछि बुवाआमाको उनीसँग कुरा हुन पाएको छैन । वेस्ट इन्डिजमा अहिले राति भएकाले फोन नगरेको चन्द्रनारायणले बताए ।‘सुतिरहेको होला भनेर फोन गरेका छैनौं, उता बिहान भएपछि गर्नुपर्ला’, उनले भने ।सीपीएल खेल्न गएपछि सन्दीपसँग उनीहरुको तीन-चार दिनअघि कुराकानी भएको थियो ।

अरु वेलाजस्तै सामान्य कुराकानी भएको चन्द्रनारायणले बताए ।मुद्दा प्रहरीमा पुगिसकेको हुनाले निष्पक्ष अनुसन्धान हुने उनको विश्वास छ । तर, आरोप लागिसकेपछि छोरा र परिवारको छविमा दाग लागेकाले उनी चिन्तित छन् । छिटोभन्दा छिटो मुद्दाको किनारा लागोस् भन्ने उनको अपेक्षा छ ।‘अदालतबाट निर्दोष सावित भएर इज्जतमा लागेको दाग मेटिएला भन्ने आशामा छौं’, उनले भने ।


Last Updated on: September 7th, 2022 at 6:12 pm

तपाईको प्रतिक्रिया