श्रीमान-श्रीमतीको विवादले दुई अबोध बालकालिकाले पनि ज्यान गुमाउनु पर्यो, यसकारण हुने गर्छन यस्ता घटना- – Gandaki Chhadke
Friday, August 12

श्रीमान-श्रीमतीको विवादले दुई अबोध बालकालिकाले पनि ज्यान गुमाउनु पर्यो, यसकारण हुने गर्छन यस्ता घटना-

August 2, 2022

काठमाडौँ

भरतपुरको रमाइलो चोकमा कृष्णप्रसाद आचार्य र रुश्मा आचार्य दम्पतीको दुःखद् मृत्यु भएको एक हप्ता नबित्दै काठमाडौँको काभ्रेस्थलीमा पाण्डे दम्पतीको पनि दुःखद् अन्त्य भएको छ ।

दुवै घटना वैदेशिक रोजगारी र दम्पतीबीचको मनमुटावकै कारणले घटेको देखिन्छन् । तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा सोमबार बिहान श्रीमान्–श्रीमती र दुई छोराछोरीको शव भेटिएको छ ।

श्रीमानले श्रीमती र छोराछोरीको हत्या गरेर आफूले आत्महत्या गरेजस्तो देखिएको पारम्भिक अनुसन्धानले देखाएको छ । श्रीमती र दुई बच्चाको शव एउटा कोठामा र श्रीमानको शव अर्को कोठामा विभत्सरुपमा भेटिएको थियो ।

घटनास्थलमा फेला परेको सुसाइड नोटमा दिनेशले ‘श्रीमती र छोराछोरीको हत्या गरेर आफूले आत्महत्या गर्न बाध्य भएको’ उल्लेख गरेका छन् ।

१२ वर्ष कुवेत बसेर केही वर्षअघि मात्रै फर्किएका दिनेश र श्रीमती सुनीताको केही वर्षयता पारिवारिक सम्बन्ध राम्रो नभएको र त्यसबाटै उत्पन्न विवादले बीभत्स हत्याको रूप लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

सुसाइड नोटमा दिनेशले पत्नीसँग सम्बन्ध बिग्रिएको, माइती पक्षसँग मिलेर सम्पत्ति हडप्न खोजेको, आफूलाई घरेलु हिंसाको आरोपमा प्रहरीमा थुनाएको लगायत विषय उल्लेख गरेको अनुसन्धानमा संलग्न एक प्रहरीले बताए । उनले छोराछोरीलाई एक्लै राख्न नसकेर सँगै लानुपरेको उल्लेख गरेका छन् ।

अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार छोराछोरी र श्रीमतीलाई मार्न दिनेशले पेट, छाती र टाउकामा धारिलो हतियार प्रहार गरेका छन् ।प्रहरीका अनुसार पारिवारिक विवाद तीन पटक बालाजु प्रहरी र एक पटक महाराजगन्ज वृत्तसम्म पुगेको थियो ।

पछिल्लो पटक दिनेशले आफू बस्दै आएको घर पत्नीलाई थाहै नदिई बिक्रीको प्रयास गरेका थिए तर घर सुनीताका नाममा रहेको र उनले बेच्न नमानेपछि झनै विवाद बढेको थियो । मृतक सुनीता ‘सिजनल काम’ का लागि बेलायत जान भिसासमेत लगाएर बसेकी थिइन् ।

त्यसअघि छोराछोरीलाई माइतीको जिम्मा लगाउनेबारे कुराकानी भइरहेका बेला दिनेशले पत्नी र दुई छोराछोरीको बीभत्स हत्या गरेर आफैंले आत्महत्याको बाटो रोजेका हुन् ।

काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेश मैनालीले प्रारम्भिक अनुसन्धानमा दिनेशले श्रीमती र दुई छोराछोरीको हत्या गरेर आत्महत्या गरेको हुन सक्ने देखाएको तर पोस्टमार्टम रिपोर्ट र प्रहरीको विस्तृत अनुसन्धानपछि मात्रै घटना कोबाट र कसरी भयो भन्ने यकिन हुने बताए ।

काठमाडौं प्रहरी प्रवक्ता मैनालीका अनुसार मृतक चारै जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ ।

त्रिवि शिक्षण अस्पतालमा कार्यरत फरेन्सिक विज्ञ डा. गोपाल चौधरीले दिनेशले परिवारका तीन जनाको हत्या गरेर आत्महत्या गरेको प्रारम्भिक जाँचमा देखिएको बताए । चौधरी सोमबार घटनास्थल पुगेका थिए ।

‘घटनास्थलको अवस्था र सुसाइट नोट विश्लेषण गर्दा छोराछोरी र श्रीमतीको हत्यापछि दिनेश आफैंले आत्महत्या गरेको देखिन्छ, स्थलगत मुचुल्का र शवको अवस्थाले पनि त्यही देखाउँछ,’ चौधरीले भने, ‘बाँकी विषय पोस्टमार्टम रिपोर्टबाट आउला ।’

पारिवारिक बेमेल र झगडा अनि सम्पत्तिसँग जोडिएको यो बीभत्स घटनाले श्रीमान्–श्रीमतीको विवाद व्यवस्थापन र समाधान नहुँदा मानिसलाई कतिसम्म क्रूर अपराधको बाटोमा पुर्‍याउँछ भन्ने देखाएको एक अनुसन्धान अधिकृतले बताए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले पारिवारिक विवाद/बेमेल, आर्थिक अभाव, सम्पत्ति बाँडफाँट, आवेग र प्रतिशोध अनि आपसी अविश्वास आत्महत्याका कारण रहने गरेको बताए ।

तारकेश्वर घटना पनि पारिवारिक बेमेल, सम्पत्ति, आपसी अविश्वास र त्यसले निम्त्याएका अरू कारणबाट भएको प्रारम्भिक अनुसन्धानमा देखिएको उनको भनाइ छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो ५ वर्षमा ३१ हजारभन्दा बढीले आत्महत्या गरेका छन् । यसमध्ये कतिले परिवार तथा नातागोताको हत्या गरी आत्महत्या गरेको देखिन्छ । आत्महत्यामा आर्थिक अभाव, सम्पत्ति विवाद, घरायसी कलह, परपुरुष/महिलासँगका सम्बन्ध, नैराश्य, प्रतिशोध, मानप्रतिष्ठामा आँचजस्ता कारण देखिने गरेको छ ।

२०७७ भदौ २३ मा भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९, निकोसेराका ३६ वर्षीय सुदीप अधिकारीले पत्नी ३४ वर्षीया सम्झना र छोरा १५ वर्षीय सुशान्तको हत्या गरी आत्महत्या गरेका थिए ।

उनले घरमा पालेको कुकुर पनि मारेर आत्महत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्यो । आर्थिक अवस्था बिग्रिँदै गएपछि पारिवारिक तनावमा रहेका सुदीपले त्यही कारणबाट सिर्जित तनाव व्यवस्थापन नगर्दा परिवारका सदस्यको हत्या गरी आत्महत्या गरेको खुलेको थियो ।

२०७६ माघ २७ मा पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना ललितपुरको सानेपास्थित निवासमा मृत भेटिइन् । घाँटीमा डोरीले बाँधेर टाउकोमा चोट लागेको अवस्थामा भेटिएकी कार्कीको अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

घरमा काम गर्ने दाङ (लमही) का विजय चौधरी झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । प्रहरीले मुनाको हत्या विजयले गरेको र पछि उनले आत्महत्या गरेको निष्कर्ष निकालेको थियो ।

२०७७ पुस २४ गते राति काठमाडौंको टोखामा एक दम्पती मृत फेला परे । सुर्खेत पुर्ख्यौली घर भएका उमेश केसी ओछ्यानमा र पत्नी सदीक्षा नजिकै भर्‍याङमा झुन्डिएको अवस्थामा भेटिएका थिए ।

अनुसन्धानमा उमेशको हत्या गरी सदीक्षाले झुन्डिएर आत्महत्या गरेको प्रहरी आशंका रहे पनि आइफोन अनलक गरेर अनुसन्धान अघि बढाउन नसकेपछि घटनामा बाहिरी पक्षको संलग्नता खोजबिन नै भएन ।

२०७८ फागुनमा रामकोटमा एकै परिवारका चार जनाले आर्थिक अभावको कारण देखाएर विष सेवन गरी सामूहिक आत्महत्या प्रयास गरेका थिए । तीमध्ये एक जनाको मृत्यु भएको थियो । २०७८ असोज २२ मा धनुषाको नगराइन नगरपालिका–७ फूलगामाकी २४ वर्षीया गुडिया साहले २ छोरा ५ वर्षीय अभिषेक र ३ वर्षीय आदित्यको हत्यापछि आत्महत्या गरेकी थिइन् ।

यी घटनाले आत्महत्या र हत्यापछि आत्महत्याजस्ता जघन्य अपराधमा मानिस कसरी संलग्न हुँदै गएका छन् भन्ने देखाउँछ ।

Comment