Wednesday, August 10

पैसा दिन्छु भन्दै घरमा लगेर साथीलाई खाना खुवाए, कालिज मार्ने भन्दै जंगलमा लगेर साथीको हत्या गरे

August 2, 2022

काठमाडौं ।

अर्घाखाँचीमा पैसा दिन्छु भन्दै आफ्नै घरमा लगेर साथीको हत्या गरेको खुलेको छ । ट्रक किनेको पैसा दिने भन्दै एकजनाले आफ्नै साथीको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डीएसपी अमरबहादुर थापाका अनुसार पाणिनि गाउँपालिका–२ पोखराथोकका कुलचन्द्र गौतमले मालारानी गाउँपालिकाका–१ का विष्णुबहादुर पाण्डेको नाममा रहेको लु १ ख ६६८१ नम्बरको ट्रक खरिद गर्ने भन्दै जंगलमा लगेर हत्या गरेको खुलेको हो ।

साथीको विश्वासमा परेर पाण्डेले पैसा नै नलिई ट्रक पास गरेका थिए । गौतमले बुटवलमा पाण्डेसँग १६ लाख रुपैयाँमा ट्रक किन्ने सहमति गरेका थिए ।

घरमै गएर पैसा दिने भनेपछि गौतमले पाण्डेलाई बुटवलबाट साउन ९ गते अर्घाखाँची पोखराथोक ल्याए । डीएसपी थापाले भने, “राति उनीहरुले सँगै खाना खाएको खुलेको छ । उनकै घरमा पाण्डेले रात बिताए ।

अर्को दिन घर नजिकै रहेको सामुदायिक वनमा कालिज मार्ने र खाना खाने भन्दै जंगल लगेका रहेछन् । सोही जंगलमा उनले पाण्डेको हत्या गरेको अनुन्धानले देखाएको छ ।”

गौतमले पछाडिबाट पाण्डेलाई फलामको रडले हानेर हत्या गरेको खुलेको छ । हत्यापछि पाण्डेलाई भीरबाट धकलेर गौतम भागेका थिए ।

१० गतेसम्म बुबा सम्पर्कमा नआएपछि पाण्डेकी छोरीले बुटवल प्रहरीमा निवेदन दिएकी थिइन् । सोही निवेदनका आधारमा अर्घाखाँची प्रहरीको टोली खटिएको थियो ।

डीएसपी थापाले भने, “प्रहरीसहितको टोली खोजतलासमा सक्रिय भयो । खोज्दै जाँदा गौतमको घरभन्दा दुई, तीन किलोमिटर पर जंगलमा पाण्डेको शव फेला पर्यो । शव पोष्टमार्टमका लागि पठाइएको छ । घटना १० गते बिहानको समयमा भएजस्तो देखिन्छ ।”

हत्यापछि फरार रहेका गौतम नेपाल–भारत सीमा नाकाबाट पक्राउ परेका छन् । प्रहरीका अनुसार पाण्डे बुटवलमा बस्दै आएका थिए । उनीहरु चिनजानका साथी हुन् ।

प्रहरीसमक्ष गौतमले आफू रुपन्देहीमा घर बनाउँदा ऋणमा डुबेको र सोही ऋण तिर्न साथीको ट्रक हत्याउने योजना बनाएका थिए । उनले बुटवलको मैनाबगरमा मोटर पार्ट्स पसलसमेत सञ्चालन गरेका थिए ।

सबैतीरबाट ऋणमा फसेपछि ट्रक सित्तैमा हत्याउने र ट्रकबाट आम्दानी गरेर ऋण तिर्ने योजनाका साथ हत्या गरेको खुलेको छ ।घटनाको थप अनुसन्धान बुटवलबाट भइरहेको डीएसपी थापाले बताए ।

Comment