मंगलबार १८ आश्विन २०७९

झापा । हेटौंडाका विकास गौतमले झापाको दमकमा आलिसान घर किने । पेशाले निर्माण व्यवसायी रहेका गौतमले करिब डेढ करोडमा किनेको घर झण्डै करिब ८५ लाख रुपैयाँ खर्च गरेर साजसज्जा गरे, चिटिक्क पारे ।

रिमोटबाटै खोल्न–बन्द गर्न मिल्ने गेट हालिएको यो घर गौतमले आफैं बस्नका लागि भने किनेका होइनन् । निजी सम्पत्ति केपी शर्मा ओली ट्रष्टलाई दिइसकेकाले आफ्नो नाममा केही पनि सम्पत्ति नरहेको बताउँदै आएका ओलीका लागि गौतमले यो घर किनेको एमालेका एक स्थानीय नेताले बताए ।

घर बनिसक्दा नसक्दै गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई यो घर दिएका छन्, दमक आउँदा अध्यक्ष ओलीले यही घरबाट भेटघाट सुरु गर्न थालिसकेका छन् । २०७४ को निर्वाचनसम्म ओली दमकको आफ्नै घरमा बसेर चुनावी गतिविधि गरेका थिए । त्यो घरमा अहिले एमालेका केन्द्रीय सदस्य रोमनाथ ओली बस्छन् ।

दमक नगरपालिका पूर्वप्रमुख समेत रहेका उनी साइनोले ओलीका भतिज हुन् ।तर ओलीको केही पनि सम्पत्ति छैन भनेर सहयोग गर्न गौतमले उनलाई यो घर उपलब्ध गराएका भने होइनन् । निर्माण व्यवसायी गौतमले मदन भण्डारी राजमार्गको धरानदेखि बेलडाँगीसम्म ५३ किलोमिटर, बुद्धशान्तिको शान्तिनगरदेखि मेचीनगरको मेचीडाँगीसम्मको १० किलोमिटर सडक निर्माणमा तीन प्याकेजमा लगाएको ठेक्का हात पारेका छन् ।

यस्तै हुलाकी राजमार्गअन्तर्गत ओलीकै निर्वाचन क्षेत्र गौरीगञ्जस्थित रतुवा नदीदेखि माइनदीसम्मको १४ किलोमिटर र माइनदीदेखि झापा गाउँपालिका र बाह्रदशी जोड्ने विरिङ्ग नदीसम्म करिब १० किलोमिटर ठेक्का हात पारेका छन् । ओलीकै कारण ठेक्का पाएकाले उनलाई खुसी बनाउन गौतमले यो घर उपलब्ध गराएको एमालेकै स्थानीय नेताहरूको भनाइ छ ।

राजनीतिक दलहरू ठेकेदार, व्यापारिक र बिचौलियाहरूको संगतले विचलित हुँदै गइरहेको भन्दै टीकाटिप्पणी भइरहेका बेला एमाले अध्यक्ष ओलीले समेत ठेकेदारकै घरमा बसेर झापा–५ मा आफ्नो राजनीतिक जीवनको छैटौं चुनाव लड्न लागेका हुन् ।

ओलीलाई घर दिने ठेकेदार गौतम फौजदारी मुद्दामा जेल बसेका व्यक्तिसमेत हुन् । २०७४ माघमा भएको दरबारमार्ग सामूहिक ब’लात्कार प्रकरणका आरोपीमध्ये गौतम पनि एक थिए । कैलालीकी २२ वर्षीया युवतीलाई प्रेमी रामेछापका शैलेश कार्कीले घटना भएको दिन भेट्न भन्दै लाजिम्पाट बोलाएका थिए ।

दिनभरि मा’दक पदार्थ सेवन गरेर राति सँगै बस्न भन्दै उनीहरु दरबारमार्गको ल्याण्डमार्क होटल गएका थिए । तर युवती बेहोसी अवस्थामा रहेका बेला राति शैलेशका साथी दीपक श्रेष्ठ र यिनै ठेकेदार गौतम लगायतले युवती बसेको कोठा नम्बर ४०५ मा पुगेर पालैपालो ब’लात्कार गरेको भन्दै प्रहरी कहाँ जाहेरी परेको थियो ।

आफूविरुद्ध पनि जाहेरी परेको थाहा पाएपछि ठेकेदार गौतमले प्रहरीकै रोहबरमा ३० लाख रुपैयाँ पीडितलाई दिएर घटना सामसुम पार्न खोजेका थिए । तर ब’लात्कार जस्तो घटनामा मिलापत्र गराएको सूचना चुहिएसँगै दरबारमार्गका तत्काली डीएसपी तिलक भारती, प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरी लगायतका प्रहरी अधिकृतहरु पनि कारबाहीमा परेका थिए ।

गौतम भने भागेर भारत पुगेका थिए । उनी मकवानपुरका एकजना एमाले नेताका छोरासमेत हुन्, उनी मोतीदान कन्स्ट्रक्सन कम्पनीका सञ्चालक समेत हुन् । जिल्ला अदालत काठमाडौंले गौतमलाई १४ महिना कैद सजाय गर्ने फैसला गरेको थियो । फैसला पछि अदालतमा हाजिर भएका उनी कैद भुक्तान गरेर छुटेका हुन् ।


Last Updated on: September 8th, 2022 at 9:53 pm

तपाईको प्रतिक्रिया