Wednesday, August 10

तीनपटक बालाजु प्रहरीमा मिलापत्र, सहकारीमा राखेको रकम झिकेर खाता बन्द

August 2, 2022

काठमाडौँ

गोरखाको भीमसेन थापा गाउँपाकिला–६ आश्राङ स्थायी घर भएका दिनेश पाण्डे १२ वर्षसम्म वैदेशिक रोजगारीमा बसेर फर्किएको स्रोतले बताएको छ।

उनले कुवेतका १२ वर्ष बिताएको देखिएको छ। उनी नेपाल फर्किएको चार वर्ष मात्रै भएको छ। त्यहाँबाट फर्किएर उनले काठमाडौंको मनोहरामा खरिद गरेको जग्गा बेचेका थिए। त्यसपछि उनले पदमसालमा जग्गा किनेर एकतले घर बनाए।

उनले पदमसालमै मोबाइल पसल खोलेर चलाउँदै आएका थिए। त्यो पसल उनले एक महिनाअघि मात्र बिक्री गरेको स्थानीय बताउँछन्। उता पत्नी सुनिता पनि कपडा पसल चलाउँथिन्।

स्थानीयका अनुसार दिनेश नेपाल फर्केसँगै पतिपत्नीबीच झगडा हुन थालेको थियो। झगडको मुख्य कारण दिनेशले पत्नीमाथि शंका गर्नु रहेको देखिन्छ। झगडाले उग्र रूप लिँदा उनीहरू तीनपटक बालाजु प्रहरी वृत्तसम्म पुगेका थिए। तीनैपटक उनीहरूबीच मिलापत्र भएको स्रोतको भनाइ छ।

झगडा भइरहँदा उनीहरूले सम्बन्धविच्छेद गर्नेसम्मको छलफल गरेको उनीहरूलाई नजिकबाट चिन्नेहरू बताउँछन्। दिनेशले नै पत्नी सुनितासँग सम्बन्ध विच्छेद माग्ने गरेको स्रोतको दाबी छ।

तर सुनिताले छोराछोरीकै कारण सम्बन्धविच्छेद गर्न चाहेकी थिइनन्। बरु उनले आफैं विदेश जाने तयारी थालेकी थिइन्। यसका लागि उनले बेलायतको सिजनल भिसाको प्रक्रिया थालेकी थिइन्।

उनको बेलायत जाने प्रक्रिया अन्तिम चरणमा पनि पुगिसकेको थियो। एक महिनाकै बीचमा उनी बेलायत उड्ने तयारीमा थिइन्। यसैका लागि उनले आफूले चलाउँदै आएको फेन्सी पसल बिक्री गरेकी थिइन्।

सहकारीमा राखेको रकम पनि झिकेर खाता बन्द गराइसकेकी थिइन्। उनको बेलायत जाने यो निर्णयमा दिनेश भने असहमत थिए। यही कारण पनि उनीहरूबीचमा पछिल्लो समय विवाद भइरहेको स्थानीय जानकार स्रोतको भनाइ छ।

पाण्डेको परिवार सखाप हुनुको एउटा कारण परपुरुषसँगको शंका भए पनि अर्को कारण सुनिताको बिदेसिने चाहनाप्रति दिनेशको असहमति र त्यसबाट उत्पन्न विवाद रहेको बुझ्न सकिन्छ।

Comment