Ultimate magazine theme for WordPress.

माडीे परुई वस्तीमा भित्रिए बेहुली

658

भरतपुर, शक्तिखोर मेत्राङकी सीता चेपाङ १८ वर्ष हुनुभयो । माडी परुईका बसन्तसँग स्वामिटारमा दिदिको घर जादा देखभेट भयो । फेसबुकमा जोडिए । मोबाइल नम्बर आदानप्रदान भयो । बसन्त शक्तिखोरतिर घर बनाउने काममा मजदुरी गर्नुहुन्थ्यो । बसन्तले माडी घर बताएपछि सीतालाई माडी कस्तो होला भन्ने कौतूहलता हुन्थ्यो । मिहेनती बसन्तलाई देखेपछि सीता घरजम गरेरै माडी बस्ने निधोमा पुग्नुभयो । आजभोली घरजम गरेर माडी देवेन्द्रपुरको परुई खोला किनारको चेपाङ वस्तीमा हुनुहुन्छ ।

“राम्रो घर होला, सुख होला भन्ने सोँचे”, सीताले भन्नुभयो, “बिहे गरेर आएपछि पो थाहा भयो, यहाँ त धेरै दुःख रहेछ ।” चितवन राष्ट्रिय निकुञ्जले वर्षेनी दुःख दिएपछि कुसुमखोला छाडेर बसन्तका बुबा जीत्रलालले परुईमा घर बनाएको पनि एक वर्ष भयो ।पुरानै घरका सामान जोडेर बनाएको सानो घर छ । “नगरपालिकाले पक्की घर बनाइदिन्छ रे भन्ने सुनेको हो, अहिले पनि उस्तै सानो घर छ”, सीताले भन्नुभयो, “खेतीपाती गर्ने न जग्गा छ, न ओत लगाउने बलियो घर छ ।” भाग्यमा जे लेखिएको छ, त्यही भोग्नुपर्छ भन्ने ज्ञान उहाँमा नभएको होइन ।

“घरजम पछि जे छ, त्यसैमा रमाउनुपर्छ”, सीताले भन्नुभयो, “खर्च जुटाउन दिनहु मेलापात जानुपर्छ, सधै काम पनि पाइदैन ।” बसन्त बिहे पहिले घर बनाउने काममा मजदुरी गर्न शक्तिखोरसम्म पुग्ने गर्नुहुन्थ्यो । कोभिड–१९ पछि पहिले जस्तो काम नपाउँदा घरमै थन्किनुपरेको छ । बसन्तका भाई दुःखलालले पनि शान्तीसँग बिहे गर्नुभएको छ । शक्तिखोर शेरबासकी १४ वर्षीया सुष्मा चेपाङले पनि परुईमै घरजम गर्नुभएको छ । बिहे गरेको दुई हप्ता भयो । श्रीमान सागर २२ वर्षको हुनुहुन्छ । सागरपनि कामकै शिलशिलामा जादा सुष्मासँग चिनजान भएको थियो ।

६ कक्षाको अनलाइन कक्षा लिदालिदै छाडेर उहाँ परुई आउनुभएको हो । “दुःख पछि सुख आउला नि”, सुष्माले भन्नुभयो, “घर पक्की बन्छ रे, खेती गर्ने जग्गा पनि मिल्छ की ।” सागरका बुबा वीरबहादुर १ वर्ष पहिले कुसुमखोला छाडेर परुई झर्नुभएको थियो । “दिनभर घर बस्नुपर्छ, ज्यालादारी काम पनि यतिबेला पाउन मुस्किल छ”, सागरले भन्नुभयो, “घरखर्च जुटाउनै गाह्रो छ, खेतीगर्ने जग्गा पनि छैन ।”कुसुमखोलाहुदा करिब ७ कट्टठा भोगचलन गरेपनि नदी किनारमा आएर बसेपछि खेती गर्ने जग्गा पाएका छैनन् । वीरबहादुरको साँघुरो सानो घरमा ६ जनाको परिवार बस्छ ।

वीरबहादुरले पनि डेढ वर्ष पहिले दोस्रो जीवनसाथी ल्याउनुभएको थियो । भान्छाकोठामा छोरा बुहारी बस्छन्, बीरबहादुर पिढीमा रात गुजार्नहुन्छ । कुसुमखोलाबाट परुईमा ५२ घरपरिवार सरेका छन् । अन्य राइडाँडामा छन् । ११ घर उतै कुसुमखोलामै छन् ।सुनिता चेपाङ २७ वर्षको हुनुभयो । सुरुमा कुसुमखोलामा बस्न खोज्दा निकुञ्ज सेनाले खेदेको कहानी भुल्नुभएको छैन । “कुसुमखोला फडानी गरेर बस्न खोज्दा सेनाले लेखटेपछि बगईमा डेढ वर्षजति बस्यौँ, पछि माथिनै गयौँ”, सुनिताले भन्नुभयो, “उबेला म ४ वर्षको थिएँ रे, अहिले ठुलो भैयो, दुःख हटेन ।”

सुनिताको घर चैत यता परुईमै छ । पहिलो पटक १३ कट्टठा जग्गा अधियाँ गर्नुभएको छ । “पहिलो वर्षनै खेती फापेन”, उहाँले भन्नुभयो, “४० मुरी धान फल्थ्यो जग्गामा ३ बोरा पनि धान नहुने भो ।” उहाँका ३ छोरी छन् । परुई चेपाङ वस्तीमा अधिकाँस निमेकनै गरेर घरखर्च जुटाउँछन् । केहीले कुखुरा, बाख्रा पनि पालेका छन् । साउन ३ गते कुसुमखोलाको दानबहादुर र दिपबहादुर चेपाङका २ घरमा निकुञ्जले हात्ती लगाएर भत्काइदिएको थियो । अन्नबाली नष्ट गरिदिएको थियो । त्यसपछि चेपाङ वस्तीनै त्रसित हुन पुगेको थियो । दिपबहादुर आजकल परुईमै छन् ।

“एक हप्तामै घर बनाइदिन्छु भनेको अहिलेसम्म ठेगान छैन”, दिपबहादुर भन्नुहुन्छ, “सुख खोज्दै माडी झरियो, खेदेपछि खोला किनार आइपुगियो ।” २०५९ सालतिरको बाढीले कोराकको पाखो बगाएपछि दिपबहादुर कुसुमखोला बसाईसर्नुभएको थियो । “कोराक, लोथर जस्ता धेरै ठाउँमा बसियो, कहिले बाढी, कहिले पहिरोले खेद्यो”, उहाँले भन्नुभयो, “जग्गा खुल्यो भन्ने थाहा पाएपछि कुसुमखोला आइयो, त्योबेला पनि सेनाले लखेट्यो ।”दिपबहादुर ५१ वर्ष पुग्नुभयो । देवेन्द्रपुरमै ५ कट्टठा जग्गा अधियाँ कमाउनुभएको छ ।“खाने धान फलाउनै प¥यो नी”, उहाँले भन्नुभयो, “यसपाली धान राम्रो फलेन, त्यस्तै २ हजार ऋण खोजेर ट्याक्टर लगाएर जोतेको खर्च पनि उठ्दैन भन्ने पीर छ ।”

माडी नगरपालिका मेयर ठाकुरप्रसद ढकालले सर्वोच्च अदालतको ‘स्टे अर्डर’ पछि पक्की घर बनाउने काम रोकिएको बताउनुभयो । “घर निर्माण कार्य अघि बढाउन पहल गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “राइडाँडा र परुईमा नमुना वस्ती बसाउने कामलाई छिटै पूर्णता दिइनेछ, रोजगारीको अवसर पनि सृजना हुने कार्यक्रम लागु हुनेछन् ।” माडीमा बाँदरझुला, कुसुमखोला, प्याउली, राइडाँडा, परुईमा सुकुमबासी ठुला वस्ती छन् । जनता आवास कार्यक्रम मार्फत राइडाँडामा २८ तीने कोठे पक्की घर बनिसकेका छन् ।परुई र राइडाँडामा अन्य घर बन्न बाँकी छन् ।