Wednesday, August 10

किराना पसल चलाउने एक दम्पती, जसले सामान्य गणितको प्रयोग गरेर जिते सवा ३ अर्बको चिट्ठा

August 2, 2022

काठमाडाैं ।

चिट्ठा पर्नु भनेको अधिकांश मानिसहरूको निम्ति दुर्लभ घटना हो। तर एक अमेरिकी दम्पतीले सामान्य अङ्कगणितको सहारा र चिट्ठाका सर्तहरूमा सूक्ष्म ध्यान पुर्‍याएर पुरस्कार जितिरहे।

जेरी र मार्ज सेल्बीले अमेरिकाका दुई राज्यमा सन् २००३ देखि २०१२ को बीचमा दर्जनौँ पटक चिट्ठा पारेर २.६ करोड अमेरिकी डलर वा सवा तीन अर्ब रुपैयाँ बराबर पुरस्कार जिते।

के थियो उनीहरूको जुक्ति? कुनै कानुन उल्लङ्घन नगरीकन गरिएको एउटा साधारण हिसाबकिताब जसलाई जेरीले ‘तीन मिनेटभित्रै गरिसक्ने’ बताएका छन्।

उक्त दम्पतीको असाधारण कहानी अब हलीवुड पुगेको छ: जेरी एन्ड मार्ज गो लार्ज, उक्त दम्पतीको कथाबाट प्रेरित चलचित्र गत महिना सार्वजनिक भएको छ। सो चलचित्रमा ‘ब्रेकिङ ब्याड’ का अभिनेता ब्र्यान क्र्यान्स्टन र आनेट बेनिङको अभिनय छ।

द डेभिल वेअर्स प्राडाजस्ता फिल्मबाट परिचित डेभिड फ्र्याङ्कले निर्देशन गरेको उक्त चलचित्रमा केही रचनात्मक कथा थपिए पनि त्यसले सेल्बी दम्पतिको साधारणपन र कसरी तिनले त्यत्तिका चिट्ठा जिते पनि आफूहरूमा पैसाको मात चढ्न दिएनन् भन्ने देखाउन खोजिएको छ।

‘यो केवल साधारण अङ्कगणित हो‘

सेल्बी दम्पती मिशिगन राज्यको सानो नगर इभरेटमा बस्दै आएका छन्। वर्षौँसम्म उनीहरूले नगरको मुख्य भागमा सानो किराना पसल चलाए।

छ सन्तानका बुबाआमा जेरी र मार्जले सन् २००३ तिर आफ्नो व्यवसाय विक्री गरे। अब बाँकी जीवन कसरी व्यतीत गर्ने भन्ने सोचविचार गर्दैगर्दा एकदिन जेरीको दृष्टि विन्डफल स्टेट लटरी (उक्त राज्यमा सञ्चालित एउटा चिट्ठा कार्यक्रम)को सूचनामा पर्‍यो।

साना अक्षरमा लेखिएका चिट्ठाको नियम गहन अध्ययन गरेपछि जेरीले मनमनै हिसाब गरे। त्यहाँ उनले ठूलै मौका भेट्टाए।’मैले त्यसमा रहेको एउटा कमजोरी फेला पारेँ,’ सन् २०१९मा अमेरिकाको सीबीएस टेलिभिजनसँगको अन्तर्वार्तामा जेरीले भनेका छन्।

विन्डफलको चिट्ठा जित्न खेलाडीले छ वटा भिन्न अङ्क मिलाउनुपर्थ्यो। तर यदि चिट्ठा कार्यक्रमको छवटा अङ्क एकैजना कसैले मिलाउन नसकेको खण्डमा पुरस्कार राशी पाँचवटा, चारवटा वा तीनवटा अङ्कमात्रै मिलाउनेहरूलाई बाँडिन्थ्यो।

त्यस्तो नियमअन्तर्गत जित्ने सम्भावना सबै अङ्क मिलाउने ज्याकपट चिट्ठा जित्ने भन्दा धेरै रहन्थ्यो।ठूलो सङ्ख्यामा चिट्ठाका टिकटहरू किन्दा जित्ने बलियो सम्भावना हुने जेरीले ठम्याए।

उनले गरेको हिसाबअनुसार १,१०० डलरको टिकट किन्दा चार अङ्क मिल्ने सम्भावना सहितको कम्तीमा एउटा विजेता टिकट हात पर्थ्यो।

सेल्बी दम्पतीले धेरै सङ्ख्यामा चिट्ठा किन्थे । ‘मैले १,००० डलर पुरस्कार राशीको चार अङ्क भएको एउटा विजेता टिकट र ५० डलर पुरस्कार राशीका १८ वटा तीन अङ्कवाला वा ९०० डलरका विजेता टिकट पाएँ,’ उनले बताए।

‘अर्थात् १,१०० डलर खर्च गरेर मैले १,९०० डलर कमाएँ।”यो केवल साधारण अङ्कगणित मात्र हो,’ उनले बताए।

टिकट किन्न कम्पनी

प्रत्येक वर्ष विभिन्न राज्यका चिट्ठा कार्यक्रममा सहभागी हुन अमेरिकीहरूले ७० अर्ब डलर खर्च गर्ने गरेको अमेरिकी सेन्सस ब्यूरोको तथ्याङ्क छ। अर्थात् औसतमा प्रत्येक अमेरिकीले एक वर्षमा २३० डलर चिट्ठा किन्न खर्च गर्छन्।

सेल्बी दम्पतीले चाहिँ उक्त औसतभन्दा निकै धेरै खर्च गरे। तर त्यसले उनीहरूको चिठ्ठा जित्ने सम्भावना बढाइदियो। अनि जेरीले आफ्नो लगानी बढाउन पनि हिच्किचाएनन्: पछि उनले ३,६०० डलरको लगानी गरेर ६,३०० डलर जिते।

अर्को पटक उनले ८,००० डलरको टिकट किने अनि दोबर रकम कमाए। त्यसपछि उनले यो सबै कुरा आफ्नो पत्नीलाई सुनाए।

अब सेल्बी दम्पतिले हजारौँ डलर लगानी गर्न थाल्यो र स्रोत व्यवस्थापनका निम्ति जीएस इन्भेस्टमेन्ट स्ट्र्याटजीज एलएलसी नामक एउटा छुट्टै कम्पनी स्थापना गरे।

मिशिगन र म्यासचूसिट्स राज्यमा थोरै अङ्क मिलाउनेहरूलाई पनि पुरस्कार राशी बाँड्ने नियम थियो । एउटा बिन्दुमा उनीहरूले समुदायका अन्य सदस्यहरूलाई पनि कम्पनीको शेअर ५०० डलरमा बेचेर आफ्नो योजनामा सहभागी गराए।

सहभागीहरूमा इभरेट नगरका किसान तथा वकिलहरू पनि थिए। चिट्ठा पर्दै गयो। सबभन्दा धेरै एक पटक ८.५ लाख डलरसम्म जितेको उनीहरूको लेखा अभिलेखमा देखिन्छ।

सेल्बी दम्पतीको निम्ति यो नाफामूलक त थियो तर अब उनीहरू अवकाशको जीवनबाट बाहिरिनुपर्‍यो। किनभने ठूलो सङ्ख्यामा टिकट खरिदका निम्ति निकै समय र मेहनत लाग्थ्यो।

मिशिगन राज्यको विन्डफल लटरी कार्यक्रम सकिएपछि जटिलता थपियो। तर दम्पतीका एकजना मित्रले त्यहाँकै जस्तो चिट्ठा कार्यक्रम क्याश विन्डफलको नाममा इभरेटबाट हजारौँ किलोमिटर टाढा म्यासचूसिस्ट राज्यमा सञ्चालन भइरहेको जानकारी दिए।

केही बेरको हिसाबपछि जेरीलाई लाग्यो जित जारी रहन सक्छ। त्यसपछि छ वर्षसम्म सेल्बी दम्पतीले निरन्तर म्यासचूसिट्स जाँदै त्यहाँका दुईवटा स्टोरबाट टिकट किन्दै क्याश विन्डफल खेल्न थाले।प्रत्येक पटकको चिट्ठा कार्यक्रममा उनीहरूले औसत छ लाख डलर खर्च गर्थे – त्यो पनि वर्षको सात पटक।

कामको सिलसिलामा सेल्बी दम्पतीले होटलमा १० दिनसम्म १०-१० घण्टाको शिफ्टमा हातैले टिकट जाँच गर्थे। अहिले ८० वर्ष उमेरका जेरी उक्त काम ‘रमाइलो’ भएको सम्झिन्छन्।

‘कुनै काममा सफल भएको सन्तुष्टि त्यसले दिन्थ्यो। त्योपनि आफ्नो निम्ति मात्र नभई आफ्ना साथीभाइ र परिवारका निम्ति,’ उनले भने।

के सेल्बी दम्पतीको काम वैधानिक थियो?

उनीहरूको रोमाञ्चक यात्रा सन् २०१२ मा अन्त्य भयो जब बोस्टन ग्लोबले गरेको एउटा छानबिनमा म्यासचूसिट्सका केही स्टोरहरूले शङ्कास्पद देखिनेगरी धेरै सङ्ख्यामा विजेता टिकटहरू बेचेको भेट्टायो।

सेल्बीहरूले जस्तै अरूले पनि त्यसै गरिरहेका रहेछन्। प्रतिष्ठित म्यासचूसिट्स इन्स्टिट्यूट अफ टेक्नोलजी (एमआईटी) का विद्यार्थीहरूको एउटा समूहले पनि क्याश विन्डफल खेलिरहेको रहेछ।

उक्त समाचारपश्चात् राज्यका अधिकारीहरूले लटरी कार्यक्रममा कुनै किसिमको ठगी वा अनियमितता भएको छ कि भनेर अनुसन्धान गराए। तर कुनै गैरकानुनी काम भएको फेला परेन।

‘हामी छानबिनमा संलग्न हुँदा जनमानसमा कुनै किसिमको सङ्गठित अपराध वा भ्रष्टाचार भएको छ कि भन्ने भान परेको थियो,’ अनुसन्धानको नेतृत्व गरेका इन्स्पेक्टर ग्रेग सुलिभानले सीबीएसलाई बताए।

‘तर यी हिसाबमा पोख्तहरूले लटरी जित्ने कानुनी छिद्र भेट्टाएको र त्यसैमार्फत् दशौँ लाख डलर जितेको देख्दा म चकित भएँ।’

खासगर सेल्बी दम्पती वा ती विद्यार्थीहरूले त्यतिखेरमात्र पुरस्कार राशी जित्थे जतिखेर क्याश विन्डफलमा सहभागी कसैले पनि छवटै अङ्क मिलाउन सक्दैनथे । कोही एक जनाले ज्याकपट जितेको खण्डमा यी दम्पती र एमआईटीका विद्यार्थीको लगानी खेर जान्थ्यो।

अर्थात् लटरी जित्ने तथ्याङ्कीय सम्भावनाको हिसाब निकालेका जोकोहीले पुरस्कार जित्न सक्थे। साथै सुलिभानले औँल्याएजस्तै क्याश विन्डफल कार्यक्रम म्यासचूसिट्स राज्यका निम्ति लाभजनक व्यवसाय थियो। उसले लटरी कार्यक्रम सञ्चालन गरेरै १२ करोड डलर कमाएको थियो।

घरको शृङ्गार तथा परिवारको शिक्षा

पछि क्याश विन्डफल कार्यक्रम रद्द गरियो। अचेल जित्ने सम्भावना बढाउन सकिने यस प्रकारका लटरी कार्यक्रम अमेरिकामा कतै सञ्चालित छैनन्।

तर सेल्बी दम्पतीले दशौँ लाख डलर जितिसकेका छन्। जेरीका अनुसार उनीहरूले मात्र करकट्टीपश्चात् आठ लाख डलर कमाए। तर त्यो रकम उनीहरूले विलासी चिजबिज वा तडकभडकमा नभएर आफ्नो घरको शृङ्गार अनि छ छोराछोरी, १४ नातिनातिना अनि १० पनातिपनातिनाको पढाइलेखाइमा खर्च गरे।

त्योभन्दा पनि सेल्बी दम्पतीले यो काममार्फत् निकै रमाइलो प्राप्त गरे। ‘रमाइलो थियो। बडा मज्जा आउँथ्यो,’ मार्जले सीबीएसलाई भनिन्। अनि उनीहरूले हलीवुडको १५ मिनेटको प्रतिष्ठा पनि बटुल्न भ्याएका छन्:

अभिनेता ब्र्यान क्र्यान्स्टन र आनेट बेनिङसँग चलचित्रको प्रीमिअरका बेला सेल्बी दम्पतीले रातो कार्पेटमा हिँड्ने अवसर पाए। बीबीसी

Comment