शुक्रबार १४ आश्विन २०७९

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जन्मसिद्ध नागरिकका सन्तानले वंंशजका आधारमा नागरिकता पाउनुपर्ने बताएका छन् ।विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग ओलीले सरकारले अहिले ल्याइएको नागरिकता विधेयकमा जन्मसिद्धका छोराछोरीलाई वंशजको नागरिकता पाउनेछन् भन्ने संशोधन थप गरी विधेयक ल्याउनुपर्ने धारणा राखे ।

अध्यक्ष ओलीले भने, ‘यो संशोधन विधेयक तीन दिनमा पास हुनेछ ।’ उनले नागरिकता विधेयक सम्बन्धमा सरकारले तनावको विषय बनाएर समस्या समाधान गर्न नखोजेको आरोप लगाए । उनले नागरिकता विषयका सम्बन्धमा गठबन्धन दललाई भोटको राजनीति नगर्न अनुरोध गरे ।

ओलीले संसद् बहस र विधिका आधारमा चल्नु पर्दछ भन्दै व्यक्तिले संसद् चलाउन खोज्नु मुलुकलाई अस्थिरतातर्फ धकेल्नु भएको धारणा राखे । पूर्वप्रधानमन्त्री ओलीले निर्वाचन मिति घोषणा भइसकेका अवस्थामा सरकारले कर्मचारी सरुवा र नियुक्ति गर्नु गलत कार्य भएको बताए ।

उनले निर्वाचन आयोगले निष्पक्ष तथा स्वतन्त्र निर्वाचनका लागि प्रशासन सञ्चालनको जिम्मा आफ्नो हातमा लिनुपर्ने र न्यायाधीशमार्फत निर्वाचन परिचालन गर्नुपर्ने सुझाव दिए ।उता नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो निर्वाचनमा समानुपातिकमा २० लाख मत पाउने दाबी गरेका छन् ।

मुस्लिम इत्तेहाद संगठन लुम्बिनी प्रदेशको शनिबार आयोजित भेलालाई सम्बोधन गर्दै उनले छोटो समयमा एकीकृत समाजवादीले जनताको मन जित्न सफल भएको बताए ।गएको स्थानीय तह निर्वाचनमा १० लाखको हाराहारीमा मत पाएको बताउँदै उनले आउँदो निर्वाचनमा दृढताका साथ होमिन आग्रह गरे ।

उनले देशको विकासका लागि पाँचदलीय गठबन्धन बनेकाले गठबन्धनलाई जिताउन सबै लाग्नुपर्ने बताए ।मुस्लिम इत्तेहाद संगठनले देशभरका प्रदेशमा भेला भइरहेकाले मुस्लिम एकजुट भई संगठन बलियो बनाउन उनले आग्रह गरे ।पार्टीका सबै संगठनलाई मजबुत बनाउने दायित्व सबै नेता–कार्यकर्ताको रहेकाले गाउँगाउँमा संगठन बलियो बनाउनुपर्नेमा नेता नेपालले जोड दिए ।

उनले गरिब र अत्याचारविरुद्ध लड्ने पार्टी एकीकृत समाजवादी रहेकाले आउँदो निर्वाचनमा अत्यधिक मत पाउने गरी काम गर्नुपर्ने बताए ।पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले छोरा र छोरीमा विभेद गर्न नहुने बताए । छोरीलाई पनि शिक्षाको पहुँचमा ल्याउनुपर्ने भन्दै उनले स्थानीय सरकार, प्रदेश सरकारले विशेष कदम चाल्नुपर्ने बताए ।

उनले मधेस प्रदेशले ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान सञ्चालन गरी छोरीलाई शिक्षाको पहुँचमा पुर्‍याउने प्रयास गरेको बताए । उनले मदरसालाई व्यवस्थित गराई सरकारी स्वामित्वमा ल्याउन र हज कमिटी गठनमा आफूले प्रयास गरेको बताए ।

कार्यक्रममा सहरी विकासमन्त्री मेटमणि चौधरीले नेपालको रक्षा गर्न मुस्लिम समुदायको महत्त्वपूर्ण भूमिका रहेको बताए । उनले एकीकरणको समयदेखि हालसम्म मुस्लिम समुदायले देशको रक्षाका लागि गरेको प्रयास प्रशंसनीय रहेको जिकिर गरे ।


Last Updated on: September 10th, 2022 at 7:11 pm

तपाईको प्रतिक्रिया