आइतबार १६ आश्विन २०७९

दाङ । स्वतन्त्र राजनीतिक शक्ति नेपालका अध्यक्ष रमेश खरेलले दानब र मानबबीचको लडाई आउने मंसिर ४ गतेको निर्वाचनमा हुन लागेको बताउनुभएको छ । दाङको घोराहीमा उम्मेदवारी घोषणा तथा आमसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष खरेलले अन्य पार्टीलाई दानबको संज्ञा दिँदै आफूहरु भने मानव रहेको दाबी गर्नुभयो । ‘आउने निर्वाचन दानब र मानवबीचको लडाई हो । यहाँ मानवले जित्नुपर्छ । दानवहरुलाई हराउनैपर्दछ,’ उहाँले भन्नुभयो, ‘हामीलाई भोट दिनुहोस । हामी अहिले यो रोष्टममा जे बोलेकाछौँ, त्यो पूरा गरेर छोड्छौँ ।’

खरेलले देश भ्रष्टाचारले गर्दा सकिन लागेको दाबी गर्नुभयो । पहिलो भ्रष्टाचार प्रधानमन्त्री कार्यालयबाटै हुने दाबी गरेका खरेलले अब पनि पूराना पार्टीहरुले जितेमा देश थप संकटमा पर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्रीले भ्रष्टाचार गर्दैन भनेपनि बोल्ने र गर्नेमा फरक हुँदा देश नबनेको बताउनुभयो ।

खरेलले अरु पार्टीले बोल्ने र गर्नेमा फरक व्यवहार देखाउने गरेकोप्रति रोष प्रकट गर्दै आफ्नो पार्टीले जे बोलेको छ त्यो पूरा गरेर छाड्ने दाबी गर्नुभयो । साथै उहाँले आफ्नो पार्टीलाई भोट दिनुपर्छ भन्ने नभएर यदि कोहि अन्य व्यक्ति असल लागेमा उनीहरुलाई भोट दिनका लागि पनि आग्रह गनुृभयो ।

कार्यक्रममा उम्मेदवारी घोषणा पनि गरिएको थियो । दाङ क्षेत्र नम्बर २ बाट संघीय संसदका लागि गीता रावतले उम्मेदवारी घोषणा गर्नुभएको छ । उाँहले उम्मेदवारी घोषणा गर्दै आउने चुनावमा जिताएमा जनतालाई सिँचाईको व्यवस्था गर्ने, मलको अभाव हुन नदिने, बृद्धाहरुलाई भ्रमण गराउने लगायत बाचा गर्नुभयो ।

यस्तै दाङ क्षेत्र नम्बर २ (क)बाट बेगम पाण्डेले उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँहरु दुबै जनाले स्वतन्त्र राजनीतिक शक्तिबाट उम्मेदवारी घोषणा गर्नुभएको हो । यस पार्टीको चुनाव चिन्ह बच्चा बोकेको आमा रहेको छ । आउने निर्वाचनमा त्यहि बच्चा बोकेको आमा चिन्हमा भोट गरेर निर्वाचनमा जिताउन स्वतन्त्र राजनीतिक शक्तिले आग्रह गरेको छ ।

स्वतन्त्र राजनीतिक शक्ति पार्टी विभिन्न ६ दल आवद्ध भएर बनेको पार्टी हो । नवगठिन स्वतन्त्र राजनीतिक शक्ति नेपालमा नेपाल सुशासन पार्टी, सचेत नेपाली पार्टी, नेपाल आमा पार्टी, उन्नत लोकतन्त्र पार्टी र नौलो जनवादी पार्टी आबद्ध भएका थिए ।


Last Updated on: September 10th, 2022 at 10:31 pm

तपाईको प्रतिक्रिया