
काठमाडौं । शाही युवा शक्ति नेपालले राजतन्त्र पुनः स्थापनको माग गर्दै धर्ना दिएको छ । शनिवार नारायणहिटी दरबार अगाडि रजतन्त्र पुनः स्थापनाको माग गर्दै प्रदर्शन एवं धर्ना दिएको हो ।
उनीहरुले गणतान्त्रिक व्यवस्था खारेज गरौँ, हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ, राजतन्त्र जिन्दावाद, हिन्दु राष्ट्र कायम गर्, राजा आउ देश बचाउ, राजा जनता एक हौँ, भ्रष्ट नेता मुर्दावाद लगायतका नारासहित बिरोध जनाएका थिए ।
उनीहरुले नागरिकता विधेयक अहिले जबरजस्ती ल्याइएको भन्दै नागरिकता विधेयक राष्ट्रघाती भएकोले समर्थन गर्न नसक्ने बताए । उनीहरुले श्रीपेच खोसेर लगाइदिन सक्ने चेतावनीसमेत दिए । उनीहरुले शान्तिपूर्ण ढंगबाट नेपाली सेना, नेपाल प्रहरी र जनतालाई साथमा लिएर व्यवस्था परिवर्तन गर्न चाहेको बताए ।
धर्ना दिँदै उनीहरुले श्रीपेच ज्ञानेन्द्र साहलाई नलगाए सार्वभौमिकता र धर्म सकिने बताए । उनीहरुले अहिले विदेशीको इसारामा देश लुट्ने शासन चलिरहेको भन्दै आपत्ति जनाए ।उता नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका कारण संघीयतामाथि नै प्रश्न उठिरहेको आरोप लगाएका छन्।
शनिबार काठमाडौं महानगरपालिका वडा नं १० मा निर्माण सम्पन्न भएको कुमाले धारा तथा पार्क उद्घाटन कार्यक्रममा बोल्दै उनले ओली नेतृत्वको सरकारले समयमा कानुन बनाएर दिनुपर्ने अधिकार नदिएका कारण स्थानीय र प्रदेश सरकारमाथि प्रश्न उठेको बताएका हुन्।
कार्यक्रममा उनले राजनीति दल खोल्नु नाङ्लो पसल राख्नु जस्तो नभएको पनि बताए। नयाँ दल खोलेर परिवर्तन गर्छु भन्नेको हालत के छ भनेर प्रश्न गर्न सर्वसाधारणलाई आग्रह समेत गरे। कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का सांसद समेत रहेका सिंहले बुद्धि भएका र काम गर्न सक्ने जनशक्ति विदेशिनबाट रोक्नु पर्ने बताए।
उनले त्यसका लागि हरेक निर्वाचन क्षेत्रमा सीपमूलक तालिम केन्द्र खोल्न जोड दिए। नेता सिंहले ट्रयाकबाट बाहिर गएको मुलुकलाई ट्रयाकमा ल्याउने काम कांग्रेस गठबन्धनको सरकारले गरिरहेको उल्लेख पनि गरे। आगामी निर्वाचनमा जितेर कांग्रेसले देशमा राजनीतिक स्थायित्व कायम गरी सम्पन्नताको अभियान सुरु गर्ने समेत बताए।