बुधबार १९ आश्विन २०७९

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचन सुरक्षामा खटिन १ लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि आवेदन खुला भएको छ । प्रहरी प्रधान कार्यालयले ४० दिनको सेवा अवधिका लागि १ लाख १५ हजार म्यादी प्रहारीको भर्ना खुला गरेको हो ।

यही भदौ ३० गतेदेखि असोज ६ गतेसम्म कार्यालय समयमा फाराम भर्न सकिनेछ । सार्वजनिक बिदाका दिन पनि आवेदन लिइने सूचनामा उल्लेख छ । जिल्ला प्रहरी परिसर काठमाडौं, भक्तपुर र ललितपुरसँगै सबै जिल्ला प्रहरी कार्यालयमा आवेदन बुझाउन सकिनेछ ।

यसअघि २०७४ सालमा भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचन र गत असारमा सम्पन्न स्थानीय तहको निर्वाचनका बेला भर्ना भएका म्यादी प्रहरीलाई यसपटक प्राथमिकता दिइने भएको छ । यस्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विभिन्न पदमा आवेदन भरी शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भइ प्रवेशपत्र पेस गर्नेहरूलाई पनि प्राथमिकता दिइने जनाइएको छ ।

आवेदक दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ । त्यस्तै नेपाली नागरिक हुनुपर्ने, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको, राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रूपले स्वस्थ रहेको हुनु पर्ने छ ।

त्यस्तै कुनै पनि सङ्गठनको सदस्य नरहेको, आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको, पुरुषको हकमा घटीमा उचाइ ५ फिट २ इन्च, छाती ३१-३३ इन्च, तौल ५० के.जी. र महिलाको हकमा घटीमा उचाइ ५ फिट, तौल ४२ के.जी.भएको तथा गर्भवती नभएको हुनुपर्नेछ ।

प्रहरी प्रधान कार्यालयका अनुसार दरखास्त अवधि सकिएको भोलीपल्ट अर्थात असोज ७ गते आबेदन दिएको ठाउमा सम्पर्क राख्नु पर्ने छ ।असोज ९ देखि १४ सम्म भर्ना छनोट गरिसक्नु पर्ने छ । त्यसबीच दसैं परेकोले म्यादी भर्नाको नतिजा भने असोज २५ मा मात्रै गरिने छ ।

यसी छनोट भएकालाई असोज ३० देखि कात्तिक ८ सम्म मा तालीम गराएर कात्तिक ९ बाट चुनावी सुरक्षामा परिचालन गरिने छ । तालीम प्रहरीबाट गराइने र कार्यअवधिभर प्रहरीकै कमान्डमा रहेर म्यादीले सुरक्षा जिम्मेवारी निर्वाह गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।

म्यादी प्रहरीलाई छनौट भइसकेपछि कार्यअवधि नसकिएसम्मलाई कडा आचारसंहिता र मापदण्ड पालना गर्नुपर्ने शर्त भर्ना छनोट मापदण्डमै उल्लेख छ । कार्यअवधिभर सामाजिक सञ्जालमा टीकाटिप्पणी तथा जथाभावी सामग्री राख्न र सेयर गर्न पाउन छैनन् ।

गृह मन्त्रालयले स्वीकृत म्यादी प्रहरीसम्बन्धी ‘भर्ना छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड–२०७९’ मा ड्युटीमा रहँदा मर्यादा बाहिर गएर निर्वाचनसम्बन्धी धारणा राख्न र अनावश्यक सामग्री पोस्ट गर्न पाइने छैन । ड्युटीको समयमा मोबाइल फोन प्रयोग गर्न रोक लगाइएको छ ।

आफ्नो काम अरु सहकर्मीलाई बुझाएर बाहिर हिँड्न पाइने छैन । मापदण्डविपरीत गतिविधि गरे म्यादीलाई तत्काल जिम्मेवारीबाट बर्खास्त गरी कारबाही गर्ने सम्मका प्रावधान मापदण्डमा उल्लेख छ ।म्यादीले ४० दिनको तलब/भत्ता, खाजा खर्चलगायत एकमुष्ट ५० हजार १ सय ६० रुपैया पाउने छन् ।

स्थानीय तह निर्वाचनको तुलनामा म्यादीलाई करिब ६ हजार रुपैयाँ बढी दिन लागिएको हो । सबै राष्ट्रसेवकको तलब साउन १ बाट १५ प्रतिशत बढाएका कारण म्यादीले पाउने रकम पनि बढेको छ ।


Last Updated on: September 11th, 2022 at 9:42 am

तपाईको प्रतिक्रिया