शुक्रबार १४ आश्विन २०७९

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले अनधिकृत संरचना हटाउने विषयमा विवाद हुँदा थर्काएका अल्फाबिटाका सञ्चालक द्धिराज शर्मा सिवाकोटीलाई फाइदा हुने गरी नेकपा एमालेले निर्णय गरेको छ ।

आगामी निर्वाचनका लागि एमालेको तर्फबाट उम्मेदवारमा सिफारिस गर्दै उनलाई फाइदा हुने निर्णय गरेको हो ।मेयर बालेनसंगको विवादका कारण चर्चा आएका शर्मालाई एमालेको तर्फबाट चुनावी मैदानमा उतार्न सिफारिस गरेको छ । उनीसंगै सो क्षेत्रका लागि केहीको नाम पनि सिफारिसमा उल्लेख गरिएको छ ।

आउँदो मंसिर ४ गते हुने संसद्को चुनावका लागि काठमाडौँको क्षेत्र नम्बर १ बाट शर्मा प्रतिनिधिसभा सदस्यका लागि सिफारिसमा परेका हुन । क्षेत्रीय कमिटीले उनलाई उम्मेदवार चयन गर्न पार्टी केन्द्रमा सिफारिस गरेको हो ।विगत २५ वर्षदेखि शिक्षा, स्वास्थ्य, कृषि, ऊर्जालगायत विभिन्न व्यावसायिक क्षेत्रमा सक्रिय शर्मा नेपाल उद्योग परिसंघ र अन्य व्यावसायिक सङ्गठनहरूमा पनि आबद्ध भई नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् ।

शर्मासँग अमेरिका, युरोप लगायत विभिन्न मुलुकहरूको शैक्षिक, सामाजिक तथा आर्थिक प्रणालीलाई नजिकबाट अध्ययन गरेको विज्ञता समेत छ । विशेष गरी शैक्षिक क्षेत्रमा अमेरिका, क्यानडा अस्ट्रेलिया, युरोप, अमेरिका, बेलायत, चीन र भारत लगायतका मुलुकहरूले अवलम्बन गरेका नीति तथा प्रणालीका जानकार उनी नेपालले समयसापेक्ष अपनाउनुपर्ने शैक्षिक प्रणाली र यहाँको शिक्षालाई विश्व स्तरीय बनाउन लिनुपर्ने कदमहरूको योजना भएका व्यक्ति मानिन्छन् ।

शर्मा चर्चित झापा विद्रोहका अभियन्ता शिवप्रसाद शिवाकोटीका छोरा हुन्। । शिवाकोटी, रामनाथ दाहाल, केपी ओलीलगायतका नेताहरूले झापा विद्रोह गरेको र तत्कालीन राज्यको नियन्त्रणका कारण शिवाकोटीले परिवार निर्वासित जीवन जिउनुपरेको, सम्पत्ति राष्ट्रियकरण गरिएको थियो ।

नेकपा एमाले क्षेत्र नं १ को क्षेत्रीय कमिटीले शर्मासहित रूपनारायण श्रेष्ठ, विदुर मैनाली, टिकाराम भट्टराई र केशव घिमिरेको नाम सिफारिस गरेको छ ।


Last Updated on: September 11th, 2022 at 11:46 am

तपाईको प्रतिक्रिया