बुधबार १९ आश्विन २०७९

काठमाडौं । एमाले सांसद तथा पूर्व डिआइजी नवराज सिलवालमाथि मिटरब्याजसम्बन्धि अपराधमा छानबिन सुरु भएको छ ।सिलवालविरुद्ध पनि उजुरी परेपछि सरकारले गठन गरेको समितिले प्रारम्भिक छानबिन गरेर प्रहरीमा प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

सिलवालविरुद्ध चितवनका गुनबहादुर थापाले उजुरी गरेका हुन् । सिलवालले आफ्नो सात करोडको जग्गा राजीनामा पास गरेर लिएको र अहिले पनि वकिल मार्फत धम्काउने गरेको दाबी थापाले गरेका छन् ।

आफुले सिलवालसँग तीन करोड एक लाख रुपैयाँ लिएको र त्यसको ६ महिनापछि नै चार करोड ७६ लाख रुपैयाँ फिर्ता गरेको थापाको दाबी छ । तर, पछि मकवानपुरको सात करोड रुपैयाँ बराबरको जग्गा पास गरेर लिएको उनको उजुरीमा उल्लेख छ ।

प्रहरीमा हुँदा पदको दुरुपयोग गरी आफुलाई झुटा मुद्दामा फसाएको समेत उनको भनाई छ । अहिले पनि वकिल केदार उप्रेतीमार्फत आफुमाथि धम्काउने गरेको भन्दै उनले सिलवालमाथि कारबाहीको माग गरी उजुरी दिएका छन् ।सहसचिव डा भीष्मराज भुषाल नेतृत्वको टोलीले मिटरब्याजसम्बन्धि समस्याको छानबिन गरिरहेको छ ।

सिलवालसहित करिब दुई हजार व्यक्तिविरुद्ध मिटरब्याजको उजुरी परेको छ । सिलवालले भने निर्वाचनको मुखमा नियोजित रुपमा बदनाम गर्न आफुविरुद्ध उजुरी गरेर प्रचार गरिएको बताएका छन् ।


Last Updated on: September 11th, 2022 at 9:53 pm

तपाईको प्रतिक्रिया