बुधबार १९ आश्विन २०७९

काठमाडौँ- बुध्द एयरले ९ महिनाको अवधिमै साढे ७ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । उक्त कम्पनीले सन् २०२२ को ९ महिनाको अवधिमा ७ अर्ब ६९ करोड ३० लाख (अपरिष्कृत) रुपैयाँ आम्दानी गरेको हो ।

आन्तरिक तथा बाह्य (भारत) मा हवाई उडानको सेवा प्रदान गर्दै आएको कम्पनी नेपालको सबैभन्दा ठूलो र पुरानो एयरलाइन्स कम्पनी हो । सन् १९९६ देखि हवाई उडानको सेवा प्रदान गर्दै आएको कम्पनीको अध्यक्ष सुरेन्द्र बहादुर बस्नेत हुन् ।व्यवस्थापन निर्देशकमा उनकै छोरा विरेन्द्रबहादुर बस्नेत छन् ।

शिखर इन्स्योरेन्स कम्पनीको ६ प्रतिशत हिस्सा रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ७५ करोड ८० लाख रुपैयाँ र १ करोड ८० लाख अमेरिकी डलरको रेटिङ गराएको छ ।कोभिड–१९ का कारण कम्पनीको व्यापार निकै खस्किएको थियो ।

जसले गर्दा लिएको ऋणमा इक्रा नेपालले वाचलिस्टमा राखेको थियो । तर, कोरोनापश्चात सन् २०२२ को ९ महिनाको अवधिमा उच्च आम्दानी गरेकाले कम्पनीलाई वाचलिस्टबाट हटाइएको छ ।कम्पनीअनुसार सन् २०२२ को ९ महिनाको अवधिमा आन्तरिक हवाई उडानमा यात्रुको संख्या उल्लेख्य बढ्दा राम्रो आम्दानी गरेको जनाएको छ ।

साथै, आगामी दिनमा समग्र पर्यटकको संख्या बढ्दै जाने र आम्दानी पनि बढ्ने कम्पनीको भनाइ छ ।कोरोना महामारीका कारण सरकारले लगाइएको लकडाउन तथा कडाइले गर्दा दुई आर्थिक वर्ष कम्पनीको आम्दानी निकै घटेको थियो । तर, कोरोनापछि सन् २०२२ मा मासिक ८५ करोड ५० लाखको हाराहारीमा आम्दानी गरेको छ ।

त्यसैगरी, कम्पनीले अन्तर्राष्ट्रिय उडानबाट पनि उच्च आम्दानी गरेको छ । कम्पनीले सन् २०२१ मा आम्दानी गरेकोमध्ये १ प्रतिशत ओटेकोमा सन् २०२२ को ९ महिनाको अवधिमा ३ प्रतिशत हिस्सा ओगटेको छ ।


Last Updated on: September 12th, 2022 at 10:33 am

तपाईको प्रतिक्रिया