आइतबार १६ आश्विन २०७९

एमाले अध्यक्ष केपी शर्मा ओलीले राम जन्मभूमि अयोध्याको बारेमा आफूले गर्दै आएको दाबीलाई शास्त्र र तथ्यले अन्यथा भन्छ भने स्वीकार्न तयार रहेको बताएका छन् । उनले अयोध्याको विषय आफूले पोलिटिकल स्टन्टका लागि नउठाएको भन्दै इतिहासको यथार्थलाई उजागर गरेको बताए ।

‘राम जन्मेकै अयोध्या (माडी) मा हो, डेढ सय वर्षअघि मात्रै अंग्रेजहरूले त्यहाँका हिन्दु र मुसलमानलाई खुसी पार्नका लागि एकातर्फ फैजावाद र अर्कोतर्फ अयोध्या भने,’ उनले भने, ‘यो सत्यतथ्यलाई मैले खाली उजागर गरेको हुँ । यदि शास्त्र र तथ्यले अर्को भन्छ भने म त्यस विषयमा ओपन नै छु ।

मेरो कुनै आग्रह होइन, इतिहासलाई यथार्थ ढंगले चलाउनुपर्‍यो । यो प्रश्न पोलिटिकल स्टन्टसँग जोडिएको प्रश्न होइन । इतिहास र सभ्यतासँग जोडिएको प्रश्न हो ।’ओलीले यसअघि राम नेपालमा जन्मिएको र अयोध्या चितवनको माडी क्षेत्रमा रहेको दाबी गर्दै आएका थिए ।

भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) का नेताहरूले ओलीको भनाइप्रति असन्तुष्टि जनाउँदै आएका छन् । राम जन्मभूमिको विषय भारतीय राजनीतिको प्रमुख मुद्दा बन्दै आएको छ । ओली प्रधानमन्त्री हुँदा माडी क्षेत्रका लागि विशेष बजेटसमेत छुट्याएका थिए ।

कार्यक्रममा अध्यक्ष ओलीले अहिलेको सरकार भारतले अतिक्रमण गरेको आफ्नो भूभाग फिर्ता ल्याउने विषयमा पनि गम्भीर नभएको आरोप लगाएका थिए ।‘गुमेको भूभाग समेटेर मैले आफ्नो नक्सामा सार्वजनिक गरें, त्यो भूभाग ६० वर्षअघि गुमेको हो ।अहिले गुमेको होइन नि ।

मैले नक्सा बनाएर, संविधान संशोधन गरेर आफ्नो भूभागको रूपमा स्थापित गरें,’ उनले भने, ‘भारतसँग हामीले कुरा गर्नुपर्छ तर अहिलेको सरकार त्यस विषयमा बोल्ने पनि हिम्मत गर्दैन । त्यो भूभाग हाम्रो होइन भने होइन भन्नुपर्‍यो, हो भने वार्ता गर्न सक्नुपर्‍यो । भारत सरकारलाई पत्र लेख्नुपर्‍यो, हामी कुरा गर्छौं भन्नुपर्‍यो । के हो अहिलेको सरकारको दृष्टिकोण ? मौनधारण किन ?’


Last Updated on: September 12th, 2022 at 10:44 am

तपाईको प्रतिक्रिया