‘डेन्जर जोन’ मा प्रचण्ड, आफुले चुनाब जित्न पनि गठबन्धन गोगाउनु पर्ने बाध्यता – Gandaki Chhadke
Friday, August 12

‘डेन्जर जोन’ मा प्रचण्ड, आफुले चुनाब जित्न पनि गठबन्धन गोगाउनु पर्ने बाध्यता

August 3, 2022

काठमाडौँ

दुई पटकका प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भने आगामी निर्वाचनमा पनि कांग्रेसकै भर पर्नुपर्ने निश्चित छ । एक्लै लड्दा उनी ‘डेन्जर जोन’ मा छन् ।

उनको निर्वाचन क्षेत्र चितवन-३ हो । जहाँ उनी २०७४ को निर्वाचनमा एमालेसँगको गठबन्धनमा जितेका थिए । उतीबेला उनले ४८ हजार २७६ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेससँगको तालमेलमा लडेका राप्रपाका बिक्रम पाण्डेले ३८ हजार ९३५ मत ल्याएका थिए ।

यो निर्वाचन क्षेत्रमा भरतपुर महानगरपालिकाका वडा नम्बर ६, ८, ९, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७ र २८ गरी १९ वडा र माडी नगरपालिकाका सबै नौ वडा समावेश छन् ।

गएको स्थानीय तह निर्वाचनमा पाँचदलीय गठबन्धनको सहारामा प्रचण्डपुत्री रेनु दाहाल भरतपुर महानगर मेयरमा पुनः निर्वाचित भएकी छन् । यद्यपी उनको जीत गठबन्धनकै भरमा सम्भव देखिएको वडागत नतिजाले पनि देखाउछ ।

प्रचण्डको निर्वाचन क्षेत्रमा पर्ने भरतपुर महानगरका १९ वडामध्ये सबैभन्दा बढी १० वडा कांग्रेसले जितेको छ । यस्तै एमाले र माओवादी केन्द्रले ३-३ वडा जितेका छन् भने नेकपा एसले २ र १ वडा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

यस्तै माडी नगरपालिकामा राप्रपा र एमालेको गठबन्धनबाट एमालेले मेयर जितेको छ । उपमेयरमा भने कांग्रेस जितेको छ । वडागत नतिजामा माओवादी केन्द्रले ४, राप्रपा र नेकपा एसले २र२ र एमालेले १ वडा जितेको छ ।

योसँगै प्रचण्डको यो निर्वाचन क्षेत्रका २८ वडामध्ये सबैभन्दा बढी १० वडा कांग्रेस, ७ वडा माओवादी केन्द्र, नेकपा एमाले र नेकपा एस ४÷४ वडा राप्रपा २ र स्वतन्त्र १ वडा जितेका छन् ।

वडाध्यक्षका उम्मेदवारहरूले पाएको मतमा एमाले पहिलो देखिन्छ । उसका वडाध्यक्षका उम्मेदवारहरूले कुल २९ हजार ७७१ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवारहरूले २९ हजार ३४३ मत प्राप्त गरेका छन् ।

माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारहरूले जम्मा १० हजार ९४० मत मात्रै प्राप्त गरेका छन्, भने राप्रपाका उम्मेदवारहरूले ६ हजार १९८ मत पाएका छन् ।

नेकपा एसका वडाध्यक्ष उम्मेदवारहरूले यो क्षेत्रमा ५ हजार ३७ मत पाएका छन् भने जसपाले ७२ मत बटुलेको छ ।

यसरी जुनसुकै कोणबाट हेर्दा पनि प्रचण्डलाई निर्वाचन जित्न गठबन्धनकै भर पर्नुपर्ने देखिन्छ । नभए एक्लाएक्लै लड्दा उनलाई हारबाट जोगाउन चितवनका जनताले ठूलै उलटफेर गर्नुपर्ने अवस्था छ ।

Comment