शुक्रबार १४ आश्विन २०७९

खोटाङ। जिल्ला अस्पताल खोटाङमा शल्यक्रियामार्फत प्रसूति गराउने सेवा अनिश्चित कालका लागि बन्द भएको छ। दिक्तेलस्थित जिल्ला अस्पतालमा कार्यरत ‘एनेस्थेसियन’ बिदामा बसेपछि सेवा बन्द गरिएको अस्पतालले सूचना प्रकाशन गरेर जानकारी दिएको हो।

जिल्ला अस्पताल खोटाङमा एनेस्थेसियाका एक मात्र कर्मचारी दुर्घटनामा गोडा भाँचिएर बिदामा बसेकाले तत्कालका लागि शल्यक्रिया सेवा बन्द गरिएको प्रमुख चिकित्सक डा. नितु लामाले जानकारी दिइन्। ‘एनेस्थेसियाका सहायकस्तरका कर्मचारी एक जना मात्र हुनुहुन्छ’, उनले भनिन्, ‘दुर्घटनापछि उहाँ बिदामा बसेको २० दिन भयो।

सम्बन्धित कर्मचारी नहुँदा अन्य कर्मचारीले उक्त काम गर्न मिल्दैन। अरुले गर्दा खतरा हुने भएकाले शल्यक्रिया सेवा नै बन्द गरिएको हो।”कर्मचारी अभावका कारण कुनै विकल्प नहुँदा नागरिकलाई अगाडि नै जानकारी होस् भनेर औपचारिकरूपमा सूचना जारी गरेर गर्भवतीको शल्यक्रिया सेवा नै बन्द गरिएको अस्पतालले जनाएको छ।

प्रमुख लामाले अर्को कर्मचारी व्यवस्थापन गर्न सम्बन्धित निकायमा कुरा भइरहेकाले चाँडै उक्त सेवा पुनः सञ्चालनमा ल्याउने बताईन। जिल्लाको एकमात्र सरकारी अस्पतालमा गर्भवती दैनिकजसो आउने र कतिपय गर्भवतीमा विभिन्न कारण प्रसूति गराउन शल्यक्रिया नै गर्नुपर्ने अवस्था भएपछि समस्या भएको स्वास्थ्यकर्मीले बताएका छन्।

१० स्थानीय तह रहेको जिल्लामा २०७६ असारदेखि जटिल किसिमका गर्भवतीलाई शल्यक्रिया गरेर प्रसूति गराउने सेवा सञ्चालनमा ल्याइएको थियो। जिल्ला अस्पतालमा प्रसूति गराउने गर्भवती तथा जटिल किसिमका बिरामीलाई उपलब्ध गराइँदै आइएको शल्यक्रिया सेवा बन्द भएपछि सेवाग्राही चिन्तित बनेका छन्।

जिल्लाका अन्य अस्पतालमा गर्भवती तथा अन्य जटिल किसिमका बिरामीको लागि शल्यक्रिया सेवा नभएपछि सेवाग्राही चिन्तित बनेका हुन्। शल्यक्रिया बन्द भएसँगै जिल्लाका शल्यक्रिया गर्नुपर्ने अवस्थाका गर्भवती तथा अन्य किरामीलाई राजधानी काठमाडौँ तथा तराईका सुविधासम्पन्न अस्पताल लग्नुपर्ने भएको छ।

राजधानी काठमाडौँलगायतका सुविधासम्पन्न ठाउँमा लानुपर्दा कम्तीमा जिल्लामा दुई लाख ५० हजार रुपैयाँ सम्म खर्चेर हेलिकोप्टर चार्टर गर्ने गरिएको छ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको उत्तरी क्षेत्रका स्थानीय बासिन्दाका लागि ऐंसेलुखर्क र दक्षिणी क्षेत्रका स्थानीय बासिन्दाका लागि चिसापानीमा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा छन्। जिल्लाका दुवै प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि उनीहरू बस्दैनन्।


Last Updated on: September 12th, 2022 at 10:48 am

तपाईको प्रतिक्रिया