बुधबार १९ आश्विन २०७९

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आगामी चुनावसम्म जसरी पनि गठबन्धनलाई निरन्तरता दिन चाहन्छन् । गठबन्धनलाई सहज अवतरण गराउन व्यस्त बनिरहेका उनका अनुहारमा थकान र बोझ झल्किन्छ ।

तत्कालका लाभ–हानि हेरेर अंकगणितको व्यवहारवादी राजनीति गर्न सिपालु ७८ वर्षीय देउवा आफ्नै नेतृत्वमा चुनाव गराएर जनमतबाट छैटौं पटक प्रधानमन्त्री बन्ने योजनामा छन् तर गठबन्धनका पाँच दललाई मिलाएर चुनावमा जानु सहज छैन ।समानुपातिक उम्मेदवारको सूची बुझाउन ६ दिन बाँकी छँदा गठबन्धनभित्र प्रतिनिधिसभाको सिट संख्यामै सहमति जुटेको छैन ।

एकले अर्कोलाई गलाउने रणनीतिबाट गठबन्धन दलहरू टसको मस भएका छैनन् ।प्रत्यक्षतर्फका सिटमा भागबन्डा नटुंगिँदा समानुपातिक उम्मेदवार छनोट गर्न अन्योल भएको छ । प्रत्यक्षमा वञ्चित हुने नेतालाई समानुपातिकमा राखेर असन्तुष्टि व्यवस्थापन गर्नुपर्ने भएकाले गठबन्धनलाई अबको एक–दुई दिनभित्रै निकास दिनुपर्ने बाध्यतामा उनी छन् ।

‘एकातिर विभिन्न शक्तिकेन्द्रले गठबन्धन भत्काइदिन सक्ने संशय, अर्कोतर्फ गठबन्धनका सहयात्री दलहरूका अनावश्यक माग र पार्टीभित्रको दबाबका कारण उहाँले आफ्नो निर्वाचन क्षेत्रको चिन्ता गर्ने समयसमेत पाउनुभएको छैन,’ देउवानिकट एक नेताले भने ।

अर्कातिर श्रीमती आरजु राणालाई जिताउनैपर्ने दबाब पनि देउवामाथि छ । चुनाव जितेर प्रधानमन्त्री हुने महत्त्वाकांक्षा राखेकी आरजुलाई यसअघि हारेको निर्वाचन क्षेत्र कैलाली–५ बाटै चुनाव लडाउने उनको तयारी छ । त्यसका लागि अहिल्यैदेखि पार्टीभित्रका असन्तुष्टलाई बालुवाटार बोलाएर फकाउन र स्थानीय तहमा प्रभाव जमाएका व्यक्ति र क्षेत्रीय पार्टीलाई पक्षमा पार्न देउवाले कसरत गरिरहेका छन् ।

आरजुलाई चुनाव जिताएर आगामी पाँच वर्षभित्रै प्रधानमन्त्री बनाउने तयारीसमेत भइरहेको चर्चा राजनीतिक वृत्तमा छ । आफ्नो स्वीकार्यता बढाउन आरजुले पार्टी र गठबन्धन दलबीचमा मात्रै नभई भारतीय संस्थापनलाई समेत रिझाउन खोजेको कतिपयको बुझाइ छ ।कान्तिपुर


Last Updated on: September 12th, 2022 at 10:55 am

तपाईको प्रतिक्रिया