मंगलबार १८ आश्विन २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मधेश झरेका छन् । नेपाली कांग्रेस धनुषाका पूर्वउपसभापति सन्तोष यादव, पूर्व राज्यमन्त्री अरबिन्द साहलगायतका नेता कार्यकर्ताहरूलाई एमालेमा भित्र्याउन अध्यक्ष ओली जनकपुरधाम आएका हुन् ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाउन खोजेको भन्दै प्रहरीले जनकपुरधाममा ११ जनालाई पक्राउ गरेको छ। जनकपुर विमानस्थलबाट कार्यक्रम स्थलतर्फ जाँदै गरेका ओलीलाई आज कालो झन्डा देखाउन खोजेको आरोप उनीहरूमाथि छ।

कालो झन्डा बोकेर बसेकाहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। ११ जनालाई नियन्त्रणमा लिइए पनि उनीहरूको नाम भने प्रहरीले खुलाएको छैन। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले कालो झन्डा लिएर बाटोमा बसेका युवाहरूलाई पक्राउ गरिएको बताए।

प्रहरी स्रोतका अनुसार ती युवाहरू नागरिकताविहीन छन्। संसदको दुवै सदनबाट पारित नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइएको छ। तर एमालेको विरोधका बीच नागरिकता विधेयक प्रमाणीकरणमा ढिलाइ भइरहेको आरोप लगाउँदै युवाहरूले कालो झन्डा देखाउन खोजेका थिए।

यो पनि – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन देशका लागि कुनै पनि हिसाबले हितकर नरहेको बताएका छन्। नेपाल बुद्धिजीवी परिषद्को प्रथम मधेस प्रदेश अधिवेशनमा बोल्दै अध्यक्ष ओलीले राजनीतिक, धार्मिक र सामाजिक, साँस्कृतिक हिसाबले पनि वर्तमान गठबन्धन सरकार देश र जनताका लागि घातक रहेको आरोप लगाए।

सोमबार जनकपुरधाममा बोल्दै अध्यक्ष ओलीले गठबन्धनले समग्र प्रणालीलाई नै संकटमा पार्ने काम गरिरहेको आरोप लगाए। उनले मंसिर ४ गते देशले ज्यादै महत्वपूर्ण निर्णय गरिरहेको बताउँदै यस निर्वाचनले देशको भाग्य र भविष्य कोर्ने दाबीसमेत गरे।

उनले भने, ‘आगामी मंसिर ४ मा हुने निर्वाचनले देश कता जाने भन्ने सम्बन्धमा जनताले महत्वपूर्ण निर्णय लिनेछन्।’पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले सबैले मिलेर सबैका लागि समृद्ध नेपाल र सुखी नेपाली बनाउने अठोटका साथ आगामी निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार बनाउन उनले आग्रह गरे।


Last Updated on: September 12th, 2022 at 2:58 pm

तपाईको प्रतिक्रिया