Monday, August 15

कारभित्र २ सन्तानको मृत्यु , २१ वर्षिय आमा पक्राउ

August 4, 2022

टोकियो ।

खानागावा प्रिफेक्चरको आसुगीमा प्रहरीहरुले २१ वर्षिय युवतिलाई पक्राउ गरेका छन् । आमाले लापरवाही गर्द दुई सन्तानको कारभित्र हिटस्ट्रोकका कारण मृत्यु भएको आशंकामा उनलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार रेइना नागासावा नामक ती युवतिका २ वर्षकी छोरी र एक वर्षीय छोरालाई जुलाई २९ मा हिटस्ट्रोक भएको थियो । केटाकेटीको साथमा बोसाई नो ओका पार्कमा खेल्न भनेर आएको समयमा कारभित्रै भएको समयमा ती दुई बालकहरुलाई हिटस्ट्रोक भएको थियो ।

दुबै बच्चा कारको पछाडिको सिटमा थिए । नागासावाले साँझ ४ः५० बजेतिर ११९ मा फोन गरेर करीब ३० मिनेटसम्म छोराछोरीले हलचल गर्न नसकेको भनेर जानकारी गराएकी थिइन् ।

केटाकेटीहरुलाई तत्कालै अस्पताल लगिएको थियो । अस्पताल पुर्याउँदासम्म बालकको मृत्यु भइसकेको थियो ।

बालिकाको अवस्था पनि गम्भीर थियो । उनको पनि मंगलबार मृत्यु भएको र मृत्युको कारण हिटस्ट्रोक नै भएको बताइएको छ । नागासावाले शुरुमा आफू पार्कमा आउँदा छोराछोरीहरु सुतिरहेको अनि उनीहरुलाई उठान नचाहेको बताएकी थिइन् ।

बच्चाहरु उठाउन मन नलागेर सुतिरहन दिएको अनि आफू पनि कारमै स्मार्टफोन चलाएर बसिरहेको, कारमा एसी बन्द भएको र झ्यालहरु चाँहि खुला भएको उनको बयान थियो ।

तर मंगलबार भने उनले प्रहरीलाई आफूले करीब एक घन्टासम्म एक परिचितसँग भेटघाट गर्दा बच्चाहरु कारभित्र एक्लै भएको बताएकी थिइन् ।

परिचितलाई भेटेर उनी बोसाई नो पार्कमा आएकी थिइन् । उनको लापरवाहीका कारण बच्चाहरुको मृत्यु भएको आशंकामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Comment