Wednesday, August 10

अमेरिकी सभामुख फर्किएलगत्तै चीनले ताइवानतर्फ २७ वटा सैन्य विमान पठायो

August 4, 2022

काठमाडौं ।

अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणबाट फर्किएलगत्तै चीनले ताइवानको सिमाना वरपर सैन्य अभियान सुरु गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजियान झाओले ट्वीट गरेर सैन्य अभियान सुरु गरेको जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘पीएलए (चिनियाँ जनमुक्ति सेना) ले ताइवानको आसपास एक संयुक्त सैन्य अभियान सुरु गरेको छ ।

चीन आफ्नो सम्प्रभुता र क्षेत्रीय अखण्डताको रक्षा दृढताका साथ गर्दछ ।’चीनले ताइवानको सिमानाभन्दा १६ किलोमिटर मात्रै टाढाको समुद्री क्षेत्र वरपर सैन्य अभ्यास थालेको छ ।

यो अभ्यास विश्वका केही व्यस्त जलमार्गहरुमा समेत हुने बीबीसीले जनाएको छ । ताइवानले २७ वटा चिनियाँ लडाकु विमान ताइवानको हवाई क्षेत्रमा प्रवेश गरेको बताएको समाचार एजेन्सी एएफपीले जनाएको छ ।

ती चिनियाँ लडाकु विमानलाई चेतावनी दिनका लागि आफूले पनि लडाकु विमान उडाउनु परेको ताइवानले जनाएको छ ।

सन् १९४९ मा कम्युनिस्टहरूले मुख्य भूमिमा गृहयुद्ध जितेपछि ताइवान र चीन छुट्टिएका थिए । ताइवान पुन: चीनकै भूभाग हुनुपर्नेमा चीनको जोड रहँदै आएको छ ।

Comment