आइतबार १६ आश्विन २०७९

काठमाडौं : धरानका मेयर हर्क साम्पाङ्गले निर्वाचनमा जनतामाझ आफूले गरेकाे वाचा पूरा गरेका छन्। धरानमा लामो समयदेखि अभाव हुँदै आएकाे खानेपानी उनले आपूर्ति गराएका छन्। आज धरानकाे बजारमा खानेपानी ल्याएपछि उनले खुशी व्यक्त गरेका छन् भने स्थानीयहरु पनि निकै हर्षित भएका छन्।

सर्दु, खर्दु निशाने मुहानकाे खानेपानी शहरमा आएपछि धरानमा सबै मिलेर खुशी मनाएका हुन्। फेसबुकमार्फत खुशी साट्दै साम्पाङ्गले लेखेका छन्, ‘आज अत्यन्तै खुशी छु म ! धराने जनतालाई सर्दु, खर्दु निशानेको पानी वितरण गर्न शहरमा पानी ल्याइपुर्‍याएका छौँ !

सम्पूर्ण सहयोगी, श्रमदाता तथा शुभचिन्तकहरुलाई हार्दिक धन्यवाद ! हामी जुट्नेछौँ ! यो देश माथि उठाउन हामी जुट्नेछौँ !’उनले शहरमा पानि ल्याएर सबै मिली रमाइलाे साटासाट गरेको भिडियाेसमेत फेसबुकमा पोष्ट गरेका छन्।

यो पनि – धरान उपमहानगरपालिकाको वडा नं. १३ मा रहेको आधारभूत सहरी स्वास्थ्य केन्द्रमा स्वास्थ्य जाँच गर्न आउने गर्भवती महिलाहरूलाई अण्डा उपहार दिन थालिएको छ । आइतबार देखि सुरु भएको यो अभियान अन्तर्गत पहिलो दिन १२ जनालाई प्रतिव्यक्ति १० वटा अण्डा उपहार दिएर अभियानको सुरुवात गरिएको छ ।

यो अभियान धरान-१३ मा पहिलो पटक सुरु गरिएको वडाध्यक्ष नेत्र प्रसाद काफ्लेले बताए । स्वास्थ्य केन्द्रमा स्वास्थ्य जाँच गर्ने गर्भवती महिलाहरूको गर्भ परीक्षण गर्न आउँदा अहिले सुरुवातमा १० वटाबाट सुरु गरिएको भए पनि १ क्यारेट सम्म दिने गरी लक्ष रहेको अध्यक्ष काफ्लेले बताए ।

पहिले मातृ शिशु स्वास्थ्य क्लिनिकबाट अहिले आधारभूत सहरी स्वास्थ्य केन्द्र बनेपछि हेल्थ असिस्टेन्टबाट स्वास्थ्य सेवा प्रवाह भइरहेको छ । केन्द्रबाट ४० प्रकारको औषधी समेत निःशुल्क वितरण भइरहेको केन्द्रका प्रमुख सरोज बास्तोलाले बताए । प्रदेश १ कै पहिलो बालमैत्री वडा घोषणा भएको धरान-१३ मा सुरु भएको यो अभियान पनि धरानमा पहिलो भएको दाबी गरिएको छ ।


Last Updated on: September 12th, 2022 at 8:59 pm

तपाईको प्रतिक्रिया