मंगलबार १८ आश्विन २०७९

रामेछाप । सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर मात्र होइन पारदर्शिता र आर्थिक अनुशासन माथि पनि प्रश्न उठ्ने गरेको छ ।विद्यार्थी सङ्ख्या बढी देखाएर पुस्तक तथा अन्य अनुदान बढी लिने मात्र होइन झोलामा विद्यालय बोकेर तलब खाएका घटना विगतमा बारम्बार सार्वजनिक हुने गरेका थिए ।

स्थानीय तह निर्वाचन भएपछि जनप्रतिनिधिको प्रत्यक्ष निगरानीमा सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर सुधार हुने अपेक्षा गरिएको थियो । केही विद्यालयको शिक्षा गुणस्तरमा सामान्य सुधार आएको छ । तथापि अझै पनि नेपालका सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरमा आशातीत सुधार हुन सकेको छ ।

गुणस्तर सुधारको लागि विद्यालय प्रशासन र शिक्षक मनैदेखि लागेको विद्यालयको शिक्षाको गुणस्तर निक्कै सुधार भएको छ । तर जागिरको लागि मात्र विद्यालय जाने र तलब पकाउने प्रधानाध्यापक र शिक्षक भएका विद्यालयको शिक्षाको गुणस्तर तथा व्यवस्थापकीय क्षेत्र झन् कमजोर हुँदै गएको छ ।

विद्यालय प्रशासनको चरम लापरबाही र विद्यालय व्यवस्थापन समिति तथा अभिभावकको बेवास्ताको सिकार विद्यालय र त्यसमा पढ्ने निर्दोष बालबालिका भइरहेका छन् । रामेछापमा एउटा यस्तो विद्यालय फेला परेको छ, जसले १० वर्षदेखि विद्यालयको लेखा परीक्षण समेत गराएको छैन ।

त्यो पनि कुनै आधारभूत विद्यालय होइन माध्यमिक विद्यालय । शिक्षामा यस्तो लापरबाही र अनियमितता अरू के हुन सक्ला ?रामेछापको लिखु तामाकोसी गाउँपालिका–२ सैपुमा रहेको सहिद स्मृति माविले आर्थिक वर्ष २०७०÷०७१ लेखा परीक्षण नगरेको फेला परेको छ ।

विद्यालयले हरेक वर्ष गर्नुपर्ने सामाजिक परीक्षण तथा लेखा परीक्षण नगरेको पाएपछि नव निर्वाचित वडाध्यक्ष सन्तोष पौडेलले सोमबार विद्यालय व्यवस्थापन समिति तथा शिक्षक र सरोकारवालाको बैठक राखेर ३५ दिन भित्र लेखा परीक्षण गराउने प्रतिबद्धता गराउनुभएको छ ।

बैठकमा हालसम्मको सामाजिक परीक्षण र लेखा परीक्षण गराउने निर्णय भएको छ ।सो विद्यालयमा कृष्णप्रसाद पौडेल प्रधानाध्यापक हुँदादेखि नभएको लेखा परीक्षण गराउन हालकी प्रधानाध्यापक सन्ध्या पौडेलले समेत वास्ता नगर्दा १० वर्षदेखि लेखा परीक्षण हुन सकेको छैन ।

लेखा परीक्षण नहुँदा विद्यालयको आयव्ययको कुनै हिसाब किताब छैन । आर्थिक नियमितता छ वा अनियमितता त्यसको मापन गर्ने ठाउँ समेत छैन । सामाजिक परीक्षण नगर्दा अभिभावक र सरोकारवालाको सुझाव लिने काम समेत भएको छैन ।

विद्यालय भगवान् भरोसाको भरमा चलेको छ । यसरी चलेको विद्यालयसँग कसरी गुणस्तरीय शिक्षाको परिकल्पना गर्ने ? प्रश्न खडा भएको छ ।


Last Updated on: September 12th, 2022 at 10:43 pm

तपाईको प्रतिक्रिया