शुक्रबार १४ आश्विन २०७९

३ दिने नेपाल भ्रमणमा रहेका चिनियाँ सभामुख चाङ्सु ली सहितको प्रतिनिधिमण्डलको टोली मंगलबार (२८ भदौ) बिहानैदेखि भेटवार्तामा व्यस्त छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा चाङ्सुले राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमल्सिना, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरिसकेका छन्।

संसद भवनमै सांसदहरुसँग केहीबेर भेट गरेर कालीमाटीस्थित होटल सोल्टीमा खाना खाने कार्यक्रम रहेको जनाइएको छ। चाङ्सु भेटवार्तामा ब्यस्त भइरहँदा काठमाडौंका सडक भने अस्तव्यस्त बनेका छन्। बिहानैदेखि काठमाडौंका सडकमा सवारी चाप बढेको छ।

ट्राफिक प्रहरी कार्यालय, काठमाडौंले समेत वैकल्पिक बाटो प्रयोग गर्न सर्वसाधरणलाई अनुरोध गरेको छ। आजै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्काबीच भेट हुने बताइएको छ। दिनभर जसो आज राजधानीका सडक जाम हुने हुँदा वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ।

उता चलचित्र निर्देशक तथा नायक निश्चल बस्नेतले उच्चस्तरीय (भिआइपी) भेटघाटका क्रममा सर्वसाधारणले सवारी जाम झेल्न परेकाेमा गुनासाे गरेका छन्। नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुसँग उच्चस्तरीय भेटघाटका कारण एम्बुलेन्सले समेत बाटाे नपाएकाे भन्दै गुनासाे पाेखेका हुन्।

मंगलबार सामाजिक सञ्जालमा लामाे सवारी जाम र त्यसैकाे बीचमा परेका बिरामी बाेकेकाे एम्बुलेन्सकाे तस्बिर सार्वजनिक गर्दै फेसबुकमा लेख्छन्, ‘कसैले ती भिआइपीलाई सुनाइदिनू.. तिम्रो सवारीमा बाधा नपुगोस् भनेर हाम्रा भिआइपीहरूले एम्बुलेन्सभित्र छटपटाई रहेको ज्यानसमेत दाउमा राखेका छन्।’

जति नै ठूलाे मान्छे आए पनि बिरामी बाेकेकाे एम्बुलेन्स राेक्न नहुने बताउँदै उनी भन्छन्, ‘तिनै ठूलो मान्छे आए पनि ट्राफिकले एम्बुलेन्सलाई रोकिन दिनु भएन, ज्यानभन्दा ठूलो सवारी कुनै भिआइपी हुनुहुँदैन।’


Last Updated on: September 13th, 2022 at 3:24 pm

तपाईको प्रतिक्रिया