शुक्रबार १४ आश्विन २०७९
कृति भट्टराई

प्रिय हुनेवाला श्रीमान्,हिजोदेखि भविष्यको बारेमा गहिराइमा पुगेर सोच्न पुगेँ अनि झल्यास्स तिम्रो याद आयो। अहिले तिमी को हौ मलाई थाहा छैन तर यति थाहा छ तिमी पछि मेरै हुनेछौ। तिमी अहिले के कस्तो छौ मलाई त्यो पनि थाहा छैन तर यति थाहा छ कि तिमी पछि असल श्रीमान, जिम्मेवार बाबु र उदाहरणीय छोरा हुनेछौ।

निधारमा ‘श्री’ लेखेर आएको रहेछौ, मलाई झेल्न बाध्य हुने भयौ। हुन त म त्यति साह्रो असजिली त छैन, समाज परिवर्तन भैरहँदा कहीँ कति कुरामा आफूलाई परिवर्तन गर्न नसक्नु मेरो कमजोरी छ। अचेल त बिहे गर्नुअघि हल्दी रे, मेहेन्दी रे, सङ्गीत रे, के-के हो के-के। मलाई फिटिक्कै मन नपर्ने यो संस्कार।

अहिलेको बिहे खर्च हेर्ने हो भने सामान्य परिवारको मान्छेले त बिहे नै गर्न सक्दैनन् होला। ओहो! कति खर्चिलो। म नि मध्यम वर्गमा नै पर्छु। खान लाउन कहिले दु:ख गर्न परेन। यसैगरी विकृति फैलाउन मन नै हुने हो भने त बाबाको १/२ वर्षको पसिना खेर फालम भने नसक्ने हैन तर अहँ!

म मेरो परिवारको पसिना फजुल कुरामा खर्च गर्न चाहन्नँ र यो विकृतिको त सदा विरोध गर्छु। भो, यो देखावटी मलाई चाहिएन। घरमा ममीले पटक पटक ‘तैँले घर गरी खान्नस्’ भनिरहँदा बिहे नगर्ने सोचमा नि आउँछु। तर फेरि सोच्छु, के थाहा तिमी सहयोगी पो छौ कि!

कमजोरीलाई सच्चाउने खालको पो छौ कि! नजानेको कुरा सिकाउने पो छौ कि! मैले यस्तै छौ भन्नी आश गरेरै बिहे त गर्छु भन्ने प्रण लिएकी हुन्छु। आशा छ, तिमी यस्तै हुनेछौ। पढेकी छु, सबै कुरामा जान्नी छु त म भन्दिनँ तर सिकायौ भने सिक्ने छु। मबाट गल्ती नै हुन्न त भन्दिनँ तर सम्झाइ बुझाइ गर्यौ भने गल्ती दोहोर्याउने पनि छैन।

यो महंगीको समयमा तिमीलाई मात्रै कमाउने जिम्मेवारी कदापि दिने छैन। हाम्रो घर बनाइरहँदा इँटा थप्ने काम, घरको छानो हाल्ने काम मबाट सदा रहने छ। नत्र हाम्रै घर त हो चुहिने, हाम्रै घरमा त हो प्वाल पर्ने। पढेअनुसार पेसा गरेर दुई चार पैसा कमाउन सदैव तत्पर नै रहनेछु।

तर यति भनिरहँदा घरको काममा नि तिमीले सघाउने छौ भन्ने दृढ विश्वास लिएकी छु। पुरुषवादले अझै जरा गाडेको देख्दा मलाई दिक्दार लाग्छ। परिवर्तन घरबाटै नै हुनु जरुरी हुन्छ। खाना पकाउँदा, सफा गर्दा, भाडा माझ्दा, सब्जी किन्न जान पर्दा होस् या अन्य घरका सामान्य काम गर्दा, हामी हजुरआमा नै खोज्छौ, आमा नै खोज्छौ, दिदी बहिनी नै खोज्छौ, महिला नै खोज्छौ।

तर म चाहान्छु मेरो छोराछोरीले सबै कुरामा महिला र पुरुषको जिम्मेवारी बराबर हुन्छ भन्नी सिकून्। त्यसको लागि तिमी उदाहरण हुनेछौ भन्ने सोचेकी छु। अनि सुन न एउटा कुरा, मलाई आफ्नो देश छोडेर अन्त विदेश जानु नै छैन। विदेश नगएर महल बनाउन सकिँदैन भने म झुपडीमै अटाउने छु, तर जे गरे नि यही गरौँ न है!

घरमा भएको सानोतिनो खेतमा तरकारी उब्जाउँला। थाहा छ तिमीलाई नेपालमा दिनहुँ करिब ६० लाखको तरकारी मात्रै भित्रिन्छ। घर नजिकको बारी बाँझो राखेर तरकारी किनेर खान मलाई फिटिक्कै मन छैन। फुर्सदमा हामी कहिलेकाहीँ खेतबारी नि जानुपर्छ र नेपालमै आफ्नो बारीमा उब्जिएको, विषादी नमिसिएको खानेकुरा खान पर्छ है?

हुन त तिमी नि कल्पना त गर्छौ होला कहिले कतै, कस्ती पर्ली भनेर। तिम्रा नि आफ्नै इच्छा आकांक्षा होलान्। मैले कदर गर्नुपर्ने हुन्छ। विचार नमिल्न सक्छ, हाम्रो चाहना नमिल्न सक्छन्। दुई मन, दुई आत्मा मिलाउन खोजिरहँदा यी सामान्य कुरालाई आत्मसाथ गर्दै उज्ज्वल भविष्य बारे हामी लाग्ने छौँ भन्ने विश्वास गरेकी छु।उहीँ तिम्री प्यारी कृति भट्टराई।


Last Updated on: September 13th, 2022 at 3:38 pm

तपाईको प्रतिक्रिया