Wednesday, August 10

२७ वटा चिनियाँ विमान ताइवानको हवाई क्षेत्रमा प्रवेश

August 4, 2022

एजेन्सी

अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणबाट फर्किएलगत्तै चीनले ताइवानको सिमाना वरपर सैन्य अभियान सुरु गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजियान झाओले ट्विट गरेर सैन्य अभियान सुरु गरेको जानकारी दिनुभएको छ ।

चीनले ताइवानको सिमानाभन्दा १६ किलोमिटर मात्रै टाढाको समुद्री क्षेत्र वरपर सैन्य अभ्यास थालेको र पाँच दिन लामो अभ्यास विश्वका केही व्यस्त जलमार्गहरुमा समेत हुने बीबीसीले जनाएको छ ।

ताइवानले २७ वटा चिनियाँ लडाकु विमान ताइवानको हवाई क्षेत्रमा प्रवेश गरेको जनाएको छ ।

जी–७ देशहरुको समूहले चीनको सैन्य अभ्यास जायज नभएको टिप्पणी गरेको बीबीसीले उल्लेख गरेको छ । अमेरिकी सभामुख पेलोसीको ताइवान भ्रमणको प्रतिक्रिया स्वरूप चीनले सैन्य अभ्यास घोषणा गरेको हो ।

छोटो तर विवादास्पद ताइवान भ्रमण सकेर अमेरिकी सभामुख पेलोसी फर्किसक्नुभएको छ । २५ वर्षमा ताइवान भ्रमण गरेकी सबैभन्दा वरिष्ठ अमेरिकी राजनीतिज्ञ पेलोसीले राजधानी ताइपेईमा शीर्ष नेताहरूसँग भेटवार्ता गर्नुभएको थियो ।

यो भ्रमणबाट चीन–ताइवान र चीन–अमेरिकाबीच विवाद बढेको छ ।चीनले यसअघि नै पेलोसीको भ्रमणलाई लिएर विरोध जनाएको थियो । पेलोसीले आफ्नो देशले ताइवानको साथ नछाड्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

ताइवानका राष्ट्रपति साई इङ्ग–वेनसँगको भेटमा उहाँले वर्तमान विश्वले लोकतन्त्र र निरङ्कुशतामध्ये एउटालाई रोज्नुपर्ने परिस्थितिको सामना गरिरहेको समेत बताउनुभएको छ ।

Comment