देउवाका ज्योतिषले जुराएकै साईतमा हुने भयो प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन – Gandaki Chhadke
Friday, August 12

देउवाका ज्योतिषले जुराएकै साईतमा हुने भयो प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन

August 4, 2022

काठमाडौं ।

सरकारले आगामी ४ मंसिरमा एकै चरणमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ४ मंसिरमै निर्वाचन गर्ने निर्णय गरेको हो । यसअघि निर्वाचन आयोगले ४ मंसिरमा एकै चरणमा निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गरेको थियो ।

सोहीअनुसार बिहीबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

प्रतिनिधिसभाअन्तर्गत एक सय ६५ र प्रदेशसभाअन्तर्गत तीन सय ३० निर्वाचन क्षेत्रमा निर्वाचन हुने भएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनको बुधबारको बैठकले ४ मंसिरमा निर्वाचन गर्ने सहमति गरेको थियो ।

यस अघि देउवाका ज्योतिषले आगामी ४ मंसिरमा निर्बाचन गर्न उपयुक्त हुने बताएका थिए ।

प्रधानमन्त्री देउवाको आफ्नो व्यक्तिगत चाहना, कांग्रेस पार्टीभित्रकै दबाब, निर्वाचन आयोगको सिफारिस र नागरिक समाजको पनि दबाबकै कारण मंसिर ४ मै निर्वाचन गर्ने तयारी देउवाले थालेको उनीनिकटस्रोत बताउँछ ।

यही कारण उनले सत्तारूढ गठबन्धनका शीर्ष नेतामाथि दबाब बढाएका हुन् ।स्रोतका अनुसार सत्ता राजनीतिका चतुर खेलाडी ‘रात रहे अग्राख पलाउँछ’ भनेजस्तै ढिलो गर्दा कांग्रेसलाई नै गाह्रो पर्छ भन्ने विषयमा सचेत देखिन्छन् ।

‘ढिलो गर्दा राजनीतिक शक्ति सन्तुलनमा समस्या आउने, सरकार अलोकप्रिय हुँदैजाँदा आउने समस्यादेखि प्रधानमन्त्री सचेत देखिन्छन,’ स्रोतले भन्यो, ‘यही कारण यथासक्य चाँडो निर्वाचन गरी कांग्रेसलाई बलियो बनाएर ढुक्कले पाँचवर्ष चलाउने उहाँको आफ्नो चाहना देखिन्छ ।’

यस्तै कांग्रेसभित्रै पनि कांग्रेसभित्र प्रतिनिधिसभाको आयु ५ वर्षभित्रै रहेका बेला नै निर्वाचन गर्नुपर्ने दबाब तीब्र छ ।

२०७४ मा मंसिर १० र २१ गतेगरी दुई चरणमा निर्वाचन भएको थियो । त्यसैले सो मितिअगावै निर्वाचन सम्पन्न गर्नुपर्ने दबाब कांग्रेसवृत्तमा छ । संस्थापनइतर पक्षमात्र नभई संस्थापन पक्षकै नेताहरू पनि यस विषयमा देउवामाथि दबाब दिँदै आएका छन् ।

यस्तै गत असार २२ गते निर्वाचन आयोगले मंसिर २ या ५ मध्ये एकदिन निर्वाचनको मिति तोक्न प्रधानमन्त्री देउवालाई भेटेर सिफारिस गरेको थियो । यसरी निर्वाचन आयोगबाट पनि मंसिरमै निर्वाचन गर्नुपर्ने दबाब सिर्जना भएको देउवाले बुझेका छन् ।

यस्तै नागरिक समाज र मिडियामा समेत मंसिरमै चुनाव नभए सरकारविरुद्ध अभियान चल्नसक्ने खतरा देउवाले देखेका छन् । यही कारण पनि उनी मंसिरमै चुनाव गराउन चाहन्छन् ।

Comment