बुधबार १९ आश्विन २०७९

काठमाडौं । अस्ट्रेलियाको सिड्नीमा बसेर पढिरहेकी एक २१ वर्षीया विद्यार्थी बैंकको गल्तीका कारण करोडौंकी मालिक बनिन् । यी युवतीले ११ महिनाको अवधिमा २६ लाख पाउण्ड (३८ करोड रुपैयाँ) खर्च गरिन् । उनले यति धेरै रकम विलासी जीवनशैली, डिजाइनर ह्याण्डब्याग लगायतमा खर्च गरेकी थिइन् ।

खासमा बैंकले गल्तीवश उनलाई ‘असीमित ओभरड्राफ्ट’को सुविधा दिएको थियो । बैंक ओभरड्राफ्ट भनेको बैंकले दिने यस्तो सुविधा हो जसमा खातावालाको खातामा पैसा नभए पनि निश्चित रकम निकाल्न मिल्छ । यी युवतीलाई असीमित ओभरड्राफ्टको सुविधा दिइएको थियो जसअनुसार उनले खातामा पैसा नभए पनि जतिसुकै रकम निकाल्न सक्थिन् ।

द सनका अनुसार मलेसियाकी क्रिस्टिन जियाक्सिन ली नामकी यी युवतीले त्यतिबेला सिड्नीमा बसिरहेकी थिइन् । बैंकबाट यस्तो सुविधा पाएपछि उनले पैसा निकालेर महंगो अपार्टमेन्ट समेत लिइन् र २५०० पाउण्डका दरले थुप्रै अन्य गोप्य बैंक खातामा समेत पैसा पठाइन् ।

उनी पक्राउ परेकी पनि थिइन् तर अदालतमा पेश गरिएपछि उनीमाथि लगाइएका आधराधिक आरोपहरु हटाइयो ।त्यसपछि उनी मलेसिया गइन् र अहिले लगभग भेट्न नसकिने अवस्थामा छिन् । सिड्नीमा केमिकल इन्जिनियरिङ पढिरहेकी लीलाई वेस्टप्याक बैंकले असीमित ओभरड्राफ्टको सुविधा दिएको थियो ।

बैंकले यो गल्ती करिब २ वर्षसम्म थाहा पाएन । यो अवधिमा लीले ११ महिनासम्म पैसा निकाल्दै खर्च गरिरहिन् । यो अवधिमा उनले २.६ मिलियन पाउण्ड निकालेको पाइएको छ ।बैंकले अप्रिल २०१५ मा यो गल्तीबारे थाहा पायो र बैंकका सिनियर म्यानेजरले उनलाई यति धेरै पैसा कहाँ भयो भनेर फोन गरेर सोधे ।

सुरुमा लीले यो पैसा आफ्नो खातामा आफ्ना अभिभावकले पठाएको भन्ने आफूलाई लागेको दावी गरिन् । उनका ब्वायफ्रेण्ड भिन्सेन्ट किंगले आफूलाई पैसाबारे केही थाहा नभएको बताएका छन् ।लीले आफूलाई पैसाको लागि पुलिसले खोजी गरिरहेको थाहा पाएपछि उनले आकस्मिक रुपमा मलेसियाको पासपोर्ट लिएको विश्वास गरिएको छ ताकि उनी देशबाट भाग्न सकुन् ।

सोही वर्ष उनलाई मलेसिया जाने विमान चढ्ने प्रयास गर्दै गर्दा सिड्नी एयरपोर्टबाट पक्राउ गरियो । त्यसपछि उनीमाथि आर्थिक बेइमानी गरेको आपराधिक मुद्दा चलाइयो ।उनका वकिल ह्युगो एस्टनले अदालतमा उनी बेइमान भए पनि गल्ती बैंकले गरेकोले उनले कुनै अपराध नगरेको अदालतलाई बताएका थिए ।

उनीमाथि लगाइएका आपराधिक आरोप २०१७ मा हटाइयो र अभियोजनकर्ताले यसको स्पष्ट कारण बताएनन् । उनले किनेका केही सामान फिर्ता लिइएको थियो । त्यसपछि उनलाई टाट पल्टिएको पनि घोषणा गरिएको थियो । उनका वकिलका अनुसार उनी त्यसपछि मलेसिया फर्किन् र खुसीसाथ परिवारसँग छिन् ।


Last Updated on: September 14th, 2022 at 9:53 pm

तपाईको प्रतिक्रिया