Monday, August 15

चुनाव घोषणा गर्दा प्रतिपक्षलाई सोधिएन : नेम्वाङ

August 4, 2022

बुटवल

नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले चुनाव घोषणा गर्दा विपक्षीसँग नसोधिएको बताएका छन्।

उनले निर्वाचन घोषणा हुनु स्वागतयोग्य भए पनि महत्त्वपूर्ण विषयमा सल्लाह नगरिएको उल्लेख गरे। प्रेस चौतारी रूपन्देहीले बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा नेम्वाङले सरकारले छलफल नगरेर विधि प्रक्रिया नपुर्‍याएको आरोप लगाए।

‘यस्तो महत्त्वपूर्ण विषयमा सबै दललाई जानकारी हुनुपर्छ’ उनले भने, ‘निर्वाचन घोषणा जस्तो महत्त्वपूर्ण विषयमा हामीसँग छलफल गर्नुपर्ने। तर यो सरकारले गरेन।’

संघीयता विरोधी भावना र प्रदेश खारेजीको माग एमाले कार्यकर्ताहरूबाट उठिरहेको भन्ने पत्रकारको जिज्ञासामा उनले एमाले संविधानभन्दा बाहिर जाने कुरा एमालेले नगर्ने बताए।

उनले भने, ‘बाहिर साथीहरूले के भन्नुभएको छ, त्यो एमालेको संस्थागत धारणा हैन, एमाले लोकतन्त्र र संविधानप्रति प्रतिबद्ध छ, यो संविधानभन्दा बाहिर हामी जादैनौं, संविधान नै हाम्रो राजनीतिको मूल आधार हो।’

उनले निर्वाचनमा सहमतिका आधारमा गठबन्धन बनाएर जाने तर अन्य दलसँग गठबन्धन बन्ने सम्भावना नरहेमा एक्लै पनि निर्वाचनमा जाने र राम्रो संख्यामा सिट जित्ने बताए।

नेम्वाङले अहिलेको गठबन्धन दूषित गठबन्धन भएको आरोप लगाए।

Comment