Monday, August 15

मन मिलुन्जेल चमत्कार, रिस उठे पछी बलात्कार !

August 4, 2022

काठमाडौँ

नेपाल मात्र होइन विश्वका अधिकांश समाजमा विवाहलाई अत्यन्तै पवित्र संस्कार मानिन्छ । विवाह सामाजिक बन्धन पनि हो । विवाहपछि मात्र पुरुष र महिलाले निर्धक्कसँग जीवन बिताउने आधार बन्छ ।

मुलुकी देवानी संहिता, २०७४ को दफा ६७ अनुसार पुरुष र महिलाले कुनै उत्सव समारोह, औपचारिक वा अन्य कुनै कार्यबाट एकअर्कालाई पति पत्नीको रूपमा स्वीकार गरे विवाह भएको मानिन्छ ।

तर, पछिल्लो समय लिभिङ टुगेदर अर्थात् उमेर पुगेका महिला र पुरुष ‘सँगै बस्ने’ चलन हाम्रै शहरतिर पनि देखिन थालेको छ । विवाह नै नगरी उनीहरूले नियमित सहवाससमेत गर्छन् ।

पश्चिमा मुलुकको देखासिकी गर्दै नेपाल भित्रिएको यो चलनलाई हाम्रो समाजको ठूलो अंशले अझै पनि अनैतिक ठह¥याउँछ । समाजले मान्यता नदिए पनि यसरी बस्ने जोडीको संख्या ह्वात्तै बढिरहेको छ ।

शिक्षा र रोजगारीका लागि घरपरिवारबाट टाढिएको अवस्थामा छुट्टै कोठा वा फ्ल्याट लिएर उनीहरू यसरी बसेका हुन् ।आधुनिकताको नाममा युवा–युवती लिभिङ टुगेदरमा बस्न रुचाउँछन् ।

कतिपय मुलुकले यसलाई मान्यता दिइसकेका छन् भने नेपालमा यससम्बन्धी कानुन निर्माणसमेत हुन सकेको छैन । यसलाई कानुनी मान्यता दिनुपर्छ भनेर बेलाबखत आवाज उठे पनि सरकार के गर्ने भन्नेमै अलमलमा देखिन्छ ।

हिजोआज काठमाडौँ, विराटनगर, धरान, पोखरा, बुटवल, नेपालगञ्ज धनगढीलगायत ठूला शहरमा यो चलन बढेको छ । घर सम्हालेर र अरूको अधीनमा बस्नुभन्दा लिभिङ टुगेदरमा रम्नु नै काइदा हुने सोच युवामा देखिन थालेको छ ।

तर, यसले समाजमा बेथिति प्रशस्तै भिœयाएको छ । सकारात्मकभन्दा पनि नकारात्मक पक्ष बढी भएकाले कम विकसित तथा दक्षिण एशियाली मुलुकले यसलाई स्वीकार्न सकेका छैनन् ।

विपरीत लिंगीहरू एकअर्कासँग बसेको थाहा पाउनेबित्तिकै समाजले हेर्ने दृष्टिकोण बेग्लै हुने गर्छ । लिभिङ टुगेदर अहिले हाम्रो समाजमा बहसका धेरै वटा विषयमध्ये एक बनेको छ ।

अहिलेको पुस्ताले यसलाई मान्यता दिन माग गरे पनि पुराना पुस्ता सहमत देखिन्न ।महिलाहरू अझै पनि निकै पछाडि रहेकाले यसलाई स्वीकृति दिन त्यति सहज छैन ।

विकसित मुलुकमा झैँ सबै महिला शिक्षित र आत्मनिर्भर नभएकाले अवस्था असहज भएको हो । अहिलेका युवायुवती स्कूले जीवनदेखि प्रेममा पर्ने भएकाले पछि लिभिङ टुगेदरमा बस्न थाल्छन् ।

तर, यसले निम्त्याउने अप्ठ्यारा सम्बन्धतिर उनीहरूले वास्ता गरेको पाइँदैन । सधैँ सँगै बस्दा शारीरिक सम्बन्ध कायम नहुने भन्ने कुरै रहँदैन ।

यौनतृष्णा मेटाउने नाममा गरिएको यौन सम्बन्धबाट गर्भ बस्न सक्छ । विवाह नै नगरी जन्मिएको शिशुको जिम्मा कसले लिने ? त्यसपछि हाम्रो समाजमा त्यस्ता जोडीबीच नै खटपट शुरु हुने गर्छ ।

मुलुकी देवानी संहिता २०७४ को दफा ७४ मा शारीरिक सम्पर्कबाट शिशु जन्मेमा विवाह भएको मानिने उल्लेख छ ।

भनिएको छ, ‘कुनै पुरुषसँगको शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी शिशु जन्मिएको प्रमाणित भएमा त्यस्तो पुरुष र महिलाबीच स्वतः विवाह भएको मानिनेछ ।’

उक्त कानुनी व्यवस्थाले बालबालिकाको हकअधिकार संरक्षण गर्न खोजेको देखिन्छ । तर, शिशुको जिम्मेवारी लिन नपरोस् भनेर पुरुष पक्षले विभिन्न प्रलोभनमा उक्त घटनालाई सामसुम पार्न खोज्ने, दबाब दिनेलगायत कार्य हुने गरेका छन् ।

यता, महिलाहरूले घरपरिवारबाट पनि अपहेलित हुनुपर्ने निश्चित छ । कतिपय महिलाले सहन नसकेर अन्त्यमा जीवन नै समाप्त गर्ने निर्णयसमेत लिएको पाइन्छ ।

पहिले नै वैवाहिक जीवनमा बाँधिइसकेका पुरुषले सत्यतथ्य लुकाएर लिभिङ टुगेदरमा बस्ने गरेको घटना पनि थुप्रै छन् । घरमा श्रीमती हुँदाहुँदै अर्की महिलासँग सम्बन्ध स्थापित गर्दा यसले ल्याउने अप्ठ्यारा झन् जटिल हुने गरेको छ ।

त्यसपछि दुवैतिरको सम्बन्ध तहसनहस बन्न पुग्छ ।तर, लिभिङ टुगेदरमा बस्दा पुरुषभन्दा महिला नै बढी पीडित बनेका छन् ।

उनीहरूको जीवन बर्बाद भएका घटना पनि नभएका होइनन् । त्यस्तो अवस्थामा उनीहरूलाई न घरपरिवारले स्विकार्छ, न कानुनी संरक्षण नै पाउँछन् । पुरुषप्रधान मुलुक भएकाले अन्त्यमा महिलाले नै सबै कष्ट सहनुपर्ने बाध्यता छ ।

नियम नै बनेन : अधिवक्ता तिमल्सिना

अधिवक्ता विष्णुप्रसाद तिमल्सिनाले लिभिङ टुगेदरका निम्ति अहिलेसम्म कानुन नबनेको जानकारी दिए । उनका अनुसार कानुन नबन्दा धेरै अपराधजन्य घटना भएका छन् । पहिले लिभिङ टुगेदरमा बस्ने, पछि जबरजस्ती करणीको आरोप लगाउने, चरित्रहत्याजस्ता विकृति समाजमा देखिएको उनको भनाइ छ ।

लिभिङ टुगेदरमा बस्ने प्रायः महिला घरेलु हिंसाको शिकार बनेको अधिवक्ता तिमल्सिना बताउँछन् । उनको बुझाइमा यो समाजमा देखिएको अत्यन्तै खराब प्रवृत्ति हो ।

उग्ररूप लिइरहेको छ : आयोग

लिभिङ टुगेदरले समाजमा उग्ररूप लिइरहेको राष्ट्रिय महिला आयोगले जनाएको छ । सूचना अधिकारी चमिला भट्टराईका अनुसार मासिक ३० वटासम्म यस्ता घटनाको उजुरी आयोगमा पर्नेे गरेका छन् ।

उजुरी लिए पनि कानुन नभएकाले गाह्रो परेको उनले बताइन् ।बिहे दर्ता, भिडियोलगायत केही प्रमाण नहुने भएकाले कानुनी उपचारमा जाने आधार नभएको उनको भनाइ छ ।

महिला र पुरुष सँगै बस्ने प्रवृत्तिले समाजमा उग्ररूप लिन थालेको उनको बुझाइ छ । उनी भन्छिन्, ‘अहिलेका पुस्तालाई भविष्यको कुनै ख्याल छैन ।’जन आस्था

Comment