बुधबार १९ आश्विन २०७९

काठमाण्डौँ । दक्षिण कोरियाका नेपालीहरुलाई कमाएको पैसा बैङ्कमा जम्मा गर्न सहज हुने भएको छ । ग्लोबल आइएमई बैङले राजधानी सोलमा बैंकको शाखा खोल्ने भएपछि नेपालीलाई सहज हुने भएको हो ।

नेपालमा लगानी गर्न दक्षिण कोरिया सरकार, निजी क्षेत्र र त्यहाँ रहेका नेपालीहरूलाई आग्रह गर्दै ग्लोबल आइएमई बैंक र ग्लोबल मनि एक्सप्रेसले दक्षिण कोरियाको राजधानी सोलमा अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेका छन् ।कार्यक्रममा ग्लोबल आइएमई बैंकले दक्षिण कोरियाको राजधानी सोलमा शाखा सञ्चालन गर्न प्रकृया अगाडि बढाएको बताउँदै नेपाली बैंकमा विदेशी मुद्रामा खाता सञ्चालन नेपालीहरूलाई आग्रह समेत गरिएको थियो ।

उक्त कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले विदेशी मुद्रा सञ्चिति घटेको अहिलेको समयमा मुलुकको अर्थतन्त्र बचाउन प्रत्यक्ष वैदेशिक लगानी र रेमिट्यान्सको अत्यन्तै ठूलो महत्व रहेको बताए।अर्थमन्त्री शर्माले कोरियामा रहेका गैर आवासीय नेपालीहरूलाई नेपालमा लगानी गर्न र वैदेशिक लगानी भित्र्याउन सहजीकरण गर्न आग्रह गरेका छन्।

द्रूत आर्थिक विकास र सम्मृद्धिको लागि नेपाललाई स्वदेशी पुँजीका साथसाथै ठूलो मात्रामा वैदेशिक लगानीको आवश्यकता रहेको बताउँदै उनले कोरियामा रहेका नेपालीहरूलाई मुलुकमा वैदेशिक लगानी र नयाँ–नयाँ प्रविधि भित्र्याउन पहल गर्न आग्रह गरे।

अर्थमन्त्री शर्माले विदेशी मुद्राको सञ्चिति घटेको अहिलेको परिवेशमा विश्वका विभिन्न मुलुकहरूमा रहेका नेपालीहरूलाई नेपाली बैंकमा विदेशी मुद्रा खाता सञ्चालनका लागि प्रोत्साहन गर्दै कार्यक्रम गर्ने र विदेशमा नेपाली बैंकको आफ्नै शाखा खोल्न प्रकृया सुरू गरेकोमा बैंकलाई धन्यवाद दिए।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैर आवासीय नेपालीहरूलाई ढुक्क भएर नेपालमा लगानी गर्न र नेपाली बैंकमा विदेशी मुद्रामा खाता सञ्चालन गर्न आग्रह गरे।


Last Updated on: September 14th, 2022 at 10:58 pm

तपाईको प्रतिक्रिया