बुधबार १९ आश्विन २०७९

काठमाडौँ महानगरपालिकाले माछापोखरीस्थित तीन रोपनी सार्वजनिक जग्गामा निर्माण गरिएको ड्राईभिङ सेन्टर हटाएको छ । काठमाडौँ महानगरपालिका प्रमुखमा बालेन्द्र शाह निर्वाचित भएसँगै अनधिकृतरूपमा निर्माण गरिएका संरचना हटाउने क्रममा आज काठमाडौँ–१६ माछापोखरी क्षेत्रको सार्वजनिक जग्गामा निर्माण गरिएको गुरुङ ड्राइभिङ सेन्टर हटाइएको हो ।

महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले सार्वजनिक जग्गामा ड्राइभिङ सेन्टर निर्माण गरी भाडामा सञ्चालन गरेको पाइएकाले नगर प्रहरीको टोलीले हटाएको जानकारी दिनुभयो । सो क्षेत्रमा रहेको १७ रोपनी सार्वजनिक जग्गामध्ये तीन रोपनी क्षेत्रफलमा उक्त ड्राइभिङ सेन्टर सञ्चालन गरिएको थियो ।

यस्तै, नगरप्रहरीको टोलीले माछापोखरी क्षेत्रको फुटपाथ बजारसमेत हटाएको छ । यसअघि आजै नगरपालिकाको टोलीले सोह्रखुट्टे चोकदेखि म्हैपी जाने सडकमा अनधिकृतरूपमा निर्माण गरिएका संरचना हटाएको थियो ।काठमाडौँ–१६ का वडाअध्यक्ष मुकुन्द रिजालले अतिक्रमण गरी सञ्चालित फुटपाथ र नक्सा विपरीतको संरचना हटाइएको जानकारी दिनुभयो ।

कामपा–१६ ले वडाभित्र निर्माण गरिएका अनधिकृत संरचना हटाउन केही दिनपहिले पत्राचारसमेत गरेको थियो । महानगरपालिकाले यसअघि न्यूरोड, नयाँ बानेश्वर, कोटेश्वर, चावहिल, नयाँ बसपार्क क्षेत्रमा नक्सा विपरीत अनधिकृतरूपमा बनाइएका संरचना हटाइसकेको छ ।

यो पनि – जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघले काठमाडौं महानगरपालिकाविरुद्ध भोली आन्दोलन गर्ने भएका छन् । बिहीबार बिहान ११ बजे सुन्धारामा जम्मा हुने र भद्रकाली हुँदै उनीहरु महानगर कार्यालय परिसरमा पुग्ने कार्यक्रम रहेको व्यापार संघले जनाएको छ ।

महानगरपालिकाले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै बिहीबार काठमाडौंमा प्रदर्शन गर्ने भएको हो ।फुटपाथ र ठेला व्यवसाय गरिरहेकाहरुलाई महानगरले व्यवस्थापन भन्दा पनि विस्थापन मात्रै गर्न खोजेको संघको आरोप रहेको छ । महानगरले निर्मम ढंगले लखेट्न खोजेको संघको आरोप छ ।


Last Updated on: September 14th, 2022 at 11:17 pm

तपाईको प्रतिक्रिया