बुधबार १९ आश्विन २०७९

अर्घाखाँची, भदौ २९। राजनीतिक विवादले गर्दा अर्घाखाँचीको पाणिनीगाउपलिकाको दुई वटा एम्बुलेन्स पाँच वर्षदेखि बेवारिसे बनेको छ । नेकपा एमाले र नेपाली कांग्रेसका जनप्रतिनिधिबीच चालक नियुक्तिका विषयमा कुरा नमिल्दा एम्बुलेन्स पाँच वर्षदेखि बेवारिसे बनेको हो ।

पालिकाको अघिल्लो कार्यकालमा खरिद गरिएका ती एम्बुलेन्सहरू मैदानमा अलपत्र छन्। चालक पुरानै राख्ने वा नयाँ नियुक्त गर्ने विषयमा सहमति नहुँदा सञ्चालनमा समस्या भएको पालिका प्रवक्ता एवं ७ का वडाध्यक्ष गुनाखर अधिकारीले बताउनुभयो।

अघिल्ला कार्यकालमा नियुक्ति भएका चालकले अपेक्षाअनुसार काम नगरेकाले चार महिनासम्म एम्बुलेन्स अलपत्र परेको दाबी अधिकारीको छ। ती चालकलाई पुनः काममा निरन्तरता दिन नहुने केहीको सुझाव छ।

तर, वडा नं. ३ का वडाध्यक्ष युवराज ज्ञवाली पुरानालाई निरन्तरता दिएर एम्बुलेन्स सञ्चालन गर्नुपर्ने बताउनुहुन्छ। गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले पनि पुराना चालकले सही तरिकाले काम नगरेको भन्ने प्रतिवेदन प्राप्त भएकाले निरन्तरता दिन नसकिने बताउनुभयो।

एमालेका जनप्रतिनिधिले पुरानालाई निरन्तरता नदिएमा दक्ष चालक नियुक्ति गर्नुपर्ने अडान राखेको छ। तर, कांग्रेसका जनप्रतिनिधिहरू पुरानालाई नै निरन्तरता दिनुपर्ने माग गर्दै आएका छन्। जनप्रतिनिधिहरू नै एम्बुलेन्स चालक नियुक्तिको राजनीतिमा रुमल्लिएपछि बिरामी तथा सुत्केरी महिला, वृद्धा र अशक्त मर्कामा परेका छन्।


Last Updated on: September 14th, 2022 at 11:54 pm

तपाईको प्रतिक्रिया