बुधबार १९ आश्विन २०७९

‘अरुलाई जस्तो मलाई छुट छैन, मैले पटकपटक आफुलाई प्रमाणित गर्नुपर्छ । अरुको भन्दा महङ्गो जीवन बिताइरहेकी छु त्यसैले संघर्ष पनि दोव्बर गर्नुपरेको छ’, कृष्णा थापा बताउँछिन् ।

२०४७ मंसिर १० गते व्यास नगरपालिका-१० दुम्सिकोटमा जन्मिएकी कृष्णा थापाको विगत एक दशकदेखि ह्वील चियार नै साथी बनेको छ । छोटो दुरीको यात्रा होस् या लामो उनको यात्राको साथी ह्वील चियार नै हो । तर २०६१ साल अघि उनको दैनिकी भिन्दै थियो ।

२०६१ सालमा दुम्सिकोटस्थित भानु माध्यमिक विद्यालयको कक्षा ८ को परीक्षा दिनुअघि उनी आफ्नै खुट्टाले हिडेर विद्यालय जन्थिइन् । साथीभाईसंग खेल्ने, विद्यालयका विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी हुने, खेतबारीमा आमाबुबालाई सघाउने उनको दैनिकी थियो।

तर कक्षा ८ को परीक्षा दिएपछि उनको दैनिकी परिवर्तन भयो ।‘एकदिन अचानक दाइने खुट्टा झमझमायो । त्यस्तो हुँदा खुट्टा सेन्सलेस भएको महसुस भयो’, कृष्णाले भनिन्, ‘धेरै पटक त्यस्तो हुन थालेपछि उपचारका लागि दमौली आयौं र दमौलीबाट पोखरा मणिपाल अस्पताल पठाइयो।’

दिनमा अक्कलझुक्कल झमझमाउने र डाक्टरको राउण्ड परेको समयमा ठिक भइदिदा डाक्टरलाई देखाउनकै लागि भनेर २२ दिन अस्पतालमै बसेको उनी बताउँछिन् । उनका अनुसार २२ दिनसम्म पनि के कारणले यस्तो भएको भन्ने बारे पत्ता नलागेको र झनै उनको स्वास्थ्य बिग्रिदै गयो। आफ्नै खुट्टाले टेकेर पोखरा गएकी कृष्णा २२ दिनपछि बुबाको काखमा घर फर्किन ।

ठुलो अस्पतालमा देखाउने भन्दै २०६२ को साउनमा उनी काठमाडौं गइन् । दुवै खुट्टाले काम गर्न छाडिसकेपनि के कारणले यस्तो भइरहेको छ भन्ने जान्न उनी ३ महिनासम्म काठमाडौं नै बसिन् । स्वास्थ्यमा आएको समस्यको पहिचानका लागि विभिन्न परीक्षण तथा उपचार पद्धति अवलम्बन गरेपनि समस्यको समाधान निस्किएन ।

अस्पतालले समस्य पत्ता लगाउन नसकेपछि झारफूक तिर पनि लागेको उनी बताउँछिन्। ‘यत्तिका समय अस्पताल बस्दा पनि के कारणले मेरो खुट्टामा समस्य देखिएको हो भन्ने थाहा नभएपछि म होपलेस भए’, उनले भनिन्, ‘समस्याको समाधान नभएपनि समस्य त पत्ता लाग्नुपर्ने हो तर त्यो पनि भएन ।

बाबा रिटायड आर्मी । कृषिबाहेक अन्य कुनै पेशा थिएन । पटकपटक अस्पताल धाउदा भएको सम्पत्ति पनि सकिसकेको थियो । समस्य भने पत्ता नलागेपछि म डिर्पेसनमा पुगे । यसै मर्ने हो बरु घरमै मर्छु भन्नेसम्म पुगेकी थिए ।’काठमाडौंबाट घर फर्किएपछि उनको अवस्था निकै गम्भिर भयो।

‘मेरो दुवै खुट्टा चल्दैनथ्यो । म बेडमै थन्किएर बस्नुपर्‍यो’, उनले भनिन्, ‘त्यो समय घरपरिवार र गाउँलेहरु सबै जम्म भएर यो कतिखेर मर्ने हो कतिखेर फाल्ने हो भनेर सबैले कुरेर बस्नुहुन्थ्यो।’घरमै मर्छु भनेर बसेपनि जबरजस्ति रिसेट तनहुँबाट पोखरा हरियोखर्क लगियो ।

उनका अनुसार उक्त समयमा ११ वटा कम्मरमुनिको भागको अपरेसन भयो। २०६२ चैत्रमा उनले मेरुदण्डको नशा च्यापिएको कारण खुट्टा नचलेको भन्ने कुरा थाहा पाइन् । उनले भनिन्, ‘अब कुनै अपरेसन गरेर मेरुदण्ड ठिक पार्न सकिदैन भनेर डाक्टरले मलाई विश्वास दिलाउनुभयो । त्यसपछि २०६३ को असारमा बेडमै घर फर्किए ।’

त्यसपछिको कृष्णाको दिनचार्य बेडमै बित्न थाल्यो। समस्याको बारेमा थाहा पाएपनि समाधान नपाउदा र अरुको साहारामा बाच्नुपर्दा आफैलाई देखेर दिक्दार मान्ने गरेको बताउँछिन् । करिव ८ वर्षघरपरिवारकै स्यारसुसारमा बसेको उनले बताइन् । त्यो ८ वर्षको समयमा आफैलाई मार्ने कयौं प्रयास गरेको उनले सुनाइन् ।

उनले भनिन्, ‘खाना खुवाउनेदेखि सुत्दा ओल्टेकोल्टे फर्काइदिने, दिशापिसाव गर्न समेत अरुलाई दुःख दिनुपर्दथ्यो। त्यसैले मर्छु भनि करिव ६ महिनासम्म त अन्नलाई हात पनि लगाइन ।’२०६९ फागुनमा पिएफआर पोखराले उनलाई काठमाडौं लगेर जोर्नीको ३ वटा अपरेसन गरिदियो।

त्यसपछि भने उनी बिस्तारै ह्विल चियारमा बस्न थालिन् । उनले भनिन्, ‘८ वर्षछि ह्वील चियरमा बस्दा वरीपरीको वातावरण छिटोछिटो गुमिरहेको महसुस भयो।’ ३/४ महिना त कृष्णालाई ह्वील चियारमा अडिएर बस्न र चलाउन सिक्नमै लाग्यो । पर्ढाई रुची रहेका कारण ८ वर्षओछ्यानमै हुँदापनि उनले विभिन्न पुस्तक पढ्ने र रोडियो सुन्ने गर्दथिइन् ।

ह्वीलचियार चलाउन सिकेलगातै कक्षा ९ मा भर्ना भइन् र २०६० मा एसएलसि उत्तीर्ण गरिन् ।विभिन्न संघसंस्थाद्वारा आयआर्जनका लागि सीपमुलक तालिम रोज्छै कि पर्ढाई भन्दा उनले पढाइ नै रोजिन । घरपरिवारको साथ नहुँदा पनि उनी दमौली झरेर पढ्ने संघर्ष गरिन् ।

तर उनको शैक्षिक यात्रा सहज थिएन । प्लस टु अध्यायनका लागि सत्यवति माध्यमिक विद्यालयमा तेश्रो पटक पुरा शुल्क तिर्ने र्सत गरी भर्ना भइन् ।उनले शुल्क तिरेर विद्यालयमा भर्ना भएपनि पछि सरकारले अपांगता भएकालाई निःशुल्क शिक्षा दिने नीति ल्याएपछि उनलाई केही राहत भयो।

यसका लागि पनि उनले निकै संघर्ष गर्नुपर्‍यो । आफु अपांगता भएको प्रमाण विभिन्न सरोकारवाला ७ वटा कार्यालयलाई पत्र लेखेपछि उनको भर्ना र मासिक शुल्क फिर्ता गरी निशुल्क पढाइएको व्यवस्था भयो ।पढाइको शुल्क त निःशुल्क भयो तर उनको शैक्षिक यात्रामा अर्को चुनौति थपियो विद्यालयका भौतिक पूर्वधार ।

विद्यालयको भौतिक पूर्वधार अपांगतामैत्री नहुँदा उनले कक्षा कोठासम्म पुग्नका लागि अर्कैको साहारा लिनुपर्‍यो । विद्यालयले पछि अपांगतामैत्री शौचलाय बनायो तर परीक्षा दिन भने अझै कठिन भइरयो। उनले कक्षा ११ र १२ को परीक्षा चौतारोमा बसेर दिनुपर्‍यो ।

स्नातक तहको पढाइका लागि पृथ्वीनारायण क्याम्पस पोखरा पुगेकी कृष्णालाई क्याम्पसले सजिलै भर्ना लिएन । घरबाट व्रि्रोह गरेर पढ्न हिडेकी कृष्णाले क्याम्पसका शिक्षक र साथीबाट त्यति सहयोग नपाएको सुनाइन् ।त्यहाँका भौतिक संरचना अपांगतामैत्री नभएको कारणपनि केही समय कक्षा कोठा बाहिरै बसेर पढेको उनले बताइन् ।

कक्षा कोठामै बसेर पढ्ने वातावरण मिलाइदिनका लागि क्याम्पस प्राङ्गणमा एकल धर्नामा बसिन्। उनले भनिन्, ‘म धर्नामा बस्दा त्यहीका शिक्षकले मलाई “यी अपांगहरु यो चाहियो र त्यो चाहियो भन्न आउछन्, कलेज पढ्न आउने होइनन्” भनेको म कहिल्यै बिर्सिन्न।’

यस्तै, क्याम्पस प्रमुखसंग भेटेर आफ्ना कुरा राख्न खोज्दा कार्यालयमा हुँदापनि छैन भनि उनकै आँखा अगाडि नै कार्यालयबाट निस्केर कार चढि गएको उनले बताइन् । उनले भनिन्, ‘म हिड्न सक्ने भए आफै कार्यालयमा पुगेर कुरा राख्न सक्थे। त्यो देख्दा मेरो अवस्थाको फाइदा उठाएको जस्तो लाग्यो ।’

नदिपुरमा बस्ने उनलाई बगरको क्याम्पसमा आउन पनि निकै संघर्ष गर्नुपर्दथ्यो । ‘त्यो बाटो ह्वीलचियारमा हिड्दा २ पटक दुर्घटना भयो’, उनले भनिन्, ‘केही मोटरसाइकल र केटाहरुले बाटो छेक्ने गर्दथे । टाउकोमा हान्ने, जिस्काउने जस्ता कार्य गर्दथे ।’

उनलाई नदिपुरबाट क्याम्पससम्म पुग्न ४० मिनेट लाग्दथ्यो। विभिन्न समस्य झेल्दै ह्वील चियारमै गुडेर कृष्णाले स्नातक उत्तीर्ण गरिन् । अहिले उनी व्यास नगरपालिकाको सहायक चौथो स्तरको कर्मचारीको रुपमा पुस्ताकालयमा काम गर्छिन्।

‘कुनै दिन पढ्छु केही गर्छु भन्दा आमाबुबाले विश्वास नगरेर साथ नदिंदा व्रि्रोह गरेर हिडेकी थिए’, उनले भनिन्, ‘अहिले मेरो पढाइकै कारणले यो ठाउँसम्म आएकी छु, टेक्ने खुट्टा नभएपनि आफ्नै संघर्षका कारण अहिले म आफ्नै खुट्टामा उभिएकी छु ।

पटक पटक आफुलाई प्रमाणित गरेर आज आर्थिक रुपमा घर परिवारलाई पनि सहयोग गर्ने हैसियात बनाएकी छु । अब ढिलोचाडो मार्स्र्टस गर्ने इच्छा छ।’ह्वील चियारमा बसेपछि आफ्नो दैनिकी सहज गराउन निकै कठिन भएको उनी बताउँछिन्। ‘मन लागेको समयमा खाना पाइदैन, पानी पिउन पाइदैन’, उनले भनिन्, ‘जहात्यही अपांगतामैत्री शौचालय हुँदैन ।

त्यतिबेला कलेजमा अपांगतामैत्री भौतिक संरचना नहुँदा खाजा कहिल्यै खाइन । पहिले त महिनावारी नै नभए हुन्थ्यो जस्तो लाग्थ्यो तर पछि सबै गर्ने कार्यको तालिका बनाएर सोही अनुसार काम गर्न थालेपछि सहज भयो । अहिले आफु अपांगता भएपनि सपांग भन्दा कम छैन भन्ने अनुभुति हुन्छ ।’

सडक र फुटपाथ पनि अपांगतामैत्री नहुँदा द्रुत गतिमा हिडेका बस र मोटरसाइकलबाट बचेर हिड्नुपर्ने अबस्था छ । कृष्णा भन्छिन्, ‘फुटपाथ पनि अपांगतामैत्री बनाइदिने हो भने सवारी साधनको भिडभाडमा जोखिम मोल्दै हिड्नुपर्दैनथ्यो । तर यसतर्फकसैको ध्यान पुगेको छैन ।’


Last Updated on: September 15th, 2022 at 12:19 am

तपाईको प्रतिक्रिया