बुधबार १९ आश्विन २०७९

नेकपा एमाले निकटको मजदुर संगठन फुटपाथ खाली गर्ने काठमाडौं महानगरपालिकाको अभियानको विरोधमा उत्रिएको छ ।एमालेको मजदुर संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को घटक संगठन नेपाल स्वरोजगार व्यापार श्रमिक संघले बिहीबार काठमाडौं महानगरपालिका कार्यालय बाहिर प्रदर्शन गरेको छ ।

व्यापार गर्न खाली ठाउँ तोकिदिनुपर्ने र त्यो नभएसम्म विहान बेलुकाको फुटपाथमै व्यापार गर्न दिनुपर्ने माग गर्दै संघले ज्ञापनपत्र बुझाएको छ ।नेपाल ट्रेड युनियन महासंघ जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले स्वरोजगार श्रमिक संघ जिफन्टको घटक संगठन रहेको र उनीहरुको आन्दोलनमा समर्थन रहेको बताए ।

उनले मेयर बालेन साहको फुटपाथ व्यापार हटाउने अभियानलाई सही भन्न नसकिने बताए । ‘हेर्दा मेयरको अभियान विरुद्ध देखिन्छ, उहाँको काम टोटल्ली रङ छ पनि भन्दैनौं, सही पनि होइन’ श्रेष्ठले भने ।उनले अघि भने ‘बेलुका ५ देखि ७ बजे खली ठाउँमा बस्दा मेयरलाई टाउको किन दुख्छ ?’

अध्यक्ष श्रेष्ठले दशैं, तिहारका बेला स्वरोजगार श्रमिक भोकै पर्ने अवस्था आएको बताए । उनले महानगरपालिकाले खाली ठाउँमा व्यवस्थित बजार बनाए स्वरोजगार श्रमिकले कर तिरेर व्यवसाय गर्ने बताए ।महानगरपालिकाका मेयर बालेन साहलाई ज्ञापनपत्र बुझाउन गएका संघका पदाधिकारीले बालेनलाई भेट्न नपाएपछि प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई ज्ञापनपत्र बुझाए ।

ज्ञापनपत्र बुझाउन गएकी नेपाल स्वरोजगार व्यापार श्रमिक संघ वागमती प्रदेश कमिटी अध्यक्ष माया गुरुङले मेयर बालेन साहले सडकमा रोइरहेको श्रमिकको आवाज नसुनेको बताइन् ।‘यत्रो सडकमा रोइरहेका कराइरहेका जनताको आवाज सुन्नुभएन कसको आवाज सुन्नुहुन्छ ?

अहिलेको अवस्थामा सडक पेटीमा फुटपाथमा व्यवसाय गर्ने स्वरोजगार श्रमिकलाई वैकल्पिक स्थान दिन नसके पनि निश्चित टाइम टोकेर गरिखाने वातावरण दिनुपर्‍यो’ उनले भनिन् ।उनले अगाडि भनिन्, ‘हामीलाई थाहा छ सडक पेटीमा बस्नु हुँदैन, त्यहाँ व्यवसाय गर्ने ठाउँ होइन, हाम्रो भनाइ के हो भने २४ घण्टामा २ घण्टा त गरिखाने वातावरण दिनुस् ।’

स्वरोजगार श्रमिकको समस्या दीर्घकालीन रुपमा समाधान गर्न खाली ठाउँमा सस्तो बजार बनाउनुपर्ने वा सन्ध्याकालीन व्यापारको व्यवस्था गर्नुपर्ने उनले बताइन् ।त्यस्तै काठमाडौं महानगरपालिकाले फुटपाथ व्यापारीबाट जफत गरेको सामान फिर्ता नदिई लिलाम गर्ने गरेको छ ।

संघले ती सामान सम्बन्धि व्यापारीर्ला फिर्ता गर्नुपर्ने, फुटपाथ व्यापारीको समस्या समाधानका लागि आफूहरुको समेत सहभागितामा नीति बनाउनुपर्ने माग पनि गरेको छ ।‘राज्यले रोजगारी दिन सक्दैन, हजारौं नागरिकले काम देउ भनेका छैनन्’ उनले भनिन्, ‘ उनीहरुलाई सम्बन्धित निकायले व्यवस्थापन गर्नुपर्छ ।’

संघले महानगरका सबै वडामा नागरिक बजार वा सन्ध्याकालीन बजारको व्यवस्था गर्नुपर्ने, दर्शै तिहार र छठसम्म विहान बेलुका सडकमै व्यापार गर्न दिनुपर्ने लगायतका माग राखेका छन् ।


Last Updated on: September 15th, 2022 at 9:48 pm

तपाईको प्रतिक्रिया