मंगलबार १८ आश्विन २०७९

काठमाडौं । नेपाली राजनीति वृद्धहरूको कब्जामा छ । पछिल्लो दशकदेखि सबैभन्दा बढी आलोचना यसै विषयको हुने गरेको छ । तर, वृद्धहरू निवृत्त हुने सम्भावना नै छैन !वृद्ध नेताहरूलाई विदा गर्नुपर्छ भन्ने युवा नेताहरू पनि अहिले वृद्ध हुने बेला भइसक्यो ।

तर, अझै केही वर्ष वर्तमान शीर्ष वृद्ध नेताले नै नेतृत्व ओगट्ने देखिन्छ ।प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएको छ । यो निर्वाचनमा स्वयम् मैदानमा रहेर या नरहेर पनि सत्तामा आफ्नो प्रभुत्व कायम राख्न वृद्धभत्ता खान बेला भएकादेखि औसत आयुसमेत कटाइसकेका नेताले कम्मर कसेका छन् ।

यहाँ केही महिनामै वृद्धभत्ता पाउने नेतादेखि नेपालीको औसत आयुसमेत कटाइसकेका १० वृद्ध नेताको सत्ताभोगको अतृप्त चाहना चार्चा गरिनेछ ।सबैभन्दा पहिला उमेरका आधारमा सेवा अवधि, उमेरका आधारमा पाउने वृद्धभत्ता र नेपालीको औसत आयुको व्याख्या गरौँ–

नेपालमा ६८ वर्ष पुगेपछि वृद्धभत्ता पाइन्छ । चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले वृद्धभत्ता पाउने उमेर २ वर्ष घटायो । नत्र, वृद्धभत्ता पाउनका लागि ७० वर्ष पुग्नु पर्थ्यो ।नेपालमा जसरी सुरु गरिएको भएपनि निवृत्त जीवनयापन सहज होस् भन्ने हेतुले सामाजिक सुरक्षा अन्तरगत वृद्धभत्ता दिइन्छ ।

अर्थात, नेपालको सन्दर्भमा ६८ वर्ष पुगेपछि नेपालीको पूर्ण ‘रिडायर्ड लाइफ’ सुरु हुन्छ ।निजामती तथा अन्य सरकारी सेवा समूहको उमेरहद अझ त्यो भन्दा कम छ । विभिन्न सेवा समूहको उमेरहद औसतमा ६० वर्ष हो । ६० वर्ष पुगेपछि अवकाश लिनुपर्छ ।

जागिरे जीवन सकेर अवकाश पाएकाहरूले ८ वर्षपछि वृद्धभत्ता पाउँछन् ।नेपालीको औसत आयु ७१ देखि ७२ वर्ष छ । वृद्धभत्ता पाउने उमेर र औसत आयुबीच ३ देखि ४ वर्षको मात्र फरक छ । औसत आयुलाई आधार मान्ने हो भने एक व्यक्तिले ३ देखि ४ वर्ष वृद्धभत्ता खान पाउँछ ।

औसत आयुभन्दा धेरै बाँचेकाले बाँचुन्जेल वृद्धभत्ता पाउने भइहाले ।उमेरका आधारमा सेवा अवधि, उमेरकै आधारमा सरकारबाट पाउने सुविधा र औसत आयु निर्धारण गर्नुको एउटा मात्र कारण मानिसको शारीरिक–मानसिक अवस्था हो । यी सबै आधारहरूलाई हेर्दा ६० उकालो लागेपछि नेपालीको शारीरिक–मानिसक अवस्था कमजोर हुँदै जान्छ ।

उमेरहद, वृद्धभत्ता र औसत आयुको लम्बेतान व्याख्यापछिको १० नेपाली राजनीतिज्ञको उमेर, चाहना र शारीरिक अवस्थाबारे चर्चा गरौँ । कोही नेताले औसत आयु काटिसकेका छन्, केही औसत आयु पूरा गर्दैछन् भने केहीले केही महिनामै वृद्धभत्ता खान थाल्नेछन्–

वृद्ध चित्रबहादुर केसी सन् १९३४ मा बाग्लुङमा जन्मेका हुन् । हाल राष्ट्रिय जनमोर्चा (राजमो)का अध्यक्ष उनी ८८ वर्षीय वृद्ध हुन् ।चित्रबहादुरले नेपालीको औसत आयुभन्दा करिव ८ वर्ष बढि उमेर कटाइसकेका छन् । उमेरका हिसाबले समकालीन नेतामा चित्रबहादुर तन्दुरुस्त भने छन् ।

उपप्रधानमन्त्री समेत भइसकेका चित्रबहादुरको पार्टी कमजोर छ । केही जिल्लामा प्रभाव भएपनि निर्वाचन जितेर ठूलै उथलपुथल गर्ने ल्याकत राख्दैनन् । तर, पाँच दलीय गठबन्धनबाट आगामी संघ र प्रदेशको निर्वाचनमा केही सिट हातपार्न उनी आफै मरिमेटेका छन् ।

गत साल सम्पन्न राजमोको महाधिवेशनबाट चित्रबहादुर पुनः अध्यक्ष निर्वाचित भएका हुन् । उनले अझै कति वर्ष पार्टीको नेतृत्व ओगट्छन् हुन् ? टुङ्गो छैन ।पार्टीलाई बलियो बनाउन वृद्ध अवस्थामा पनि खटिरहेका चित्रबहादुर आफै भने निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवार नबन्ने निश्चित छ ।

एक वर्ष अगाडि जनता समाजवादी पार्टीबाट विभाजन भएर बनेको दल हो, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) । लोसपाका अध्यक्ष हुन्, ७९ वर्षका वृद्ध महन्थ ठाकुर । उनी सन् १९४३ मा जन्मेका हुन् ।उमेरका आधारमा महन्थ यतिखेर धर्मकर्म गर्दै निवृत्त जीवनयामा भेटिनुपर्ने हो ।

तर, ‘चार कोरी’ टेक्न लाग्दा उनले नयाँ पार्टी गठन गरेका छन् । महन्थले पनि कहिलेसम्म नेतृत्व ओगट्ने हुन् थाहा छैन ।कांग्रेसी राजनीति हुँदै हाल मधेसी दलको नेतृत्व गरिरहेका महन्थले मन्त्रीका रूपमा धेरै मन्त्रालयहरू सम्हालीसकेका छन् । जन्मथलो महोत्तरीबाट धेरै पटक निर्वाचन जितेका महन्थ ताल परे आगामी निर्वाचनमा उम्मेदवार बन्न बेर छैन ।

बेला–बेला प्रधामन्त्री र राष्ट्रपतिको रूपमा चर्चा गरिने महन्थलाई एकपटक प्रधानमन्त्री वा राष्ट्रपति हुने मन छन् । त्यसैले अहिलेसम्म पार्टीको नेतृत्व होल्ड गरेका बसेका छन् ।तर, यसपटकको निर्वाचनमार्फत पनि महन्थको चाहना पूरा हुने सम्भावना कम छ । किनकी, विभानजबाट बनेको कमजोर लोसपाले निर्वाचन जितेर उथलपुथल गर्ने सम्भावना छैन ।

उपसभामुख र थुप्रै पटक मन्त्री तथा उपप्रधानमन्त्री भइसकेका कांग्रेस नेता रामचन्द्र पौडेललाई एकपटक जसरी पनि प्रधानमन्त्री वा राष्ट्रपति बन्नु छ ।वृद्ध रामचन्द्र सन् १९४४ मा तनहुँमा जन्मेका हुन् । उनी प्रधानमन्त्रीको प्रतिस्पर्धामा १७ पटकसम्म प्रयास गर्दा पनि असफल भएका अभागी नेता हुन् ।

हालै सम्पन्न कांग्रेसको १४औं महाधिवेशनमा सभापतिको बलियो दाबेदार थिए । तर, अन्तिम समयमा शेरबहादुर देउवालाई सहयोग गरेर चाहना पूरा गर्ने झिनो आशाको विजारोपण गरे । सभापतिमा शेरबहादुरलाई सहयोग गरेवापत रामचन्द्रले निर्वाचनपछि केही बक्सिस पाउँछन् भन्ने चर्चा हुने गरेको छ ।

रामचन्द्र आगामी निर्वाचनपछि बन्ने सरकारको प्रधानमन्त्री बन्न चाहन्छन् । तर, त्यो सम्भावना कम छ । प्रधानमन्त्री बन्ने सम्भावना कम देखेको उनी हिसाकिताब मिले राष्ट्रपति बन्न चाहन्छन् । बजारमा चर्चा पनि हुने गरेको छ ।उत्तरार्धमा वृद्ध रामचन्द्र अन्तिम इच्छा पूरा गर्न तनहुँबाट प्रतिनिधिसभाको निर्वाचन प्रतिस्पर्धा गर्दैछन् ।

प्रधानमन्त्रीको प्रतिस्पर्धामा १७ पटक पराजित रामचन्द्र पार्टीको सभापति पनि बन्न नसकेनन् । उनलाई ‘अभागी रामचन्द्र’ समेत भन्न थालिएको छ ।हाल पार्टीविहीन जस्तै अवस्थामा रहेका वृद्ध बामदेव गौतम सन् १९४४ मा प्युठानमा जन्मेका हुन् ।

औषतभन्दा धेरै उमेर कटाइसकेका उनी ७८ वर्षका भए ।नेकपा एमाले विभाजन हुँदा मालेको महासचिव बनेका बामदेव धेरै सत्ता उपभोग गर्ने नेताका रूपमा चिनिन्छन् । बामदेवको पनि अन्तिम चाहना प्रधानमन्त्री हो । विभिन्न चरणमा प्रधानमन्त्री बन्न कोसिस गरेका बामदेवको प्रयास सफल हुन सकेको छैन ।

नेकपा विभाजन हुँदा नेकपा एकता अभियान भनेर बसेका बामदेवको अहिले खास पार्टी छैन । नेकपा एकता अभियानलाई नै पार्टीमा रूपान्तरण गरेका बामदेव नेकपा माओवादी केन्द्रको चिन्हबाट निर्वाचन लड्दैछन् ।यसपटक चुनाव जितेर प्रधानमन्त्री बन्ने चाहना राखेका बामदेवलाई सजिलो छैन ।

पहिलो कुरा त पार्टी नै छैन् । माओवादीको चिन्हबाट निर्वाचन जिते पनि प्रधानमन्त्री बन्ने सम्भवना हुँदैन ।नेपाली राजनीतिमा अस्थिर नेताको रूपमा चित्रित बामदेवको वृद्ध अवस्थामा जारी अन्तिम प्रयास पनि सफल नहुने देखिन्छ ।नेपालमा सबैभन्दा धेरै प्रधानमन्त्री भएका नेता हुन्, नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादेर देउवा ।

सन् १९४६ मा अछाममा जन्मेका शेरबहादुर हाल ७६ वर्षका भए । औषत आयु कटाइसकेका वृद्ध शेरबहादुर हाल प्रधानमन्त्रीको पाँचौं इनिङमा छन् । यसपटक पार्टीलाई सबैभन्दा ठूलो बनाएर छैटौं पटक प्रधानमन्त्री बन्ने चाहना राख्छन् । ज्योतिष दुनियाँमा विश्वास गर्ने शेरबहादुरलाई ज्योतिषले ‘७ पटक प्रधानमन्त्री हुन्छस्’ भनेका छन् ।

शेरबहादुर ‘जसरी पनि गठबन्धन जोगाउनु पर्छ’ भन्दै आएका छन् । गठबन्धन जोगिए पार्टी ठूलो हुन्छ र पुनः प्रधानमन्त्री बन्न पाइन्छ भन्ने देउवालाई राम्ररी थाहा छ । यसपट उनी अछामबाट प्रत्यक्ष चुनाव सामना गरेर पुनः प्रधानमन्त्री बन्न चाहन्छन् ।

नेकपा एमालेलाई नेतृत्व गर्दै एकपटक प्रधानमन्त्री भइसकेका झलनाथ खनाल सन १९५० मा इलामको साखेजुङमा जन्मेका हुन् । वृद्ध झलनाथ हाल ७२ वर्षका भए ।शक्तिशाली एमाले बनाएका झलनाथ राजनीतिक जीवनको उत्तराद्र्धमा विद्रोह गरेर नेकपा एकीकृत समाजवादी बनाउने मध्येका एक नेता हुन् ।

हाल सम्मानित नेताको जिम्मेवारीमा रहेका झलनाथ यसपटकको निर्वाचनमा प्रत्यक्षतर्फबाट मैदान उत्रँदै छन् ।झलनाथ नेपाली राजनीतिमा भावी राष्ट्रपतिको रूपमा चर्चा गरिका नेता हुन् । र, उनको अन्तिम चाहना पनि राष्ट्रपति नै रहेको बुझिन्छ ।वर्तमान गठबन्धन कायम रहने र शक्ति सन्तुलन मिलेको खण्डमा राष्ट्रपति बन्नसक्ने सम्भवना देखिन्छ ।

तर, निश्चित भने छैन । त्यसैले उनी भूगोलबाटै निर्वाचित हुने तयारीमा छन् । राष्ट्रपति हुन नसके प्रधानमन्त्रीका लागि प्रत्यन्त गर्न सक्छन् ।दोस्रो कार्यकालका लागि नेकपा एमालेको नेतृत्व गरिरहेका केपी शर्मा ओली सन् १९५२ मा तेह्रथुममा जन्नेका हुन् ।

हाल ७० वर्षे वृद्ध केपी पुनः प्रधानमन्त्री बन्ने चाहना राख्छन् ।दुईपटक प्रधानमन्त्री भइसकेका केपीले आफूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरिसकेका छन् । वर्तमान गठबन्धनको तुलनामा कमजोर एमालेका अध्यक्ष केपी शारीरिक रूपमा पनि कमजोर छन् ।

तर, उनको मनोबल भने उच्च देखिन्छ । नेपालीको औषत आयु पूरा गर्न लागेका केपी यतिखेर राजनीतिमा निवृत्त भएर वृद्धभत्ता खाँदै आरामले बस्नुपर्ने हो । तर, उनलाई अझै सत्तासयरको धित मरेको छैन । त्यसैले आगामि निर्वाचनमा झापाबाट प्रत्यक्ष निर्वाचत लड्दै छन् ।

केपीले आफू अन्तिमपटक प्रधानमन्त्री बन्ने घोषणा गरिसकेका छन् । तर, उनको चाहना आगामी निर्वाचनमा एमालेको उपस्थितिमा निर्भर रहन्छ ।पाको उमेर र राजनीतिक जीवनको उत्तराद्र्धमा एमालेबाट विद्रोह गर्दै नेकपा एकीकृत समाजवादी गठन गरेर नेतृत्व गरिरहेका माधवकुमार नेपालको जन्म सन् १९५३ मा भएको हो ।

नेकपा एमालेलाई नेतृत्व गर्दै एकपटक प्रधानमन्त्री भएसकेका वृद्ध माधव हाल ६९ वर्षका भए । ६८ वर्षमा वृद्धभत्ता पाउने पछिल्लो प्रावधानअनुसार माधवको पनि अब वृद्धभत्ता खाँदै निवृत्त जीवन यापन गर्ने समय हो । तर, उनी पनि अन्तिम लक्ष पूरा गर्ने दाउमा छन् ।

माधवसामू पार्टी विभाजनको औचित्व पुष्टि गर्नुपर्ने चुनौती छ । यसपटकको निर्वाचनमा सके एमालेभन्दा ठूलो पार्टी बनेर देखाउनु छ, माधवलाई । तेस्रो ठूलो शक्ति बन्दै सम्भव भए दोस्रो पटक प्रधानमन्त्री बन्ने माधवको चाहना हो । त्यसैले उनी पनि वृद्ध उमेरमा रौतहटबाट प्रत्यक्षबाट निर्वाचन लड्दै छन् ।

माधवलाई पनि चाहना पूरा गर्न त्यति सहज छैन । इमानदारीपूर्वक गठबन्धन भएपनि एमालेभन्दा ठूलो पार्टी बन्न सहज छैन । ठूलो पार्टी नै बने पनि प्रधानमन्त्री बन्ने सम्भावना कम हुन्छ ।नेपाली राजनीतिमा फकर पहिचान बनाएका डा. बाबुराम भट्टराईको जन्म सन १९५४ मा भएको हो ।

हाल ६८ वर्ष पुगेका वृद्ध बाबुराम पनि वृद्धभत्ता खाँदै बस्ने उमेरका हुन् । तर, उनले वृद्धभत्ता नलिने घोषणा गरेका छन् ।एकपटक प्रधानमन्त्री भइसकेका बाबुरामले पार्टीको ‘फस्ट म्यान’ बन्ने चाहनामा नयाँ शक्ति पार्टी गठन गर्दै माओवादी त्यागे । त्यसपछि जसपा भए । तर, अहिले नेपाल समाजवादी पार्टी गठन गरेका छन् ।

भर्खरै पार्टी गठन गरेका बाबुराम नेकपा माओवादी केन्द्रमा फर्केर पुनः सत्तारोहण गर्ने चाहना राख्छन् । त्यसैले उनी मओवादीको चिन्ह लिएर गोर्खाबाट निर्वाचन लड्दैछन् ।बाबुरामसँग दुई वटा विकल्प छन् । उनी माओवादीमै फर्के प्रचण्डपछिको नेतृत्वको रूपमा पार्टीलाई नेतृत्व गर्न सक्छन् ।

र, पार्टी ठूलो भएको खण्डमा पुनः प्रधानमन्त्री बन्न पनि सक्छन् । तर, अहिले नै यो सम्भव देखिन्न ।जनयु’द्धको कमाण्डरका रूपमा स्थापित प्रचण्डको जन्म ११ डिसेम्बर १९५४ मा कास्कीको ढिकुरपोखरीमा भएका हो । हाल ६७ वर्षका प्रचण्ड अबको ३ महिनापछि वृद्ध हुँदैछन् । त्यसपछि प्रचण्ड पनि वृद्धभत्ता खाँदै निवृत्त जीवनमा रम्नु पर्ने हो ।

मंसिर ४ गते हुने हुने निर्वाचनको २१ दिनपछि ११ डिसेम्बरबाट प्रचण्ड ६८ वर्षमा लाग्छन् । अर्थात, वृद्धभत्ता खाने उमेर पुग्छ । तर, प्रचण्ड अझै केही वर्ष नेपाली राजनीतिलाई नेतृत्व गर्ने चाहना राख्छन् ।प्रचण्ड बेला–बेला आफू अझै एकपटक प्रधामन्त्री बन्ने बताइरहेका छन् । त्यसैले उनी यसपटक चितवनबाटै प्रतिनिधिसभामा प्रत्यक्षबाट प्रतिस्पर्धा गर्दै छन् ।

इमानदारीपूर्वक गठबन्धन हुने हो भने माओवादी दोस्रो ठूलो पार्टी बन्न सक्छ । त्यस्तो अवस्था प्रचण्ड प्रधानमन्त्रीका बलियो दाबेदार हुन सक्छन् । तेस्रो शक्ति नै भएपनि वर्तमान गठबन्धन निरन्तर रहने हो भने पहिलो शक्ति र तेस्रो शक्ति मिल्दा पनि प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना रहन्छ ।दृष्टि


Last Updated on: September 16th, 2022 at 9:48 pm

तपाईको प्रतिक्रिया