Ultimate magazine theme for WordPress.

कांग्रेसलाई सत्ता प्यारो छैन : डा रिजाल

232

दमौली । कांग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले कांग्रेसलाई सत्ता प्यारो नभएको बताएका छन् । कांग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री डा रिजालले जनताले कांग्रेसलाई आफ्नो माझ खोजेको र अबको चुनावपछि कांग्रेस पहिलो शक्ति बन्ने जिकिर गरे ।“गएको निर्वाचनमा कांग्रेस थोरै मतले पछाडि परेको हो, अझै पनि जनताको भरोसा यो पार्टीमा छ”, उनले भने । वर्तमान सरकार ५ वर्षसम्म नै चलोस् भन्ने कांग्रेसको शुभेच्छा रहे पनि सरकारले जनभावना नबुझेको डा रिजालको आरोप थियो ।

संविधानको रक्षाका लागि कांग्रेस सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै पूर्वमन्त्री डा रिजालले जनताका पक्षमा काम गर्न सरकारलाई सुझाव दिए ।सो अवसरमा कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले स्वतन्त्रतामाथि अङ्कुश लगाउन खोज्ने कार्य कांग्रेसलाई असह्य रहेको बताए। कांग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपानेले सरकारले राम्रो काम नगरेको जनाउँदै सोही कारण कांग्रेस आन्दोलनमा उत्रिनुपरेको बताए । महासमिति सदस्य रामचन्द्र पोखरेलले कांग्रेसलाई निषेध गर्न खोजिएको जनाउँदै सोही कारण आन्दोलन गर्नुपरेको बताए।

कांग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशसभासद् डोबाटे विक, सरिता गुरुङलगायतले सरकार जनताप्रति उत्तरदायी बन्नुपर्नेमा जोड दिए ।कांग्रेसका केन्द्रीय सदस्य फरमुल्लाह मन्सुरले वर्तमान सरकार असफल भएको आरोप लगाएका छन्। कांगे्रस जिल्ला कार्यसमितिले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै पूर्वमन्त्री मन्सुरले नेपाली जनताको भवना विपरीत कार्य गर्दै मुलुकमा भ्रष्टाचार र बेथिति बढाएको आरोप लगाए ।सोही कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री उमाकान्त चौधरीले तराई–मधेशका जनताको हित कांग्रेसले मात्र गर्ने जिकिर गर्दै मधेशवादी दलले पनि सत्ता र शक्तिका लागि मधेशका जनतालाई ठगिरहेको आरोप लगाए ।