
काठमाडौं : अछामको तीनवटा पालिकामा पहिरोमा परी मृ’त्यु हुनेको संख्या १७ पुगेको छ। कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोले घर पुरिँदा हालसम्म १७ जनाको श’व निकालिएको निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए।
उनका अनुसार कमलबजार ८ मा एकै परिवारका ५ जनाको शव निकालिएको छ भने कमलबजार ६ ठाँटीकाँधमा बेपत्ता भएका तीनै जनाको श’व फेला परेको छ। ठाँटीकाँधमा यसअघि निकालिएको ४ जनाको गरी ७ जनाको मृ’त्यु भएको छ। यस्तै, तुर्माखाँद ५ मा दुई घर पुरिँदा ४ जनाको श’व फेला परेको छ अन्य ५ जना बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ।
त्यस्तै ढकारी गाउँपालिका ६ मा पहिरोले पुरिएर १ जनाको मृ’त्यु भएको छ भने अर्का एकजना बेपत्ता रहेका रिजालले बताए। तीनै पालिकामा गरी ६ जना अझै बेपत्ता भएका छन् भने ११ जना घाइते भएका छन्। मृतकहरुको सनाखत कार्य जारी रहेको प्रहरी नायव उपरीक्षक नारायण डाँगीले बताए। उनका अनुसार बेपत्ताहरुको खोजी कार्य तीव्र पारिएको छ।
यसै बीच गृहमन्त्री बालकृष्ण खाँणले अछामका पहिरो प्रभावितलाई हेलिकोप्टरबाट उद्धार गर्न निर्देशन दिएका छन् ।गृहसचिव टेकनारायण पाण्डे, सुरक्षा तथा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेल र विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालालाई घाइते तथा प्रभावितको उद्धारका लागि तत्काल हेलिकोप्टरको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।
अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीलाई टेलिफोन गरेर घटनाबारे जानकारी लिएका छन् ।उनले प्रजिअ मरासिनी र नायब उपरीक्षक डाँगीलाई सरकारको प्रमुख दायित्व नागरिकको जीउ धनको रक्षा गर्न भएको भन्दै बाढी र पहिरोमा परि घाइते भएको उद्धार, प्रभावितलाई सुरक्षित स्थानमा सार्न र औषधि उपचार तथा खाद्यान्नको व्यवस्था गर्न कुनै कसुर बाँकी नराख्न भनेका छन् ।