आइतबार १६ आश्विन २०७९

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले तीनकुने पार्कको विषयलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि प्रश्न गरेका छन् ।

काठमाडौंको तीनकुनेमा पार्क निर्माण गर्ने भनी खाली छोडिएको जग्गाको तस्वीर फेसबुकमा राख्दै उनले राष्ट्रपति र एकीकृत समाजवादीका अध्यक्ष नेपालमाथि प्रश्न गरेका हुन् । बालेनले कुनै बेला तीनकुने क्षेत्र राष्ट्रपति भण्डारी र माधवकुमार नेपालको चुनाव क्षेत्र रहेको भन्दै त्यहाँको समस्या ५० वर्षदेखि समाधान हुन नसकेको बताएका छन् ।

‘आफ्नै क्षेत्र तिनकुनेको ५० वर्षदेखिको समस्या आफैले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नुभएन । अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ ? अझै दुई महिना छ, सरकार तपाईंकै हो । समस्या समाधान होस् भन्ने आशा राखेको छु’ बालेनले लेखेका छन् ।

उनले लेखेका छन् – आदरणीय माधब नेपालज्यु तथा सम्माननिय रास्ट्रपति ज्यु, प्रधानमन्त्री बन्नु भयो रास्ट्रपति बन्नु भयो । आफ्नै क्षेत्र तिनकुनेको ५० वर्षदेखिको समस्या आफैले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नु भएन । अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ ? अझै दुई महिना छ, सरकार तपाइँकै हो । समस्या समाधान होस् भन्ने आशा राखेको छु ।

उता राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वतन्त्र उम्मेदवारले चुनाव जितेपनि काम गर्न नसक्ने बताएका छन् ।शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा तिमिल्सिनाले बहुदलीय व्यवस्थामा स्वतन्त्र उम्मेदवारले जितेर संसदमा केही काम गर्न नसक्ने बताएका हुन् ।

उनले भने, ‘बहुदलीय व्यवस्था हो । बहुदलीय व्यवस्थामा कतिपय आउनुहुन्छ स्वतन्त्र स्वभाविक हो । तर स्वतन्त्रले सरकार बनाउन–चलाउन सम्भव छैन ।’कतिपय सेलिब्रेटी युवाहरुले पार्टी खोलेपनि एक ठाउँमा बस्नै नसकेको भन्दै उनले भने, ‘अहिले कोही कता, कोही कता ? इमान्दारीपूर्वक राजनीति गर्ने हो भने त्यो गाह्रै कुरा हो । पार्टी चलाउने पनि गाह्रो छ ।’

स्थानीय चुनावमा केही स्वतन्त्र उम्मेदवारले जितेको र उनीहरुलाई काम गर्न पनि त्यति अप्ठ्यारो नभएको बताए । तर प्रदेश र केन्द्रमा सरकार बनाउनुपर्ने भन्दै राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले भने, ‘एउटा सांसदले अलिकति चेतना जगाउन सक्छ । तर उसले आम रुपमा चेन्ज ल्याउन सक्दैन ।’

उनले अगाडि भनेका छन्, ‘म राष्ट्रिय सभा अध्यक्षले सकेको छैन । सांसदले कहाँ सक्नुहुन्छ ? एकजना सांसद स्वतन्त्र आउनुहुन्छ, बोल्नुहुन्छ । बोलेको बोलेकै गर्नुहुन्छ । तर अर्को पटकबाट निराश भएर सकिँदो रहेनछ भनेर अरुलाई पनि निराश बनाउने हुन्छ ।’ बरु दलमा आवद्ध हुन उनले आग्रह गरे ।


Last Updated on: September 17th, 2022 at 8:47 pm

तपाईको प्रतिक्रिया