Ultimate magazine theme for WordPress.

भूवन केसीको नयाँ चलचित्रमा बुद्ध लामा गायक, केविका खत्री कोरियोग्राफर

467

हिमालय टेलिभिजनबाट प्रशारण भएको रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’मा फस्ट रनरअप बन्न सफल स्टार प्रतिस्पर्धी वुद्ध लामा र उनको कोरियोग्राफर पार्टनर केविका खत्रीले नायक भूवन केसीले निर्माण गर्ने नयाँ चलचित्रमा अवसर पाउने भएका छन् ।भूवन केसीको ‘दि सुपर काजोल फिल्मस्’बाट बन्ने नयाँ चलचित्रमा बुद्धले एउटा गीतमा आफ्नो स्वर भर्नेछन् । यस्तै, कोरियोग्राफर केविका खत्रीले एउटा गीतको भिडियोलाई कोरियोग्राफी गर्नेछन् । शनिबार प्रशारण भएको शोको फाइनलमा आयोजकले भूवन केसीको यो प्रस्ताव सार्वजनिक गरेका थिए ।

भूवनको यो प्रस्तावमा बुद्ध र केविका उत्साहित देखिए । उनीहरुले टाइटल जित्न नसकेपनि दर्शकको मन जितेको र अवसरका नयाँ ढोकाहरु खुलेको बताए ।यस्तै, निर्माता भूवन केसीले नयाँ प्रतिभालाई अवसर दिन आफूले यो घोषणा गरेको बताए । उनले भने–‘विश्वचर्चित रियालिटी शो नेपालमै आयोजना हुनु खुशीको कुरा हो । यस्ता शोबाट आउने प्रतिभाहरुलाई हामीले अवसर दिनुपर्छ । हामीले अवसर दिदा यस्ता शोहरुबाट अवसरका ढोका खुल्छन् भन्ने सन्देश पनि जान्छ ।’

भूवनले चलचित्र ‘पारस वा एन्टी हिरो’ मध्ये कुन चलचित्र पहिला छायांकनमा जान्छ भन्ने टुंगो नभैसकेको बताए । तर, जुन चलचित्र पहिला छायांकनमा गएपनि बुद्ध र केविकाले अवसर पाउने उनको तर्क छ । चलचित्रमा नायक अनमोल केसीको मुख्य भूमिका रहनेछ । चलचित्र ‘एन्टी हिरो’का लागि नायिकामा जसिता गुरुङ फाइनल भैसकेकी छिन् ।